‘रोस्ट्रममा जान खोज्नु संसदीय मर्यादाविपरीत’- सुवासचन्द्र नेम्वाङ (अन्तवार्ता)

‘रोस्ट्रममा जान खोज्नु संसदीय मर्यादाविपरीत’- सुवासचन्द्र नेम्वाङ (अन्तवार्ता)

जनताका जल्दाबल्दा मुद्दामा छलफल हुनुपर्नेमा संसद् सत्तापक्ष र प्रतिपक्षको जुँगाको लडाइँमा सीमित भएजस्तो छ नि ?

अहिले सभामुखका कारणले अवरोध भएको हो । आश्चर्यको कुरा, यस्तो हुँदा पनि सभामुखले कुनै भूमिका निर्वाह गरेको देखिएन । कार्य व्यवस्था परामर्श समितिको बैठक राख्नुभएको छैन । समितिको बैठक निरन्तर बस्नुपर्छ, बस्ने गर्थ्यो । समितिमा सबै दलको प्रतिनिधित्व हुन्छ । यस बीचमा विवादास्पद काम भएका छन् । सदनमा बजेट ल्याइयो । दलहरूसँग छलफल नै भएन । यसले पनि विवाद बढायो ।

सभामुखले हामीमाथि भेदभाव गर्नुभयो । हिजोअस्तिको अभ्यासविपरीत काम भयो । सभामुखबाट संसदीय मर्यादा उल्लंघन भयो । संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई अभिन्न अंग मानिन्छ । भेदभावपूर्ण व्यवहार सभामुखबाट भएकाले सदन अवरोध भएको हो ।

संसदीय मर्यादा कायम गर भन्दै बुइँ चढेर सांसदले रोस्ट्रममा उक्लने प्रयास गरे । टाउको फुटाउने योजना थियो भनेर सांसदले अन्तर्वार्ता नै दिए । यसलाई कसरी हेर्नुहुन्छ ?

यस्तो हुनु राम्रो होइन । यो संसदीय मर्यादाविपरीत हो । त्यसैले आइतबार संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी ओलीले संसद्मा सांसदले देखाउनुपर्ने मर्यादाका बारेमा बताउनुभयो । केही सांसदले गरेको क्रियाकलाप र वक्तव्य दलको कुरा होइन भनेर उहाँले नै भनिसक्नुभएको छ ।

संसद्मा उभिएर सिधै सभामुखको कार्यशैलीविरुद्ध नाराबाजी गर्न मिल्छ कि मिल्दैन ? पूर्वसभामुख र संविधानसभा अध्यक्षका रूपमा यो शैलीलाई कसरी हेर्नुहुन्छ ?

एमाले जहिले पनि कानुनको शासन, मूल्य मान्यताको पक्षमा रहेको पार्टी हो । संसद् पुनःस्थापन गर्न सर्वोच्च अदालतले दिएको निर्णय होस् वा अन्य आदेशमा हाम्रो असहमति छ तर पनि निर्णय मान्छौं भनेका छौं । मान्यौं पनि । यो हो, हाम्रो चरित्र ।

एक पक्षका सांसदले अर्को पक्षका सांसदलाई सदनबाट निकाल भनेर माग गर्न मिल्छ ? त्यो त संसद् सचिवालय र निर्वाचन आयोगको अधिकार क्षेत्र होइन र ?

यो कुनै व्यक्तिसँग केन्द्रित विषयसँग होइन । एमालेले कारबाही गर्न लेखेर दिएपछि सभामुखले कानुनअनुसार कारबाही गर्नुपर्ने हो । सिफारिसअनुसार १४ जना निष्कासनमा पर्नु भएन । त्यो ठीक निर्णय भएन । ती एमालेका आँखामा संसद्भित्र रहने सांसद होइनन्, संसद्भन्दा बाहिर रहनुपर्ने हो । त्यसैले एमालेले उनीहरूलाई गैरसांसद भनेको हो । कान्तिपुर

Next PostRead more articles

Leave a Reply