सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजनीतिमा मानसिक रोगी – युवराज गौतम

२०७८ असोज १, शुक्रबार

‘द न्युयोर्क टाइम्स’ पत्रिकामा सन् १९८४ नोभेम्बर ७ तारिखमा छापिएको एउटा लेख छ। त्यसको निचोड छ– ‘नेताको मस्तिष्क जाँच’ (ब्रेन टेस्ट फर लिडर्स) हुनुपर्छ।’ अमेरिकी राष्ट्रपतिहरू विल्सन, रुजबेल्ट र आइजनहावरमा गम्भीर मानसिक रोग थियो भन्ने प्रकाशमा आएपछि मानसिक रोगीहरूलाई राष्ट्र जिम्मा लगाउँदा ठूलो क्षति हुन्छ भन्ने तर्क गर्दै आलेखहरू प्रकाशित भएका छन्। ती आलेखमा पर्याप्त तर्क, प्रमाण र आधार छन्।

कार्यालयको तल्लो तहका कर्मचारीहरू पनि शारीरिक र मानसिकरूपले ‘फिट’ हुनुपर्ने तर सरकार वा राष्ट्र हाँक्नेहरू पागल वा अर्धपागल भए पनि चल्छ त ? अवश्य चल्दैन। सडकमा एक्लै हाँस्दै, रुँदै, बर्बराउँदै हिँड्ने मात्र मानसिक रोगी होइनन्। ‘म मात्र सही हुँ, अरू सबै गलत’ भन्नेहरू पनि पागल हुन् भन्ने मानसिक रोगका ज्ञाताहरूको तर्क छ। उनीहरू भन्छन्– नेतृत्व गर्नेहरूले मानसिक सन्तुलन गुमाए भने जनता र राष्ट्र बर्बाद बन्ने सम्भावना रहन्छ।

अमेरिकन साइकियाट्रिक एसोसिएसनको तथ्यांकअनुसार अमेरिकाका उन्नाइस प्रतिशत वयस्क नागरिक कुनै न कुनै किसिमको मानसिक बिरामी छन्। बिरामीले यो कुरा सहज रूपमा स्वीकार गर्छन्। तन, मन र वचनको समन्वय नहुँदा पनि मानिस विक्षिप्त बन्छ।

धेरै लोभ गर्नु, सत्य लुकाउनु, हुँदै नभएको कुरा (धनदौलत, शैक्षिक डिग्री वा क्षमता) आफूसँग छ भनेर झुटो बोल्नु, ठूलाठूला कुरा गरेर सत्य ढाक्न खोज्नु, कुनै काम गरे पनि, नगरे पनि दिक्क लाग्नु, जाँगर नहुनु र शरीर स्वस्थ भए पनि ‘अब सकिँदैन’ भन्दै हरेश खानु मानसिक बिरामीका लक्षण हुन्।

 यस्तै शरीर क्लान्त (शिथिल) भए पनि तन्दुरुस्तीको अभिनय गर्नु वा उत्तेजक औषधि खाएर केही दिन फुर्तिलो देखिने समस्या पनि धेरैमा देखिन्छ। आवेग, उत्तेजना र उन्माद बढाउने ओखती खाएर पागलले झै मञ्चबाट जथाभावी बोल्ने राजनीतिकर्मीहरू नेपालमा पनि छन्। उनीहरूका ‘हाइ साउन्डिङ’ गफ सुनेर स्रोता, दर्शक वा कार्यकर्ताहरू थपडी मार्दा आगोमा घ्यु थपिएझैँ हुन्छ। एकछिनलाई मनोरञ्जन हुन्छ।

मानसिक रोगले पक्षपात गर्दैन। राजा, राष्ट्रपति, प्रधानमन्त्री, सेनापतिदेखि अर्बपति वा दरिद्रका दिमागमा पनि बस्छ यो रोग। कसैको दिमागमा केही महिना बस्छ, कसैकोमा बाँचुन्जेल। उमेर, लिंग, सामाजिक स्तर, आर्थिक अवस्था, संस्कृति, धर्म, अध्यात्म, आयस्रोत, भूगोल, पारिवारिक पृष्ठभूमि आदिका कारण प्रायः तेइस/चौबीस वर्षको उमेरपछि कैयन् व्यक्ति मानसिक रोगको सिकार बन्ने गरेका विशेषज्ञहरूको तर्क छ।

सन् २०१५ अक्टोबर ९ तारिखमा स्टेफनी थम्सनले लेखेकी छन्–अब्राहम लिंकन पनि मानसिक रोगी थिए। उनलाई चरम ‘डिप्रेसन’ थियो। प्रायः रिसाइरहन्थे। उनको मर्म र भित्री कुरा बुझेका कतिपय साथीहरू लिंकनले आत्महत्या गर्लान् कि भनेर भयभित रहन्थे।

ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलले आफू केही वर्ष मानसिक रोगले विक्षिप्त भएको स्वीकारेका छन्। चर्चिल युवा पुस्तामा राम्रो तलव पाउने पत्रकार थिए। मानसिक रोगबाट पीडित भए पनि उनले आफूलाई व्यस्त राखे। व्यस्त भइरहनु पनि उपचार हो भन्छन्, मानसिक रोगका विज्ञहरू।

सन् १९९५ मा बिबिसीलाई अन्तर्वार्ता दिँदा ब्रिटेनकी महारानी एलिजावेथकी बुहारी डायनाले आफूलाई मानसिक समस्याले गाँजेको बताएपछि उनका बारेमा धेरै चर्चा भयो। लन्डनका कफी हाउसहरूमा युवराज चाल्र्सले माया नगरेका कारण युवराज्ञी डायना निकै दुःखी छिन् भन्ने चर्चा थल्यो। कतिपयले ‘उत्ताउली’ भन्ने टिप्पणी गर्ने गरेको डायनाको रहस्यमय मृत्यु भयो, सन् १९९७ मा। आफ्ना प्रेमी दोदीसँग पेरिसमा घुमिरहँदा दुर्घटनामा परेर प्रेमीसहित उनको प्राणान्त भयो। उनको पेटमा प्रेमीको गर्भ थियो भनेर मिडियामा आयो। राजदरवारभित्र खुसी हुन नसकेर इजिप्टका अर्बपतिसँग रमाइरहेकी थिइन् उनी।

स्टालिन, हिटलर, मुसोलिनी, पोलपोट हेनरिक हिमलर, सद्दाम हुसेन, इदी अमिन, हेनरी (आठौंँ) की छोरी क्विन मेरी र चीनका नेता माओ आदिको जीवनगाथा पढ्दा उनीहरू निरंकुश, उग्र, हेपाहा, तानाशाह र असहिष्णु थिए भन्दै इतिहासकारले लगाएको आरोप मिथ्या रहेनछ भन्ने बुझिन्छ। मन नपरेको मान्छेको मुटु कलेजो ‘फ्राइ’ गरेर खाने इदी अमिन हुन् वा हजारौँ प्रोटेस्टेन्टलाई ज्युँदै पुर्ने क्याथोलिक महारानी मेरी (ब्लडी मेरी) ती सबै कुख्यात पागल थिए। मानवीय चरित्र बिर्सेर फरक विचार राख्नेलाई खरानी बनाउँछु भन्ने सोच सद्दे मान्छेमा हुँदै हुँदैन। त्यसैले ती मानसिक रोगी नै हुन् भन्ने मनोचिकित्सकहरूको धारणा छ।

विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्। रत्नाकर डाँका जीवनको अर्थ थाहा भएपछि नाम बदलेर ‘वाल्मीकि ऋषि’ भए। हिजो हजारौँको हत्या गर्नेहरू रक्तपातकै कालखण्ड सम्झेर रमाउने गर्छन् र दैत्यनाममै गर्वोन्मत्त छन्।

राल्फ एमर्सनले ठट्टा गरेका छन्– ‘तिमी एक मिनेटमात्र रिसायौ भने पनि अमूल्य साठी सेकेन्डको खुसी गुमाउँछौ।’ रिसाइरहने, झर्कोफर्को गर्ने, ठुस्किरहने, अरू रमाएको देख्नै नसक्ने, हीनभावना वा उच्चताबोधले थिचिएका अभिमानी, रिसाहा, अरूलाई हेप्ने सबै मनोरोगी हुन। नेपाली राजनीतिमा संलग्न हजारौँ पात्रमध्ये इमानदार, हँसमुख, सहज, उदार, समदर्शी, स्वप्नद्रष्ट र जनताको निस्वार्थ सेवा गर्न चाहने थोरै छन्। धेरै जना त कतै काम नलागेर राजनीतिमा लागेका पाइन्छ। ठग्ने, ढाँट्ने, विदेशी पैसा चाट्ने र ठूल्ठूला गफ छाँट्नेहरूले राजनीतिलाई पेसा बनाएका छन्। त्यसैबाट अकुत पैसा कमाएका छन्।

एकै किसिमका हजार गल्ती गरेर दश हजार पल्ट क्षमा मागे पनि आफ्ना कमजोरीलाई आदत बनाउनेहरू पनि मानसिक रोगी हुन्। त्यस्ता मानिसले बाध्यताले भूल स्वीकार गर्लान् तर भूल सुधार गर्दैनन्। ‘ओके ओके, आइ एम सरी, बट यु आर रंङ’ भन्ने ढिपीले उनीहरू ग्रस्त हुन्छन्। रिस भनेको विष नै हो। घमण्ड आफैँलाई सिध्याउने दण्ड हो। क्रोध उनन्यनको अवरोध हो। यी सबै अवगुणले ‘अलंकृत’ मानिस नेपाली राजनीतिमा प्रशस्त छन्। त्यसैले, राजनीति नै पागलखाना बनेको देखिन्छ।

आत्मसम्मान (स्वाभिमान) र अभिमानबीच भिन्नता र भेद थाहा नपाउनेहरू धेरै छन्। जिद्दी, हठी वा अभिमानी (एरोगेन्ट) मानिस प्रायः असफल हुन्छन्। सरल, सदाचारी, इमानदार र मिलनसार मानिस शक्ति, पद र धनबाट वञ्चित भए पनि लोकप्रिय बन्छ। पचासौँ अंगरक्षक लिएर हिँड्ने कुमार्गीभन्दा एक्लै हिँड्ने लोकप्रिय मानिस शक्तिशाली हुन्छन्। जो वास्तवमा निर्दोष हुन्छ, उसको ज्यान बचाउन सुरक्षा घेरा चाहिँदैन। जसले हजार अपराध गरेको हुन्छ, उसको सहज मृत्यु हुने सम्भावना पनि न्यून हुन्छ।

भनिन्छ, असल नायक सही दिशामा जान्छ। उसले सही सोच्छ। सही बोल्छ र जनतालाई सही मार्गतिर डोर्‍याउँछ। हत्या, लुट, आतंकलगायतका अपराध गरेर त्यसबापत भोगेको बदनामी वा सजायलाई ‘राजनीति गरेको’ भन्न पाइन्छ। करोडौँ रुपियाँको भ्रष्टाचार गरेर दल बचाउन चन्दा उठाएको भन्न पाइन्छ ? डेमोक्रेसीका नाममा आफ्ना सीमित प्रियजनलाई पोसेर राष्ट्र लुटिरहन पाइन्छ ? सबै नेपालीको हित गर्नुपर्ने पदमा बसेर ‘भागबन्डा’ गर्न पाइन्छ ? तानाशाहहरूले जे गरे, आफूलाई ‘लोकतन्त्रवादी’ भन्नेहरूले पनि त्यही गर्ने हो भने प्रजातन्त्र र निरंकुशतन्त्रबीच फरक खोज्न कहाँ जाने ? नागरिक दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय ‘कूटनीति’ का यी फरक अनुहारहरु – युवराज घिमिरे

राजा फर्किने हल्ला – युवराज गौतम

बौद्धिक मध्यमवर्गको विडम्बना – बिष्णु सापकोटा

न्यायको कठघरामा प्रधानन्यायाधीश – बलराम केसी

बिपी, राजसंस्था र अहिलेको गणतन्त्र – डा. प्रकाशचन्द्र लोहनी

सङ्घीय सरकारबाट हिन्दुधर्ममाथि आक्रमण किन ? अधिकारीश्री

नेपालको स्वतन्त्र हैसियत मास्न उद्यत यी नेताहरु – युवराज घिमिरे

बार-बेन्च विवाद – अनन्तराज लुइँटेल

देउवाको ‘असन्तुलित’ छिमेक नीति – गोपाल खनाल

संसद्को तारन्तार अवमूल्यन – डा. खिमलाल देवकोटा

सरकारको पूर्णतासँग जोडिएका प्रश्न – डा. सुरेश आचार्य

मूलधारका वामपन्थीको वैचारिक अवसान – हरि रोका