सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लकडाउन हटेपछिको सीमा व्यवस्थापन- बुद्धिनारायण श्रेष्ठ

२०७७ बैसाख १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरस संक्रमणका कारण पाँचहप्ते लकडाउन अर्काे दश दिन तन्किएको छ । हवाईमार्गबाट आवागमन गर्न अन्तर्राष्ट्रिय सिमाना अर्को १६ दिनका लागि बन्द गरिएको छ । लकडाउनको समयावधि कटिसकेर संक्रमण मत्थर भएपछि हाम्रो देशको सीमा व्यवस्थापन कस्तो गर्नुपर्ने हो ? यो जिज्ञासाको विषय रहेको छ । सीमा बन्द नै गर्नुपर्ने हो या साबिकबमोजिम नेपाल–चीन सीमा नियमन र नेपाल-भारत सीमा खुला नै गरिनुपर्ने हो । यससम्बन्धी निक्र्योल गर्न सीमा बन्द गर्दा केकस्ता अप्ठेरा–सप्ठेरा परेका थिए । भारतसँग सीमा खुला गरिएका समय कसरी नकारात्मक-सकारात्मक प्रभाव परेको थियो भन्ने कुराको राम्ररी मनन र विश्लेषण गर्नुपर्छ । अनि ‘ग्राउन्ड रियालिटी’का आधारमा निर्णय गरिनुपर्छ । यस्तो निर्णय दूरगामी प्रकृतिको हुनुपर्छ । भाइरस संक्रमण हुनुअघि र पछि विश्वका विभिन्न देश खासगरी युरोपको सेन्जेन मुलुकले अपनाएका तत्कालीन र वर्तमान सीमा व्यवस्थापनको पनि मनन गर्नुपर्छ ।

नेपाल र भारतबीच सामान्य अवस्थामा खुला सीमा व्यवस्था प्रचलनमा छ । यद्यपि, स्वविवेकीय तरिकाबाट वेलाबखत नियमन–नियन्त्रित र बन्द सीमा व्यवस्था पनि अवलम्बन गरेको पाइन्छ । भारतीय नाकाबन्दीका समय कुनै सीमानाका नियमन तथा अन्य केही नाका बन्द गर्ने गरेको पनि पाइन्छ । निर्वाचन भएका बखत दुवैतर्फ केही दिनका लागि सीमानाका बन्द गर्ने प्रचलन पनि रहँदै आएको छ ।

कोरोना भाइरस संक्रमण भएका बखत दुवैतर्फका सबै सीमा बन्द गरिएको छ । भारतले एकैचोटि तीन साता अनि अर्को तीन साता लकडाउन थप्यो । नेपालले चारपटक गरी किस्ताबन्दीमा पाँच सातापछि अर्कोपटक थप गरेको छ । खुला भनिएको अन्तर्राष्ट्रिय सीमा लकडाउन गर्न न त भारतले नेपालसँग परामर्श ग¥यो, न त नेपालले भारतसँग नै । तर, हाराहारीमा नेपालले भारतलाई पछ्याएको थियो ।

बन्द सीमा : लकडाउनमा सीमा बन्द गरिएको समय नेपाली समुदाय आफ्नो देशतर्फ छिर्न नपाई भारतीय दशगजामा अलपत्र परे । यस्तामध्ये भारतीय दशगजा गौरीफन्टामा करिब ९०, धार्चुलामा ५००, वनवासामा ३६, झुलाघाट ७०, जमुनाहामा २००, सुनौलीमा ३०० र जोगबनीमा १३ जना विचल्लीमा परे । भारतले घर फर्केका नेपालीलाई ग्वारग्वार्ती फर्कन दियो । नेपालले चाहिँ सीमा सिल गरिएको भन्दै नेपाली नागरिकलाई आफ्नो घर फर्कनबाट रोक्यो । जनआवाज चर्को भएपछि सुनौली दशगजामा २५ दिन क्वारेन्टाइनमा बसेका सयजनालाई स्वास्थ्य सतर्कतासाथ हालै मात्र बेल्ही नाकाबाट भित्र्याइएको छ । लकडाउनको समय नेपालमा जाममा परेका विदेशीलाई उनीहरूका देशका सरकारले हवाईजहाज चार्टर गरेर लग्यो । तर, धार्चुलास्थित भारतीय दशगजाको क्वरेन्टाइनमा रहेका एक नेपालीको आफ्नो जन्मथलोमा आमा मर्दा पनि नेपालले उनलाई सीमावारि घर आउन दिएन ।

काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको हवाईजहाज अपहरण काण्डपछि हवाईमार्गमा नियमन व्यवस्था अपनाइएजस्तै अब भाइरस संक्रमण काण्डपछि स्थलमार्गमा पनि सीमा नियमन गर्नुपर्छ  ।

लकडाउनका समयमा काठमाडौंबाट सयौँ मानिस लर्काे लागेर पैदलै आआफ्नो गृहजिल्लातिर लागे । भोकप्यास खपेर बच्चाबच्ची च्याप्दै महिलाले समेत हप्तौँ पैदल हिँड्ने साहस गरे । पछिल्लोपटक थपिएको अवधिमा पनि काठमाडौंजस्ता सहरबाट गृहजिल्ला जाने संख्या निकै देखिन्छ । देशभित्रैको आन्तरिक सीमा व्यवस्थापन गर्न नसकेका कारण पैदल जाने केही व्यक्तिको पुलबाट खसेरसमेत मृत्यु भयो ।

दक्षिणतर्फ खुला सीमा भएका छिमेकबाट घर फर्केका सबैको संक्रमण जाँच परीक्षण गर्ने प्रबन्ध गर्न सकिएन । त्यसैले अझै अरू संक्रमित भेटिन सक्छन् । उत्तरतर्फ नियमन सीमा व्यवस्था रहेको चीनसँगको नेपालको १५ सीमावर्ती जिल्लामा चाहिँ भाइरस संक्रमण देखिएको छैन ।

भारतले नेपालसँग जोडिएको सीमामा ३०५ बोर्डर अब्जरभेसन पोस्ट खडा गरी ४५ हजार जवान एसएसबी तैनाथ गरेको छ । नेपालले १२० पोस्टमा १४ हजार सशस्त्र प्रहरी बल खटाएकोमा भाइरस संक्रमणका वेला अस्थायीसमेत करिब ४०० पोस्ट स्थापना गरेको छ । एक पोस्टमा ६ देखि १० जवान छन् । यस्ता पोस्टमा रहेका सशस्त्रका जवानले सीमा वारपार गर्न बन्देज गरेको छ । यी सबै बन्दसीमाका ग्राउन्ड रियालिटी हुन् ।

खुला सीमा : सन् १९५० को नेपाल–भारत शान्ति मैत्री सन्धिको धारा–७ को पछिल्ला हरफमा ‘नेपाल र भारत दुवै देशका सरकार समान आधारमा एकअर्को देशका नागरिकलाई डुलफिर गर्न र यस्तै प्रकारका अन्य विशेषाधिकार प्रदान गर्न स्वीकृति प्रदान गर्छन्’ भन्ने लेखिएको छ । तर, सीमा खुला रहनेछ भन्ने उल्लेख छैन, तापनि दुवै देशले आआफ्नै हिसाबले सीमा व्यवस्थापन गर्दै आइरहेको पाइन्छ । भाइरस संक्रमणका वेला सहमतिअनुसार गरिएको भए भारतजस्तै नेपालले पनि सुरुमै एकैपटक तीनहप्ते लकडाउन घोषणा गर्ने थियो होला । नेपालले सुरुमा एक हप्ताका लागि सीमा बन्द गर्‍यो । यसपछि सीमा खोलिएला भनेर भारतमा कमाइ गर्न गएका नेपाली घर फर्के । तर, सीमानाकामा आइपुग्दा–नपुग्दै लकडाउनको अवधि थपियो । उनीहरू भारतीय दशगजामै अलपत्र परे ।

कोरोना साम्य भएपछिको समयलाई अवसरका रूपमा लिई भारतसँगको खुला सीमा नियमन गर्नुपर्छ ।

सेन्जेन मुलुकसमेतको सीमा : खुला सीमा भएका २६ युरोपेली सेन्जेन मुलुकमा कोरोना भाइरस संक्रमणको मात्रा अत्यधिक देखिएको छ । यी २६ देशमध्ये पनि इटली, स्पेन र फ्रान्समा मात्रै विश्वभर मृत्यु भएका संख्याको ३५ प्रतिशत रहेको छ । यी तीन देशको सीमा एकआपसमा गाँसिएको छ । अन्य देशबाट टर्की, ग्रिस हुँदै आप्रवासी इटली पस्ने गर्छन् र त्यहाँबाट फ्रान्स जर्मनीतिर लाग्छन् । अत्यधिक मृत्युका कारण अब सीमाबाट आउन–जान बन्द गरिएको छ । अमेरिका–क्यानडा खुला सीमा पनि बन्द गरिएको छ ।

नियन्त्रित–बन्द सीमा व्यवस्था भएका उत्तर कोरिया र ओसेनिया क्षेत्रका स–साना टापुराष्ट्र, जसको छिमेकी मुलुकको संख्या कम रहेको छ र जहाँ सजिलै आवागमन गर्न पाइँदैन, त्यहाँ संक्रमणले छोएको छैन । यसैले होला उत्तर कोरिया कोरोना भाइरसरहित देश रहेको छ ।

अबको बाटो : दक्षिण एसियाली सार्क मुलुकमा खुला सीमा, नियमन-नियन्त्रित र वेलाबखत बन्द सीमा व्यवस्थापन रहेको पाइन्छ । यस्तो व्यवस्थापन भएका सार्क राष्ट्रमा कोरोना भाइरसद्वारा विश्वमा मृत्यु भएकाको ०.६३ प्रतिशत संख्या रहेको छ । सार्क मुलुकमध्ये भारतमा मात्रै ६४ प्रतिशतको मृत्यु भएको पाइन्छ । यस तथ्यांकले भारतसँग सीमा गाँसिएको नेपालको सीमा व्यवस्थापनमा सतर्कता अपनाउनुपर्ने देखिएको छ । नेपाल–भारत खुला सीमा अवाञ्छित तत्वले हदैसम्म दुरुपयोग गरेका छन् । एकातिर अपराध गर्छन्, अन्तर्राष्ट्रिय सिमाना लुसुक्क पार गरी अर्कोतर्फ लुकिछिपी बस्छन् । आतंककारी, अपराधी, विध्वंसकारी, जाली भारतीय नोटका कारोबारी, लागुपदार्थ ओसारपसारवाला, मानव तथा सामान तस्कर सजिलै खुला सीमापार गरी दुवै सीमावर्ती क्षेत्रको समाजलाई विकृत पार्ने गरेका छन् । कोरोना भाइरस साम्य भएपछिको समयलाई अवसरका रूपमा लिई खुला सीमालाई बिस्तारै नजानिँदो तरिकाले नियमन गर्नुपर्छ ।

काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको हवाईजहाज अपहरण काण्डपछि १५ असोज, ०५७ देखि हवाईमार्गमा नियमन व्यवस्था अपनाइएको छ । अब भाइरस संक्रमण काण्डपछि स्थलमार्गमा पनि सीमा नियमन गर्नुपर्ने खण्ड आएको छ । प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठकमा भारतीय टोलीका सदस्य प्राध्यापक बिसी उप्रेतीले खुला सीमाबाट आतंककारी गतिविधि हुने गरेकाले सीमा नियमन गर्नुपर्ने धारणा प्रस्तुत गर्दै हवाईमार्गमा जस्तै स्थलमार्गमा दुई देशबीचको सीमा–नाकामा रहेका ७० भन्दा बढी चेकपोइन्टबाट आवतजावत गर्दा अभिलेख राख्न फोटोसहितको परिचयपत्र बोक्ने प्रणाली विकास गर्नुपर्ने सुझाब राखेका थिए ।

सीमा नियमन गर्न कुनै तामझाम गर्नुपर्दैन । नेपाल–भारतबीच अहिले २४ मूल भन्सार–अध्यागमन र १३५ छोटी भन्सार नाका रहेका छन् । पहिलो चरणमा २४ मूलनाकाको दशगजा क्षेत्रमा प्रिफ्याबका कोरिडोर–कोठा बनाई त्यस्ता कोरिडोरमा आवश्यकताअनुसार तीनदेखि पाँच डेस्क स्थापना गरिनुपर्छ । त्यस्ता डेस्क टेबलमाथि स्ट्यान्ड बनाई रडसहितको डिजिटल अथवा मोबाइल क्यामेरा जडिनुपर्छ । सीमा वारपार गर्ने यात्रुलाई आफ्नो परिचयपत्र त्यस क्यामेराको मुनि टेबलको निश्चित स्थानमा राख्न लगाई क्यामेराले क्लिक गर्नेबित्तिकै परिचयपत्र उठाएर कोरिडोरबाट बाहिरिने व्यवस्था गरिनुपर्छ । यसका लागि एक मिनेट समय लाग्न सक्ला । यसैबीच कोरिडोरमा सिसिटिभी जडान गरी भित्रबाट अनुगमन पनि गर्नुपर्छ ।

बेल्ही-सुनौलीजस्ता भिडभाड हुने नाकामा पाँच डेस्क राखियो भने एक घन्टामा तीन सयजना अर्थात् १० घन्टामा ३ हजार यात्रु आवागमन गर्न सक्छन् । रात परेपछि आवागमन नहुने समयमा क्यामेराले खिचेको संख्या गन्ती गरी डिजिटल रूपमा तथ्यांक स्थापना गरिनुपर्छ । यो व्यवस्था भाइरस संक्रमण हुनेबित्तिकैदेखि प्रबन्ध गर्न सकिएको भए भारतबाट आएका आफ्ना नागरिक भारतको दशगजामा भोकप्यासले अलपत्र पर्नुपर्ने थिएन । सबै यात्रुलाई क्रमबद्ध तरिकाले थर्मल गनले परीक्षण गरी संक्रमितलाई क्वारेन्टाइनमा राख्न सकिने थियो । परीक्षण गर्ने सामग्री अभाव भए यात्रुलाई एउटा पर्चा दिन सकिन्थ्यो । त्यसमा ‘तपाईं आफ्नो घर पुगेपछि २१ दिनसम्म सेल्फ आइसोलेसनमा बसी आफ्नो तथा परिवार र समाजको स्वास्थ्य सुरक्षा गर्नुहोस्, भाइरसको लक्षण देखिए स्थानीय पालिका कार्यालयमा सम्पर्क गर्नुहोस्’ भनी जानकारी गराउन सकिने थियो ।

अब भविष्यमा कोरोना भाइरसजस्ता प्रकोप, विध्वंसकारी चलखेल तथा आपराधिक क्रियाकलाप रोक्न र दुवैतर्फका सीमावर्ती जनतालाई शान्ति सुरक्षा प्रदान गर्न सीमालाई नियमन दुवैतर्फबाट गरिए उत्तम हुन्छ । नेपालबाट मात्र गर्न पनि सन् १९५० को सन्धि तथा भारतले अपनाएको परिपाटीले छेक्दैन । मूलतः नेपाल–भारत सीमा बन्द गरिनुहुँदैन । खुला पनि छाडिनुहुँदैन । तर, निश्चित नाकाबाट परिचयपत्र देखाई आवतजावत गर्ने र रेकर्ड राख्ने रेगुलेटेड (नियमन) सीमा व्यवस्थापन अपनाउँदै लैजानु समयसापेक्ष ठहरिन्छ । नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय अधिकारको अभावमा संघीयता असफल : श्यामप्रसाद मैनाली

लोकतन्त्र र सुशासन हदैसम्मको उपहास ! – श्यामप्रसाद मैनाली

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले