निष्प्रभावी एन्टिबायोटिक्सका चुनौती – डा. सुभाष पोखरेल

निष्प्रभावी एन्टिबायोटिक्सका चुनौती – डा. सुभाष पोखरेल

कोरोना भाइरसका कारण सिर्जित आतंक मत्थर हुँदै गएको छ। प्रभावकारी खोपको विकासले कोभिड–१९ लाई नियन्त्रण गर्न मद्दत गर्‍यो। भाइरसले अस्वाभाविक स्वरूप परिवर्तन नगर्ने हो भने कोभिड–१९ को बेहालबाट संसारले छिट्टै नै मुक्ति पाउनेछ।

तर गत वर्षको भोगाइले मानव जीवन कति असुरक्षित छ अनि कुनै नवीन रोगले सभ्यतालाई कति सजिलै अन्त्य गर्न सक्ने रहेछ। कोरोनाको सास्ती गरिब तथा धनी देश अनि सम्पन्न र विपन्न नागरिक सबैले समानरूपले भोगेका छन्। विश्वमा हाहाकार हुँदा कुनै पनि पक्षले उन्मुक्ति पाउँदैन भन्ने सन्देश दियो भाइरसले। बसुदैव कुटुम्बकमको मान्यतालाई पुनरावृत्ति गरायो।

भाइरसले नै लाग्ने बिफर तथा स्प्यानिस फ्लु जस्ता रोगका कारण अघिल्लो शताब्दीमा करोडौँ मानिस मरे। खोप मात्र प्रभावकारी हुने भएकाले भाइरस नियन्त्रण कठिन हुन्छ। रामवाण भ्याक्सिन बनाउन लामो समय लाग्ने भएकाले संक्रमणकारी भाइरसले त्यही अवधिमै सत्यनास पार्न भ्याइसक्छ। कोरोनाको विश्वव्यापी संक्रमणपछि मानिसमा भाइरसभन्दा ब्याक्टेरिया अलि कम खराब हो कि भन्ने लाग्ने गरेको देखिन्छ।

पृथ्वीमा लाखौँ किसिमका ब्याक्टेरिया असंख्य हिसाबमा छन्। कीटाणुबिहीनताको स्थान कल्पना बाहिरको विषय बन्यो। क्यान्सरका  कोसहरूझैं ब्याक्टेरियाको विभाजन गति अत्यधिक भएकाले छोटो अवधिमै सूक्ष्माणुको संख्या धेरै बढ्छ। रफ्तारमा विभाजन हुने भएकाले बाह्य वातावरणीय परिवर्तनमा बाँच्नका लागि ब्याक्टेरियाले आफ्नो चरित्रमा अणुवांशिक तथा शारीरिक बदलाव ल्याउँछ। परिणामस्वरूप नवीन ब्याक्टेरिया उत्पत्ति हुन्छ।

जीव उत्पत्तिको इतिहास पढ्दा ब्याक्टेरियाको पोखरीमा मानव सभ्यता विकास भएको देखिन्छ। वातावरण जतिसुकै स्वच्छ भए पनि जन्मँदै मानिसको शरीरमा हजारौँ किसिमका ब्याक्टेरिया हुन्छन् अनि कालान्तरमा उक्त संख्या बढ्दै जान्छ। तर अधिकांश ब्याक्टेरिया शरीरका लागि लाभप्रद छन्। खराब ब्याक्टेरियाले संक्रमण गरे बिरामी परिन्छ अनि रोग नियन्त्रणका लागि ‘एन्टिबायोटिक्स’ को प्रयोग आवश्यक बन्छ।

जीवको अस्तित्वका लागि अणुवांशिक पदार्थ ‘डिएनए’, आरएनए, प्रोटिन अनि ‘सेल बाल’ (कोस झिल्ली) आवश्यक हुन्छ। बाँच्नका लागि नभइ नहुने उक्त ४ चिजमध्ये कुनै एक पदार्थको निर्माण प्रक्रिया रोक्ने हो भने जीवको अस्तित्व समाप्त हुन्छ।

ब्याक्टेरियाको हकमा समेत उक्त कथन सत्य छ। तसर्थ, सूक्ष्माणु नियन्त्रणका लागि ‘डिएनए’, आरएनए, प्रोटिन अनि ‘सेल बाल’ मध्ये कुनै एउटा पदार्थ बन्ने बाटो विच्छेद गर्नु आवश्यक हुन्छ। त्यसैले प्रभावकारी एन्टिबायोटिक्सले उल्लिखित ४ मध्येको कम्तीमा पनि एक अत्यावश्यक पदार्थको निर्माण रोक्न सक्नुपर्छ।

बजारमा पाइने अधिकांश एन्टिबायोटिक्सले अणुवांशिक पदार्थ बन्ने मार्ग, प्रोटिन बनाउने प्रक्रिया तथा कोस झिल्ली निर्माणलाई विच्छेद गर्छ। अत्यावश्यक पदार्थको उत्पादन हुन नसके ब्याक्टेरियाको अभिवृद्धि हुन सक्दैन। सूक्ष्माणु नासिन्छ अनि रोग निको हुन्छ। कार्य विभाजनका हिसाबले एन्टिबायोटिक्सलाई ४ भागमा विभक्त गर्न सकिन्छ– डिएनए लक्षित, आरएनए केन्द्रित, प्रोटिन लक्षित तथा कोसझिल्लीनाशक।

मानिसको शरीरमा  हजारौं किसिमका प्रोटिन क्रियाशील हुन्छन् भने ‘इभोल्युसन’ को प्रारम्भिक चरणमा रहेको ब्याक्टेरियामा केबल २ सय जति मात्र प्रोटिन पाइन्छ। अनि, मानिस र सूक्ष्माणुका प्रोटिनका चरित्र तथा आकृतिहरू पनि फरक फरक हुन्छन्। त्यस्तै अणुवांशिक हिसाबमा समेत ब्याक्टेरिया अपरिपक्व हुन्छ, कोश झिल्ली पनि आरम्भिक अवस्थामै हुन्छन्।

समष्टिगत रूपमा मानव कोस र ब्याक्टेरियाको बनोटबीच अतुलनीय विभेद हुन्छ। मानवीय र जीवाणुका तन्तुहरू धेरै हिसाबमा फरक हुने भएकाले ब्याक्टेरियालाई लक्षित गरी बनेका ओखतीले मानव कोसहरूलाई प्रत्यक्ष रूपले प्रतिकूल असर भने पार्दैनन्। तर एन्टिबायोटिक्स सेवनले अन्य शारीरिक समस्या भने ल्याउँछ।

स्वस्थ जीवन यापनका लागि हाम्रो शरीरमा विभिन्न चरित्रका लाभप्रद ब्याक्टेरियाको दरकार पर्छ। उदाहरणका लागि आन्द्रामा रहने गट ब्याक्टेरियाले पाचन प्रणालीलाई दुरुस्त राख्न त मद्दत राख्छ नै, त्यसका अतिरिक्त इम्युन सिस्टम सशक्तीकरणमा समेत भूमिका खेलेको देखिन्छ।

कार्यविभाजनका हिसाबले विपरित ध्रुवमा रहे पनि बायोलोजिकल हिसाबले भने विषाक्त र लाभप्रद ब्याक्टेरिया धेरै हिसाबले समान हुन्छन्। तसर्थ, रोग लागेका बखत उपरोलिखित चरित्रका एन्टिबायोटिक्स सेवन गर्दा खराब ब्याक्टेरियासँगै असल सूक्ष्माणुसमेत मासिन्छ। यसरी गट ब्याक्टेरिया मारिएपछि पेटका रोग अनि इम्युन सिस्टम सिथिल बन्ने जस्ता समस्या देखिन्छ।

यसरी प्रारम्भिक एन्टिबायोटिक्सले खराब र असल ब्याक्टेरियामा फरक छुट्याउन नसक्ने भएपछि ‘मोडर्न एन्टिबायोटिक्स’ को अवधारणा आयो। एउटै एन्टिबायोटिक्सले धेरै किसिमका ब्याक्टेरिया मार्नुको बदला एउटा ओखतीले एक जातको सूक्ष्माणुलाई मात्र प्रहार गर्ने ‘म्याजिक बुलेट’ ओखतीको सोच आयो।

क्षयरोग, टाइफाइडका कीटाणु मार्नका लागि बेग्लाबेग्लै चरित्रका एन्टिबायोटिक्स उत्पादन भए। प्रारम्भिक दिनमा ‘म्याजिक बुलेट’ ओखतीले ब्याक्टेरिया नासियो, बिरामी तुरुन्तै निको भए। तर पछिल्ला दिनमा ओखतीको प्रभावकारिता घट्दै गएको महसुस हुन थाल्यो।

सुरुमा सहजै ठीक हुने क्षयरोगका बिरामी पछिल्ला दिनमा त्यही ओखती दिँदा निको पार्न हम्मे पर्न थाल्यो। प्रारम्भिक दिनमा सजिलै नाश गर्न सक्ने ओखतीले पछिल्ला दिनमा ब्याक्टेरियालाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्यो। ब्याक्टेरिया नियन्त्रणका सवालमा एन्टिबायोटिक्सको प्रभावकारिता घट्ने अवस्थालाई ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ भनिन्छ। एन्टिबायोटिक्स रेसिस्टेन्टको असर बुझ्न क्षयरोगको बिग्रँदो अवस्थाको चर्चा सान्दर्भिक हुन्छ।

‘माइकोब्याक्टेरियम ट्युबरकोलोसिस’ भन्ने ब्याक्टेरियाको संक्रमणले क्षयरोग (टिबी) लाग्छ। मुख्यतः फोक्सोमा संक्रमण गर्ने यो ब्याक्टेरिया हावाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ। खोक्दा तथा हाछ्युँ गर्दा सर्ने भएपछि एक जना संक्रमित भए छिमेकका धेरैमा लाग्नु अस्वाभाविक हुँदैन। समयमै रोगको उपचार हुन नसके मस्तिष्क, मिर्गाैलामा आघात परी बिरामी मर्छ।

उन्नाइसौँ शताब्दीको पूवार्द्धसम्म क्षयरोगका कारण संसारमा झण्डै २० प्रतिशत मानिस मारिन्थे। महारोगको नाम पाएको थियो क्षयरोगले। जब्बर रोग नियन्त्रणका खातिर सन् १९४३ मा एन्टिबायोटिक्स ‘स्ट्रेप्टोमाइसिन’ आविष्कार भयो। त्यसबेला टिबीको अचुक ओखती थियो स्ट्रेप्टोमाइसिन। तर बिस्तारै रोग नियन्त्रणको सवालमा स्ट्रेप्टोमाइसिनको प्रभावकारिता घट्दै गयो।

अर्को ओखतीको दरोकार पर्‍यो। लामो प्रयासपछि सन् १९५१ मा टिबीको अर्को औषधि ‘आइसोनियाजिड’ बन्यो। प्रारम्भिक दिनमा आइसोनियाजिडले क्षयरोग नियन्त्रण गरे पनि पछिल्ला समयमा उक्त मेडिसिनको समेत तागत घट्दै गयो। चल्तीका ओखतीले काम गर्न छाडेपछि नवीन ओखती पत्ता लगाउन अनुसन्धान हुनु अस्वाभाविक भएन। धेरै वैज्ञानिक ओखती आविष्कारमा लागे। परिणामस्वरूप झण्डै दुई दशकमा क्षयरोग नियन्त्रण गर्न पाइराजिनामिड, इथ्यामब्युटोल, रिफ्याम्पिनलगायतका ओखती बने।

सबै ओखतीमा प्रारम्भमा प्रभावशाली देखिने अनि पछि तेज घट्दै जाने समस्या देखियो। यसरी ओखतीको तागत समयसँगै निस्तेज हुने भए पनि नयाँ ओखती बनाउन फर्माकम्पनीहरू तत्पर भएनन्। औषधि उत्पादन गर्न अरबौँ डलर लगानी गर्नुपर्ने तर बजारमा आएको केही समयपछि नै ओखती निष्प्रभावी हुन थालेपछि मेडिसिन बेचेर नाफा कमाउन सकिने देखेनन् उत्पादकहरूले। अनि क्षयरोगका नयाँ ओखती बन्ने अवस्था भएन।

नयाँ ओखती ख्याउनुको बदला भएमध्येबाटै दुई वा त्योभन्दा बढी ओखती  मिलाएर बिरामीलाई दिने चलन चल्यो। र, क्षयरोगका सामान्य बिरामीलाई झण्डै ७ दशकअघि आविष्कार भएको आइसोनियाजिड र रिफ्याम्पिन खुराक मिलाएर दिने डाक्टरी संहिता अहिले पनि कायम छ।

टिबीका नवीन ओखती बन्न छाड्यो तर टिबीको जीवाणुले आफूलाई परिमार्जन भने गर्दै लग्यो। विगतमा दिइने आइसोनियाजिड र रिफ्याम्पिनले क्षयरोग नियन्त्रण गर्न नसक्ने भए। त्यसरी दुई ओखती खान दिँदासमेत बिसेक नहुने रोगलाई ‘मल्टिड्रग्स रेसिस्टेन्ट टिबी’ भनियो। त्यस्तो अवस्थाको बिरामी निको पार्न धेरै प्रकारका दवाईको ‘ककटेल’ दिनुपर्ने हुन्छ। रोगको इलाजमा जटिलता थपियो।

त्यसै त इलाज प्रक्रिया जटिल भएकामा हालै क्षयरोगका जीवाणुले आफूलाई थप परिमार्जन गरेर टिबीका कुनै ओखतीको संयोगले पनि ठीक पार्न नसक्ने अवस्था पुगेको देखियो। त्यस्तो अवस्थाले संसारका वस्तुगत विशेषज्ञलाई चिन्तित पार्ने नै भयो। ओखतीले बिसेक पार्नै नसक्ने अवस्थाको क्षयरोगलाई मेडिकल भाषामा ‘इक्स्टेन्सिभ ड्रग्स रेसिस्टेन्ट टिबी’ भनियो। यो अवस्थाको क्षयरोगीका लागि मृत्यु कुर्नुभन्दा अन्य विकल्प रहेन। ड्रग्स रेसिस्टेन्ट क्षयरोगका जीवाणुहरूको संक्रमण दर पहिलो पुस्ताको कीटाणुभन्दा कम नभएकाले कहीँ टिभीका ब्याक्टेरियाले अर्को प्यान्डेमिक त निम्त्याउने होइन भन्ने लाग्नु अन्यथा भएन।

क्षयरोगका जीवाणुले पछिल्लो समयमा कसरी आफूलाई परिमार्जन  गर्दै लगे अनि उक्त परिवर्तनले कसरी दवाई निष्काम बन्न पुगे भन्ने देखियो। टिबीका कीटाणु मात्र होइन, धेरै किसिमका ब्याक्टेरियाले दवाईबाट बच्न आफूलाई परिमार्जन गर्दै ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ को अवस्थामा पुगेको देखियो।

संसारभर ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ ब्याक्टेरियाको वर्चस्व भएमा दवाई प्रभावहीन बनी मेडिकल साइन्स धराशायी हुन खासै समय लाग्दैन। ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ ब्याक्टेरिया बढ्नुमा मुख्यतः एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले भूमिका खेलेको देखिन्छ। सबैले अति आवश्यक परे मात्र एन्टिबायोटिक्स खाने बानी बसाउन सके ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ को प्रभाव केही मात्रामा भए पनि घटाउन सकिन्थ्यो। नागरिक दैनिक

Next PostRead more articles

Leave a Reply