सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक – श्याम प्रसाद मैनाली

सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक – श्याम प्रसाद मैनाली

प्रारम्भ

नेपालको राजनीति अस्थिरताबाट गुज्रिएको छ । राजनीतिक संक्रमणबाट देशले मुक्ति पाउने सम्भावना अत्यन्त न्यून देखिँदै छ । २०४६ सालपश्चात् गठन भएका सरकारहरूले सरदर एक वर्षको अवधि मात्र काम गर्न पाएका छन् । राजनीतिक खेल र रणनीति सधैं सरकार गिराउने र नयाँ सरकार गठन गर्नेमा सीमित बनेको छ । दीर्घकालीन सोचका साथ देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने अवसर राजनीतिज्ञहरूले पाएका छैनन् र यो पक्ष उनीहरूको प्राथमिकतामा पनि परेको छैन ।

व्यक्तिवादी बन्दै गएको राजनीतिमा दलहरूमा सिद्धान्तको अनुसरण गर्ने अभिरुचि देखिएको छैन । व्यक्ति सांसद्ले कसरी बढी सुविधा प्राप्त गर्ने ? एकल सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता राष्ट्रिय समस्यामा नभई आफ्नो साकार केही दिन निरन्तरता दिनेमा सीमित छ । देशमा सुशासन कायम गर्ने, विकास निर्माण गर्नेदेखि देशको विदेश नीति, छिमेकीलगायत सबै सहयोगी मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखी सबल कूटनीतिक माध्यमबाट देशले आफ्नो पहिचान कायम गर्ने र सहयोगको आदानप्रदान गर्ने विषय छायामा पर्दै आएको छ । आखिर यस अवस्थाको सिर्जना किन भइराखेको छ ? प्रस्तुत आलेखलाई यसैमा सीमित गरिएको छ ।

अस्थिरताका कारणहरू

बहुदलीय शासन प्रणाली राजनीतिक दहरूले अवलम्बन गर्दै आएका आदर्श र सिद्धान्तका आधारमा परिचालित हुनुपर्छ । नेपालको राजनीतिमा मुख्यतया दुईवटा राजनीतिक शक्तिहरू रहेका छन् । एउटा लोकतान्त्रिक सिद्धान्त मूल्यमान्यतामा विश्वास राख्छ । सबै प्रकारका स्वतन्त्रताहरूको उपभोग नागरिकहरूले गर्न पाउनुपर्ने मान्यता राख्छ । मानवअधिकारको प्रत्याभूतिका विश्वास गर्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादतर्फ आफ्नो प्रतिबद्धता व्यक्त गरिराखेको छ । दोस्रो शक्ति छ साम्यवादी, समानतावादी कार्य दिशा अवलम्बन गर्नु यसको राजनीतिक धर्म हो । माक्र्सवाद, लेनिनवाद र माओवादमा विश्वास गर्छ । यही सिद्धान्त र मूल्यमान्यतामा राजनीति गर्न सिद्धान्ततः प्रतिबद्ध रहेको दाबी गर्छ ।

यसबाहेक केही सानातिना राजनीतिक दलहरू नेपाली राजनीतिमा अस्तित्वमा रहेका छन् । सानै भए पनि मधेसीवादी क्षत्रीय दलहरूले विविध कारणहरूले गर्दा नेपालको राजनीति प्रभावित बनाएको छ । यी सबै दलहरू आफ्नो सिद्दान्त र आदर्शलाई तिलाञ्जली दिँदै व्यक्तिगत र समूहगत स्वार्थमा लिप्त छन् । सिद्धान्त र आदर्शलाई राजनीति गर्ने ब्रान्ड र मतदातालाई राजनीतिक सिद्धान्तका आधारमा आफूतर्फ आकृष्ट गर्ने माध्यम मात्र बनाइराखेका छन् । यो यथार्थता सचेत नागरिकहरूले विस्तारै बोध गर्न थालेका कारणले गर्दा यी कुनै पनि दलहरूप्रति सचेत, देशभक्त नागरिकहरू अन्धो समर्थक बन्न सकिराखेका छैनन् । स्वतन्त्र विश्लेषण गर्दै यी दलहरूको आलोचना गरिराखेका छन् । यथार्थता जनसमक्ष आउँदा कुनै पनि दलले आफ्नो उपस्थिति सबल रूपमा राष्ट्रिय राजनीतिमा दिन सकिराखेका छैनन् ।

दोस्रो पक्ष छ, नेपालको राजनीतिमा प्रभावशाली देखिएको साम्यवादी शक्तिमा आएको विचलन, कमरेड पुष्पलाल र मनमोहनदेखि माधव नेपाल र ओलीसम्म आइपुग्दा यस दलहरूमा नायकभन्दा खलनायक ज्यादा देखिए । सबैको चट्टानी अडान दलमाथि नियन्त्रण कायमगरी सत्तामा पुगेर व्यक्तिगत र गुटगत स्वार्थमा लिप्त हुनु मात्र प्रस्ट देखिएको छ । लामो समयदेखिको यस शक्तिको राजनीतिक उतारचढाव अध्ययन गर्दा यो शक्ति नेपालमा फुटको पर्याय नै बनेको छ । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने, लोकतान्त्रिक मूल्य र मान्यताले साम्यवादी दलमा कामै नगर्ने, साम्यवादी दलको मौलिक चरित्र भनेको सर्वसत्तावाद र एकल शासन हो । यस प्रकारको निखार पनि नेपालका साम्यवादी दलहरूमा आउन सकेको छैन । त्यसैले यी दलहरू कम्युनिस्ट पनि बनेन । लोकतन्त्रको मूल्य मान्यतालाई अवलम्बन गर्दै लोकतान्त्रिक दलकै रूपमा राजनीति गर्ने तत्परता पनि देखाउन सकेनन् । यसले गर्दा साम्यवादी ब्रान्डमा राजनीति गर्दै आफूलाई लोकतन्त्रवादी सम्बोधित हुन मन पराउने नेपालका कम्युनिस्टहरूको राजनीति विस्तारै न हासको चाल न कुखुराको चालमा परिणत हँुदै गएको छ । यसबाट ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित नेकपा अस्थिरताको कारक बन्न पुगेको हो ।

वर्तमान सरकारले देश र प्रजातन्त्रको पक्षमा रहेर मात्र समझदारी गरी सरकारलाई निरन्तरता दिने अपेक्षा गरौं ।

तेस्रो कारण हो देशमा व्याप्त भ्रष्टाचार, भ्रष्टाचार वृद्धि गर्न सबै दलबीच प्रतिस्पर्धा छ । भ्रष्टाचारकै कारण सबै दलका शीषर्थ नेतृत्व तहमा रहनेहरू आफ्नो कार्यकर्ताहरूमा सच्चरित्रता र इमानदारिताको अपेक्षा गर्न र आफ्ना निर्देशनमार्फत उनीहरूमा सुधार ल्याउन असमर्थ बनेका छन् । ठूला भ्रष्टाचारका घोटालालाई नियन्त्रक निकायले अनुसन्धान नै गर्न नपाउनेगरी कानुनी व्यवस्था गरेर भ्रष्टाचारीहरूले अभयदान प्राप्त गरेका छन् । यसमा सबै दलहरूमा मतैक्यता देखिएको छ । यसले गर्दा देशमा सुशासनको सन्दर्भ छायामा परेको छ । राजनीतिक दलहरू र समाज अनुशासनहीन बन्दै गएको छ । लोकतन्त्रको दुरुपयोग हुँदैसम्म हँुदै गएको छ । यसबाट सबै कार्यकर्ता र नेता वर्गको अर्जुनदृष्टि राष्ट्रिय स्वार्थलाई गौण मान्दै व्यक्तिगत स्वार्थमा केन्द्रित रहने अवस्था सिर्जना भएको छ । यो दूरवस्थाबाट देशले मुक्ति नपाउँदा सबै क्षेत्र अस्तव्यस्त छ परिणामस्वरूप राजनीतिक अस्थिरता हुने नै भयो ।

चौथो कारण हो शारीरिक र मानसिक अवस्था कमजोर भएका वृद्धको नेतृत्वमा नेपालको राजनीति केन्द्रित भएको छ । वृद्ध व्यक्ति तुलनात्मक रूपमा आत्मरतिमा रमाउँछ । विकास निर्माण र परिवर्तनको वाहक बन्न सक्दैन, गुट उपगुट सिर्जना गरेर आफ्नै स्वार्थ लोलुप झुन्डहरूको प्रशंसामा रमाएर बस्दै गर्दा बादशाहका नयाँ कपडाको अवस्था सिर्जना हुन पुग्छ । आफ्नै समूहलाई संसार देख्ने गलत प्रवृत्तिबाट ग्रसित हुन पुग्छ । नेपालमा यही अवस्था छ । सरकारमा रहनेहरूको सकारात्मक प्रभाव र सन्देश जनस्तरमा प्रवाहित हुन सकेको छैन, सीमित झुन्डले प्रसंशा गरिरहँदा नेताहरू मुग्ध छन् यथार्थताभन्दा धेरै टाढा पुगेका छन् । ठूला दलका नेताहरूको दिनको तीनपटक समान सन्दर्भमा बोली फेरिएको अनुभूति गरिरहँदा हाम्रा वृद्ध नेताहरूबाट केही अपेक्षा गर्न सक्ने अवस्था छैन । युवाहरूलाई दलभित्र दासका रूपमा स्थापित गरिएको छ । उनीहरूमा त्रास र लघुताभास मात्र देखिँदै छ । नेताहरूलाई सही दिशामा अभिमुख गराउने सन्दर्भमा नेपालका युवाहरू प्रायः उदासीन छन् । युवाबीच समेत समान मुद्दामा समान धारणा बनाएर अघि बढ्ने सदविचारको अभाव छ । यसले गर्दा नेतृत्व तहकाहरूले आफ्नो अवस्थाको आँकलनसम्म पनि गर्न सकेका छैनन् । निर्वाचनमा जनताले पाठ सिकाउँदा समेत उनीहरूमा चेत आउन सकेको छैन ।

पाँचौं कारण हो नेपालको निर्वाचन प्रणालीसमेत अस्थिरताका लागि जिम्मेवार छ । निर्वाचन धेरै खर्चिलो छ । राजनीतिलाई व्यापारका रूपमा ग्रहण गरिएको छ, मिश्रित निर्वाचन प्रणालीको अवलम्बन गर्दै सबै वर्ग, क्षेत्र, जात, जातिको प्रतिनिधित्व गराउन समानुपातिक निर्वाचनमार्फत दलीय मनोनयनका आधारमा जनप्रतिनिधि बन्ने अवसर प्रदान गरिएको छ । यसमा समेत कमजोर व्यक्ति नभई तरमारा वर्गहरूले अवसर प्राप्त गरिराखेका छन् । सबै दलको आकर्षण व्यापारिक कुल घरानाका सदस्यलाई आफ्नो दलभित्र स्वागत गरी जिम्मेवारीमा पु-याउने रहेको छ । यसबाट नेपालको राजनीति अझै प्रदूषित भएको छ । इमानदार र निष्ठावान् कार्यकर्ता र नेता सधंै पछि पर्ने अवस्था छ । सबैतिर स्रोतसाधन सम्पन्नहरूले अवसर प्राप्त गर्दै आएका छन् । यस अवस्थामा सिद्धान्त र मूल्यमान्यताको राजनीतिको खोजी गर्नुपर्ने हुन्छ । मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने राष्ट्रहरूमा सानासाना दलहरूको राजनीतिमा सौदाबाजी गर्ने अवसर हुने भएकाले सरकारलाई उनीहरूको व्यवस्थापन समेत भारी हुने गर्छ, नेपालजस्तो विकासोन्मुख देशको मात्र होइन युरोपका देशहरूमा समेत यो समस्या देखिएको छ । यी कारणहरूले गर्दा राजनीतिले निर्धक्क भएर काम गर्न सकिराखेको छैन ।

सरकार प्रमुखको चिन्ता राष्ट्रिय समस्यामा नभई सरकार केही दिन निरन्तरता दिनेमा सीमित छ ।

यस अवस्थाबाट गुज्रिएको नेपालको राजनीतिमा वर्तमान सरकारको स्थायित्वबारेमा चिन्तन गर्दा अस्थिरताको सामना गर्दै अघि बढ्नु यसको नियती हो । सत्ता साझेदारहरूमा स्वार्थ लोलुपताको पराकाष्ठा छ, लामो समयसम्म सरकारमा सहभागी दलहरूले मन्त्रीहरूको नामावली दिन सकेका छैनन् । आफ्ना आफ्ना दलभित्रको व्यवस्थापन उनीहरूलाई भारी भएको छ । एक नेता छन् आफ्नै दलभित्र फुटगराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अन्य दलसँग गठबन्धन गर्दै व्यक्तिगत अभिष्टमा थोरै मात्र समझदारी गरेर स्थिरताको पक्षमा योगदान गर्न अनिच्छुक भएकाले सबै दलहरूमा आफ्नो परिचय स्थापित गराई सक्नुभएको छ ।

नेपाली जनताले उनको परीक्षण गर्न अवसर दिएका तर असीमित स्वार्थ र उच्च महŒवकांक्षाका कारण असफल हँुदै अन्य दलसँग गठबन्धन नगरी अस्तित्वमा रहन नसक्ने अवस्थामा रहेका छन्, उनको दलको आकार विस्तार साँघुरिँदै छ । राजनीतिक चालबाजी गर्न पोख्त छन् त्यो नकारात्मकतातिर उन्मुख छ । अर्का छन् आफ्नै दलमा व्यक्तिगत अभिष्ट पूरा गर्न नसकेर सो पूरा गर्ने अभिलाषासहित वर्तमान सरकारमा सामेल हुन तयार पात्र, लोकतान्त्रिक मूल्य र मान्यतामाथि हदैसम्मको समझदारी गरेर भए पनि आफू र आफ्नाहरूलाई जिम्मेवारीमा पु-याउनुपर्ने एकसूत्रीय लक्ष्य निर्धारण गर्न विशेष दक्षता प्राप्त गरेका छन् । उनको विगतले यही प्रमाणित गर्छ । लामो समयसम्म एमाले दलमा ठूलो योगदान गरेका व्यक्ति व्यक्तिगत अभिष्टकै कारण आफ्नै दलमा विभाजन ल्याउने खलनायक प्रमाणित भएका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रलाई हदैसम्म शिर निहुराएर मोहोर चढाउँदा गौरव मान्ने व्यक्ति स्वघोषित ठूला गणतन्त्रवादी बनेका छन् । दुई÷दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचनमा पराजय भोगेपश्चात् मत नदिने जनतालाई पाठ पढाउन सरकारको नेतृत्व मात्र गरेका होइनन् । लोकतन्त्रको मूल्य र मान्यतामा हदैसम्मको अवमूल्यन गर्न अग्रसर पात्रका रूपमा आफ्नो पहिचान स्थापित गराएर गौरवान्वित बनेका छन् । सत्तामा भागबन्डा उहाँको एकल उद्देश्य हो । आफ्ना नातागोता इष्टमित्रहरूलाई जिम्मेवारी प्रदान गर्न अब्बल छन् । कानुनअनुसार आफ्नै अयोग्य भाइलाई उक्त कानुनमै सुधार गरी योग्य बनाई महावाणिज्यदूत बनाएको इतिहास मन्त्रिपरिषद्को दस्तावेजमा सुरक्षित छ । यस्ता लोभीपापीसँगको गठबन्धनबाट सरकार चलाउन अत्यन्त कठिन छ । प्रधानमन्त्री देउवा आजित भइसकेको अनुमान गर्न सकिन्छ ।

आफ्नै दुई तिहाइको सरकार अपदस्थ गराउने अब्बल भूमिका निर्वाह गरेका दुई खलपात्रहरूको गठबन्धनमा सरकार चलाउँदा उनीहरूका अनुपयुक्त कुरालाई समेत स्वीकार गर्नुको विकल्प हुँदैन यो अप्ठेरो प्रधानमन्त्रीलाई छ । यस अवस्थामा समेत यी दुवै नेताहरूको पटकपटकको आग्रहबाट शेरबहादुरजी प्रधानमन्त्री बन्नुभएको छ । जीवनको उत्तराद्र्धमा प्रधानमन्त्री देउवाले आफ्नो छवि उच्च राखेर सरकार चलाउनुपर्ने अवस्था छ तर यस्ता बाधा हटाउने सामथ्र्य राख्न सक्नुपर्छ । वर्तमान प्रधानमन्त्रीमा अत्यन्त ठूलो एक गुण छ, त्यो हो उनी सहकार्य, सहमति र समझदारी गरेर अघि बढ्न सक्ने सामथ्र्य राख्छन् । यी पात्रहरूका सबै अनुरोध स्वीकार गर्न सक्ने अवस्था भने प्रधानमन्त्रीलाई निश्चय पनि हुने छैन । देश र प्रजातन्त्रको पक्षमा रहेर मात्र समझदारी गरी सरकारलाई निरन्तरता दिनु हुने अपेक्षा गरौं । राजधानी

Next PostRead more articles

Leave a Reply