सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

२०७८ भाद्र २७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।

थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने गर्दछन् । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । उहाँले भन्नुभयो,“ दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।”

टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । सस्ंकृतिविद् थारूका अनुसार यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।

“अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरू खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफनो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् । ” उहाँले भन्नुभयो ।

छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।

यो अग्रासनले माइतीको माया, पे्रम र सद्भावलाई दर्शाउँछ । ‘अग्रासन’ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो । सस्ंकृतिविद् भन्नुभयो, “दाङ सुकौराका थारू राजा दङ्गीशरणको दरबार घोडारुपी उर्वसीका कारण स्वर्गका राजा इन्द्रले आक्रमण गरिदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएपछि भीम र दङ्गीबीच निकै घनिष्टता बढेको मान्यता छ । एकपटक कुनै शत्रुले दङ्गीमाथि आक्रमण गरेपछि रोटी पकाउँदा–पकाउँदै त्यसै छाडेर भीम दङ्गीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आइतबार नै परेछ । त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झिएर अट्वारी पर्व मनाउन थालिएको हो ।”

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । “यो थारूहरुको माघिपछिको ठूलो पर्व हो”, थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भन्नुभयो । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । जिल्ला स्थानीय तहले आज पर्वका अवसरमा बिदा दिएका छन् । घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कस्तो छ आज तपाईंको भाग्य ? हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

आज मंगलवार कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मधेस प्रदेशका सभामुख मण्डल महामूर्ख

सभ्य बन्दै होली

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

सय बर्ष पछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन