सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा भन्दा लाभहानीका मुद्दामा अल्मलिएको छ’ – महेश आचार्य

२०७८ भाद्र २४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बीपी कोइराला भन्नेबित्तिकै हाम्रो मन–मस्तिष्कमा जनताको लोकतान्त्रिक अधिकारका निम्ति अनवरत संघर्ष गर्ने नेताको छवि आँखा अगाडि आउँछ । उहाँको व्यक्तित्वको अर्को बलियो पाटो जनताको सामर्थ्य बुझेर राष्ट्रियताको चुरोलाई समातेर राष्ट्रियता र लोकतान्त्रिक अधिकारहरूबाट मात्रै देशको कल्याण हुनसक्छ भनेर अगाडि बढ्ने विचारक नेताका रूपमा आँखा अगाडि आउँछ ।

विकासको अवधारणामा बीपीको आफ्नै अवधारणा थियो । यो अवधारणालाई अघि सार्दा साधनस्रोत र सुविधाहरूबाट वञ्चित, गरिबीको गहिरो खाडलमा रहेका गाउँका जनताको जीवनयापनलाई समुन्नत बनाउने कुरा गर्ने नेताको छवि थियो ।

देशको राजनीति अहिले जुन जटिल मोडमा छ, जुन सोपानमा उभिएको छ यतिबेला जनताका लोकतान्त्रिक अधिकारका निम्ति प्रतिबद्ध, राष्ट्रियताको मूल चुरो समातेर अघि बढ्ने र विकास प्रक्रियामा पछाडि परेका जनताको ठूलो हिस्सालाई विकासको बाटोमा अगाडि लैजान सक्ने संकल्प बोकेका नेताको छवि बनेर बीपीको तस्बिर मेरा आँखा सामुन्ने आउँछ ।

अहिले बीपीले जस्तै राष्ट्रियता र समृद्धिको दृष्टिकोण भएको नेताको अभाव खड्किन्छ । तर नेपाली आमाको कोखचाहिँ त्यस किसिमको क्षमता भएको नेता जन्माउन सक्ने हैसियतको छैन भन्न सकिन्न । बीपीचाहिँ एउटा असाधारण क्षमता भएका नेता हुनुहुन्थ्यो । अहिलेका नेताहरूलाई उहाँसित तुलना गर्नु उपयुक्त हुँदैन ।

बीपीले देखाउनुभएको नेताप्रधान बाटो होइन । उहाँले भन्नुभएको थियो, ‘मेरो अनुपस्थितिमा पनि देशभित्र त्यो सामर्थ्य छ । त्यो सामर्थ्यको चुरो समाउन सक्ने साथीहरू हाम्रो पार्टीमा निस्कन्छन् ।’ अझ जीवनको उत्तरार्धमा त उहाँले कांग्रेस पार्टीको मात्र कुरा गर्नुभएन, देशको राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्ने, देशका राष्ट्रिय शक्तिहरूलाई एकत्रित गर्न चाहने हाम्रो पार्टी र त्यसभन्दा बाहिरकालाई पनि सम्बोधन गर्न सक्ने नेता हुनुपर्छ भनी बृहत् सामर्थ्यको कुरा गर्नुभएको थियो ।

राष्ट्रियताको चुरो समात्न सक्ने, विकासका दृष्टिकोणलाई दृढतासाथ अगाडि बढाउन सक्ने र लोकतान्त्रिक अधिकारलाई अगाडि बढाउन सक्ने नेतृत्व जन्मन्छ भन्ने विश्सास भएको नेता हुनुहुन्थ्यो उहाँ ।

‘बीपीले देशका राष्ट्रिय शक्तिहरूलाई एकत्रित गर्न चाहने हाम्रो पार्टी र त्यसभन्दा बाहिरकालाई पनि सम्बोधन गर्नसक्ने नेता हुनुपर्छ भनी बृहत् सामर्थ्यको कुरा गर्नुभएको थियो’

त्यसैले अहिले तत्काल हाम्रो आँखा अगाडि बीपीको जस्तो समर्पण, राजनीतिक नेतृत्व क्षमता र दूरदृष्टि भएको नेता ‘फलानो हो’ भनेर एउटै मात्र पात्र देखाउन मुस्किल छ । उहाँले उठाउनुभएको राष्ट्रियता, जनताको लोकतान्त्रिक अधिकार र जनताको समृद्धिको मुद्दालाई बोक्न सक्ने चारित्रिक विशिष्ठता वा सिद्धान्तप्रति जस्तोसुकै त्याग पनि गर्नसक्ने सामर्थ्य भएको नेताको खोजी गर्नुपर्ने चरणमा हामी आइपुगेका छौँ ।

बीपीले स्थापना गर्नुभएको नेपाली कांग्रेसको सिद्धान्त र आदर्शप्रति अहिलेको हामी कतिको इमानदार छौं भनेर सोच्नुपर्ने बेला भएको छ । लोकतान्त्रिक अधिकारलाई सुदृढ गर्ने प्रयास, लोकतन्त्रलाई संस्थागत गर्ने यात्रा, राष्ट्रियताको मुद्दामा देश विभाजित नभइ एक ढिक्का हुनुपर्ने राजनीतिक दृष्टिकोण र विकासको निम्ति इमानदार प्रयास बीपीले अघि सार्नु भएको बाटो हो । त्यसमा हामीले गम्भीरतापूर्वक सोच्न ढिलाइ गर्न नहुने समयको माग हो ।

जनताको लोकतान्त्रिक अधिकार र राष्ट्रियताको मुद्दामा बीपीले धेरै गहन विचार दिएर प्रयोग पनि गर्नुभयो । तर, आर्थिक समृद्धिको निम्ति जुन समय आवश्यक थियो त्यो बीपीलाई प्राप्त थिएन । त्यसैले अहिले हाम्रो देशको जस्तो अवस्था छ यो तुलनायोग्य समय होइन । यी विषयलाई हामीले अलग–अलग हेर्नुपर्ने हुन्छ ।

बीपी भन्ने बित्तिकै राष्ट्रियताको एउटा स्पष्ट चित्र बन्छ । आज पनि बीपीले भन्नुभए जस्तो हाम्रो राष्ट्रियता सबल भएको छैन । यस विषयमा हामीले गम्भीरतापूर्वक काम गर्नुपर्ने हुन्छ । देशभित्रका शक्तिहरूबीच नै राष्ट्रियताको विषयमा समान दृष्टिकोण छैन । छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो परराष्ट्र सम्बन्ध राष्ट्रिय हितको रक्षा गर्ने गरी भन्दा पनि तात्कालिक लाभहानीका मुद्दामा अल्मलिएको छ । लोकतान्त्रिक अधिकारहरूको रक्षा गर्ने सवालमा पनि निकै आरोह अवरोहसहित हामी अघि बढिरहेका छौँ ।

यस बीचमा धेरै ठूला राजनीतिक परिवर्तनहरू भए । तर त्यो परिवर्तनले जगाएको आशाचाहिँ हामीले निष्ठापूर्वक जनताका आकांक्षा र आशाहरूलाई जुन चारित्रिक दृष्टिले सम्बोधन गर्नसक्नु पर्थ्यो त्यो गर्न सकेको अवस्था छैन । कहीँ न कहीँ हाम्रा कमीकमजोरीहरू छन् । सत्ताको राजनीतिको सिद्धान्त हाबी भएका कारण धेरै अस्वाभाविक तनावहरू राष्ट्रिय राजनीतिमा देखिएका छन् । र, विकाससम्बन्धी अवधारणामा पनि हाम्रा प्रयासहरू छ्यासमिस हुँदै गएका छन् ।

यद्यपि, बीपीको समयमा जुन तहको गरिबी नेपालमा थियो त्यो अवस्थाबाट हामी माथि उक्लिँदै गएको अवस्था छ । जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखाभन्दा माथि निस्कँदै आइराखेको देखिन्छ । तर असमानता, विभेदका कुरा अझै हाम्रो समाजमा जीवित छन् । सम्यक दृष्टिकोणले यी समस्या चाँडो निदान गर्न सक्थ्यौं तर, हामी अलमलिएका छौँ ।

हाम्रो पार्टीभित्र मतभेद व्यवस्थापनको अभाव, राष्ट्रिय राजनीतिमा बढिरहेको तिक्तता, वैमनस्यता र राजनीतिक दलहरूबीच बढ्दो दूरी, फुट र विभाजनका कारण मुलुकको ध्यान विकासतिर केन्द्रित हुन सकिरहेको छैन । त्यसैले बीपीले देखाउनुभएजस्तो राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र विभेदरहित समाज निर्माण गर्न हामीले अझै धेरै चुनौती पार गर्नुपर्ने छ । यसलाई व्यवहारमा उतार्न हामीले अझै बढी समय र क्षमता खर्चिनुपर्ने हुन्छ ।

राजनीतिक स्थिरताको बलियो पृष्ठभूमिमा विकासका प्राथमिकताहरू उचित ढंगले अघि बढाउनुपर्छ । यसमा राज्य, निजीक्षेत्र र गैरसरकारी क्षेत्रको भूमिका के हो ? यी सबै पक्षलाई विधिको शासनभित्र क्रियाशील, जनमुखी सरकार, गरिबमुखी बजेट विनियोजन, राष्ट्रको पूर्वाधार निर्माणका निम्ति तयार र कौशलका साथ निजीक्षेत्रको पुँजी व्यवस्थापनमा सक्रिय, समय सान्दर्भिक कानुन र नीति बनाउन आवश्यक छ । कहीँ पनि कसैको पनि एकाधिकार नहोस् । कालोबजारीको प्रवर्द्धन हुन नपाओस् । सन्तुलित परिधिभित्र रहेर प्रतिस्पर्धात्मक अर्थतन्त्रको अभ्यास अहिलेको खाँचो हो ।

हामीले निकै गम्भीरतापूर्वक ध्यान दिनुपर्ने विषय सुशासनको हो । विधिको शासन र सुशानको अभावले गर्दा हाम्रा प्रयत्नहरू धरासयी बन्ने गरेका छन् । यसमा हामीले सुधार गर्नु आवश्यक छ ।

पुँजी निर्माणका लागि उपयुक्त वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता हो । लगानी प्रवर्द्धन वातावरण निम्ति विधिको शासनमा ध्यान दिनु जरूरी हुन्छ । मुलुकमा पुँजी लगानी र प्रवर्द्धनका लागि विश्वासको वातावरण बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई उपयुक्त अवस्था बनाइदिनु हाम्रो दायित्व हुन्छ ।

मुलुकमा पुँजी लगानी र प्रवर्द्धनका लागि विश्वासको वातावरण बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई उपयुक्त अवस्था बनाइदिनु हाम्रो दायित्व हुन्छ ।

यसबाट वृद्धि भएको देशको ऐश्वर्यलाई गरिब जनताको पक्षमा खर्च गर्न सक्ने सामर्थ्य भएको सरकार चाहिन्छ । प्राथमिकता निर्धारण गर्न सक्ने योग्यता भएको सरकारको खोजी हो अहिले । विकासका निम्ति हाम्रा चुनौती पनि यिनै हुन् ।

बीपीले भन्नुभएजस्तै आज पनि कम या धेरै हाम्रा विकासका प्राथमिकता उही छन् । बीपीका कृतिहरू पढ्नुभयो भने हामीसँग साधन र स्रोत मनग्य छ । हामीसित जमीन छ । कृषिको क्षेत्रमा निकै ठूलो परिवर्तन आवश्यक छ । जमिनको उत्पादनशील शक्तिमा परिवर्तन ल्याएर उत्पादन वृद्धिमा जोड दिनुपर्छ ।

हाम्रो अर्को महत्त्वपूर्ण स्रोत र साधन भनेको श्रमशक्ति हो । त्यसलाई अत्यधिक परिचालन गर्न पनि बीपी नीतिगत संरचनाको कुरा गर्नुहुन्थ्यो । तेस्रो कुरा, हामीसँग पानी छ । हामीसित भएको जलस्रोतलाई उपयोग गरेर त्यसबाट समृद्धि हासिल गर्नुपर्ने कुरा उहाँ गर्नुहुन्थ्यो । वनजंगलको विवेकपूर्ण वा वैज्ञानिक उपयोग गर्नुपर्ने उहाँको सोच थियो ।

सम्पत्तिको निम्ति हामीसित भएका माथि उल्लेखित चारवटा क्षेत्रको समुचित विकास र उपयोग गर्नसक्नु नै बीपीको आर्थिक अवधारणातर्फ पाइला बढाउनु हो । यस निम्ति राजनीतिक स्थिरता, विधिको शासन, उपयुक्त प्राथमिकताको चयन र लगानीको वातावरण हुनुपर्छ । सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्रको फराकिलो फाँट र सहकारी आन्दोलनको व्यापक परिचालनको सम्मिश्रणबाट उत्पादनशील शक्तिको विस्फोट हुने परिस्थिति हामीले बनाउन सक्नुपर्छ ।

यस्तो परिस्थिति निर्माण गर्न हामी चुकेका छौं । हाम्रो समय र सामर्थ्यचाहिँ राजनीतिका अत्यन्त झिनामसिना खिचातानीमा खर्च भइरहेका छन् । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय अधिकारको अभावमा संघीयता असफल : श्यामप्रसाद मैनाली

लोकतन्त्र र सुशासन हदैसम्मको उपहास ! – श्यामप्रसाद मैनाली

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले