युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्छ: प्रदेश प्रमुख शर्मा

युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्छ: प्रदेश प्रमुख शर्मा

काठमाण्डौंः वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्राविधिक शिक्षाले नै बेरोजगारी समस्या समाधान गर्ने बताउनुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलगायतको टोलीसँग आज भएको भेटघाटमा उहाँले नेपाली युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको भए पनि सीपमूलक नभएकाले जीविकोपार्जनमा शिक्षाको प्रयोग हुन नपाएको भन्दै अबको शिक्षा व्यावहारिक र प्राविधिक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख शर्माले सिटिइभिटी माध्यमबाट धेरै नागरिक स्वरोजगार तथा रोजगार बन्नसकेको भन्दै अझ धेरैभन्दा धेरै युवालाई समेट्न सुझाव दिनुभयो । त्यस्तै प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफू पदमा हुँदा पनि र नहुँदा पनि प्राविधिक शिक्षाको विकासका लागि परेको धारणा राख्नुभयो ।

दुई हजार ५०० भन्दा धेरै विद्यार्थीलाई विभिन्न विषयका प्राविधिक ज्ञान दिने उद्देश्यले हेटौँडामा निर्माणाधीन बहुप्राविधिक विद्यालयको निर्माणको काम समयमै सम्पन्न गराउन ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । रासस

Next PostRead more articles

Leave a Reply