सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोभिड चक्कीको सम्भावना – डा. सुभाष पोखरेल

२०७८ मंग्सिर १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुई वर्षअघि देखिएको कोभिड आतंक खोपको आविष्कारपछि नियन्त्रणमा आउला भन्ने आशामा भाइरसका नवीन प्रजातिको आगमनले तुसारापात पार्‍यो।

डेल्टालाई बल्लतल्ल व्यवस्थापन गर्न सफल भएको स्वास्थ्योपचार प्रणाली अफ्रिकामा हालै देखापरेको ओमिक्रोन प्रजातिको पर्वतीय चुनौती सामना गर्न बाध्य छ।

प्रारम्भिक अन्वेषणले ओमिक्रोन अघिल्लो प्रजाति डेल्टाको तुलनामा अधिक संक्रमणकारी देखायो। यद्यपि बिरामीलाई अस्पताल पुर्‍याउने अथवा मृत्युवरण गर्न बाध्य पार्ने सवालमा नवीन प्रजाति कति घातक छ भन्ने विषयको ठोस तथ्यांक आउन बाँकी छ।

ओमिक्रोनको संभाव्य त्रासलाई ध्यानमा राख्दै धेरै देशले आफ्नो भौगोलिक सीमा नियन्त्रण गर्न थाले। नयाँ प्रजातिले कोरोनाको अर्को लहर ल्याउने भएकाले नवीन स्वास्थ चुनौतीको सामना सबैको बाध्यता बनेको छ। एकपछि अर्को प्रजाति आउने शृंखला कहिले अन्त्य हुने कुनै ठेगान छैन।

सामान्य त भाइरसको ओखती बनाउने कार्य निकै चुनौतीपूर्ण हुन्छ। अणुवांशिक पदार्थ परिवर्तनशील आरएनएले बनेको हुँदा कोरोनाले आफ्नो आकृति फेरबदल गरिरहन्छ। यसरी बनोट परिमार्जन गरिरहने भएकाले भाइरसको खाने चक्कीको आविष्कार जटिल हुन्छ। चक्की बनाउने कार्य निकै चुनौतीपूर्ण भएकाले प्रारम्भदेखि नै भाइरसको इलाजमा खोपको प्रयोग भएको छ। अठारौँ शताब्दीको उत्तरार्धमा विकास भएका खोप उपचार विधिमा उल्लेख्य सुधार भएको छ।

प्रारम्भमा पूर्ण आकृतिका निष्क्रिय भाइरसलाई खोपका रूपमा उपयोग गरिने गरेकामा पछिल्लो दिनमा खोपका स्वरूप फेरिएका छन्। आरएनए, प्रोटिन, डिएनए विधिमा आधारित खोप परीक्षण भएका छन्।

अहिलेसम्म उपलब्ध आँकडा कोरोना उन्मूलनको सवालमा भाइरसका चक्कीहरू निकै सकारात्मक देखिए तापनि विगतमा धेरै ओखती बजारमा आइसकेपछि समेत प्रभावकारी नदेखिएका कारण फिर्ता गएको यथार्थ भने बिर्सनु हुन्न।

अझ भन्ने हो भने कोभिड खोप उत्खननका क्रममा अघिल्ला दुई वर्षमा आवधिक अनुसन्धानका सबै आयाम प्रयोग भएका छन्। परिणामस्वरूप एक वर्षको छोटो अवधिमा फर्मास्युटिकल कम्पनीहरू विभिन्न चरित्रका खोप उत्पादन गर्न सफल भएका छन्।

प्रारम्भमा बजार भित्रिएका फाइजर र मोडर्नाका खोपले प्रथम पुस्ताको कोभिड नियन्त्रण गर्न झण्डै शतप्रतिशत सफलता हासिल गरे तर खोप आएको केही समयपछि नै बजारमा डेल्टा प्रजाति आयो। प्रथम चरणमा उत्पादित खोपको प्रभावकारिता घट्यो, डेल्टा प्रजातिका लागि। बुस्टर सट लगाउनुपर्ने संहिता आयो।

यसरी कोरोनाका नयाँ प्रजाति आएपछि खोपमा परिमार्जन आवश्यक हुने देखियो। वैज्ञानिक ज्ञान र अनुभव नियाल्दा गत हप्ता मात्र विश्वले चाल पाएको कोरोनाको ओमिक्रोन प्रजाति नियन्त्रण गर्न प्रचलित खोपको मात्रा तथा चरित्रमा सुधार आवश्यक देखियो। नयाँ प्रजाति आएपिच्छे खोपमा परिमार्जन गर्नु बाध्यता भयो।

बायोलोजिक्स क्लासअन्तर्गत पर्ने खोपको विकास, परीक्षण र उत्पादनमात्र चुनौतीपूर्ण छैन बरु अति ठण्डा भण्डारण आवश्यक पर्ने भएकाले दुर्गम भूभाग तथा गरिब मुलुकका सबै नागरिकको पाखुरामा खोप घोच्ने काम सहज छैन। उल्लिखित परिबन्धलाई विचार गर्दा खोपको मात्र सहारा लिने हो भने संसारलाई कोरोना महामारीबाट जोगाउन असंभव देखियो।

‘आवश्यकता आविष्कारकी जननी’ मेडिकल साइन्समा अझ ज्वलन्त देखिन्छ। कोभिड नियन्त्रणको सवालमा चुनौतीपूर्ण देखिएको खोपको विकल्प दिन वैज्ञानिकहरूले अनुसन्धान थाले। ज्वरो आउँदा खाने सिटामोल चक्कीझैं कोरोनाको लक्षण देखिनेबित्तिकै खाने ट्याब्लेट घर–घरमा पुर्‍याउन सके भाइरस नियन्त्रण सहज हुन्थ्यो नै।

अल्ट्रा लो टेम्प्रेचरमा भण्डारण गर्नुपर्ने खोपको बदला सिटामोल चक्कीझैं पसलबाट किनेर घरमा राखी आवश्यकताअनुसार सेवन गर्न मिल्ने औषधि बनाउन सके संसारलाई कोभिडबाट बचाउन सकिने भएकाले तद्नुरूप अनुसन्धान भएको छ।

नभन्दै महिनौँको अनुसन्धानपछि दुई कम्पनीले आफूले कोरोनाको असरदार चक्की आविष्कार गरेको सार्वजनिक गरेका छन्। क्लिनिकल परीक्षणको तथ्यांक प्रभावकारी देखिएको कारणलाई आधार मानी यसै महिनाको ४ तारिख फर्मास्युटिकल कम्पनी मर्कले उत्पादन गरेको ‘मोलन्युपिरभिर’ लाई बेलायतले आफ्नो देशमा प्रयोगको अनुमति दियो।

संयोग वश त्यसको भोलिपल्टै फाइजरले क्लिनिकल ट्राइलको परिणाम सार्वजनिक गर्दै आफ्नो ओखती ‘प्याक्सलोभिड’ खाँदा अस्पताल भर्ना हुनेको संख्या ८९ प्रतिशतले घट्ने बतायो। सबैभन्दा महत्त्वपूर्ण कुरा त दुई फर्मास्युटिकल हस्ती मर्क र फाइजरका क्लिनिकल ट्राइलमा सफलता हासिल गरेका चक्कीले सांसारिक यथार्थमा समेत समान परिणाम दिएको खण्डमा संसारमा कोभिड महामारीका रूपमा नरहने बरु सामान्य ज्वरोको श्रेणीमा पुग्ने देखिन्छ।

अब, कोरोनाका चक्की कसरी काम गर्छन् र तिनीहरूका चारित्रिक आयाम खोतलौँ। ‘लार्ज मोलिकुल्स’ का खोप भन्दा पृथक चरित्रका कोभिडविरुद्धका चक्कीहरू ‘स्मल मोलिकुल्स’ मा आधारित ओखती हुन। ल्याबमा उत्पादन गर्न सकिने रासायनिक पदार्थ भएकाले सस्तो अनि विशाल ‘रियाक्टर’ को मद्दतले छोटो समयमै संसारको आवश्यकता धान्न सकिने गरी बृहत् परिमाणमा ओखती उत्पादन गर्न सकिन्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त दुई फर्मास्युटिकल हस्ती मर्क र फाइजरका क्लिनिकल ट्राइलमा सफलता हासिल गरेका चक्कीले सांसारिक यथार्थमा समेत समान परिणाम दिएको खण्डमा संसारमा कोभिड महामारीका रूपमा नरहने बरु सामान्य ज्वरोको श्रेणीमा पुग्ने देखिन्छ।

त्यति मात्र होइन, स्मल मोलिकुल्सहरू सामान्य तापक्रममा समेत लामो समयसम्म स्थिर रहने भएकाले भण्डारण र ढुवानीमा कुनै समस्या हुँदैन। सामान्य हिसाबमा भन्दा सिटामोल ट्याब्लेटझैं ओखती पसलबाट किनेर घरको दराजमा राखी कोरोनाको जस्तो लक्षण देखिएपछि आवश्यकताअनुसार खान सकिने भएकाले कोभिड नियन्त्रण गर्न सहज हुने देखियो। मर्कको ओखती लक्षण देखिएपछि केबल ५ दिन सेवन गरे बिरामी पूर्ण ठीक भएको देखियो।

परीक्षणका क्रममा कोरोनाका चक्कीको प्रतिकूल लक्षण नपाइएकाले चिकित्सकीय परामर्शबिना स्वमूल्यांकनकै भरमा सेवन गर्दा पनि फरक नपर्ने हुन्छ। सस्तो, स्थिर र प्रयोगका हिसाबले सहज भएकाले कोरानाका चक्की संसारका कुनाकन्दरामा समेत सहजै पुर्‍याउन सकिने भएकाले कोभिड नियन्त्रणका सवालमा यो ओखती भगवानको आशीर्वाद सावित हुने ठान्छन् जेनाभास्थित संयुक्त राष्ट्र संघको समर्थन प्राप्त संस्था ‘मेडिसिन्स प्याटेन्ट पुल’ का कार्यकारी निर्देशक चार्लस गोर।

सीमित जनसंख्यामा गरिएको क्लिनिकल परीक्षणमा कोरोनाका चक्कीले सकारात्मक परिणाम दिए पनि ठूलो जमातमा प्रयोग गर्दा ओखतीले त्यही तहको परिणाम नदेला कि भनी चिन्ता हुनु अन्यथा होइन। ओखतीमा प्रयोग भएका रासायनिक पदार्थको चरित्रका आधारमा कोभिडका चक्कीले महामारी नियन्त्रणमा पार्न सक्ने प्रभावको चर्चा सान्दर्भिक देखियो।

संक्रमणपछि कोरोनाको संख्या बढ्न भाइरल अणुवांशिक पदार्थ, आरएनएको त्रुटिविहीन अभिवृद्धि आवश्यक पर्छ। मेसिनरूपी ‘आरएनए डिपेन्डेन्ट आरएनए पोलिमिरेज’ ले भाइरसको अणुवांशिक पदार्थका असंख्य हुबहु प्रति बनाउँछ। आरएनएको संख्या भाइरसको आयतन बढ्छ, संक्रमणको असर अभिवृद्धि हुन्छ,बिरामी जीर्ण बन्छ। कदाचित पोलिमिरेजले भाइरल आरएनएको हुबहु प्रति बनाउन सकेन भने कोभिडको तेज घट्दै जान्छ, भाइरस नासिन्छ।

भाइरस साइकलको यही मान्यतालाई भाइरसका ट्याब्लेटका अनुसन्धानकर्ताले प्रयोग गरेका हुन्। ओखतीले आरएनए पोलिमिरेजको त्रुटिरहित आरएनएका कपी बनाउने शक्तिलाई निस्तेज गर्छ। परिणामस्वरूप असंख्य कमसल त्रुटिपूर्ण अणुवांशिक पदार्थ बन्छन्।

खराब अणुवांशिक पदार्थ उत्पादन भएपछि भाइरसले आफ्नो पहिचान नास गर्छ, कोभिड हराउँछ। मानिसको अणुवांशिक पदार्थ आरएनएको बदला डिएनएमा आधारित भएकाले मान्छेमा कोरोनाको ओखतीले प्रतिकूल असर नपार्ने देखियो।

प्रजाति नै पिच्छे कोरोनाका खोप परिमार्जन गर्नुपर्ने भएकाले भाइरसका चक्कीले सबै पुस्ताका कोभिडलाई बिसेक पार्छ कि पार्दैन भन्ने प्रश्न अस्वाभाविक होइन। कोरोनाका चक्कीले आरएनए बन्ने प्रक्रियालाई त्रुटिपूर्ण बनाउने भएकाले सबै प्रजातिका लागि यो विधि उत्तिकै प्रभावकारी हुने देखियो। अनि, मर्कले आफ्नो ओखती अरिजनललगायत डेल्टा, बेटालगायतका प्रजातिको हकमा समेत उत्तिकै प्रभावकारी भएको तथ्यांक प्रस्तुत गरेको हुँदा भविष्यमा देखिन सक्ने प्रजातिका कोभिडलाई पनि यो मेडिसिनले बिसेक पार्ने देखियो।

ढुवानी तथा भण्डारणका हिसाबले जटिल देखिएका कोरोनाका खोप महँगा भएकाले गरिब मुलुकले धान्न नसक्ने देखिए। एकपल्ट खोप दिन त कठिन भएको अवस्थामा विपन्नका लागि प्रजातिपिच्छे परिष्कृत खोप लगाउन असम्भव देखिएको छ। एक देश र क्षेत्रका नागरिकको पहुँचमा मात्र पुग्ने खोपले महामारी नियन्त्रण गर्न सक्दैन।

तसर्थ, कोरोना नियन्त्रणका लागि सहज र सस्तो ओखतीको भूमण्डलीय पहुँच आवश्यक पर्छ। त्यसै सन्दर्भमा मर्कले आफ्नो ओखती मोलन्युपिरभिरका लागि विपन्न मुलुकले सहुलियत दरमा किन्न पाउने अनि विकसित देशले अधिक पैसा तिर्नुपर्ने गरी संझौता गरेको छ तर सहमतिको मसी सुक्न नपाउँदै औषधि उत्पादक कम्पनीले विभिन्न विपन्न मुलुकमा समेत मोलन्युपिरभिरको उत्पादन सुरु गरे। त्यस्तै ढाँचाको संझौताका लागि फाइजरले समेत मैखिक सहमति जनाइसकेको अवस्थामा छिटै नै संसारका सबै नागरिकका  पहुँचमा कोभिडको ओखती पुग्ने आशा गरिँदैछ।

क्लिनिकल तथ्यांकले भाइरसको लक्षण देखिनेबित्तिकै चक्की ख्वाउन सके कोभिडबाट अशक्त भई अस्पताल जानु नपर्ने बरु रोगबाट सहजै छुटकारा पाउन सकिने भन्छ। सिटामोलझैं सहजै घरमा सेवन गर्न सकिने अनि स्मल मोलिकुल्समा आधारित ओखती भएकाले ओखतीको ढुवानी तथा भण्डारण सहज हुन्छ।

अन्वेषणकर्ताले सम्झौतामार्फत संसारका धेरै कम्पनीलाई उत्पादनको अनुमति दिएको हुँदा छोटो समयमै यथेष्ट परिमाणमा उत्पादन भई कुनाकन्दराका बासिन्दाको हातमा औषधि पुग्ने भएकाले निकट भविष्यमै कोभिड सामान्य रुघाखोकीको तहमा पुग्ने देखिन्छ।

अहिलेसम्म उपलब्ध आँकडा कोरोना उन्मूलनको सवालमा भाइरसका चक्कीहरू निकै सकारात्मक देखिए तापनि विगतमा धेरै ओखती बजारमा आइसकेपछि समेत प्रभावकारी नदेखिएका कारण फिर्ता गएको यथार्थ भने बिर्सनु हुन्न। नागरिक दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले

राष्ट्रिय सभालाई नजरअन्दाज : खिमलाल देवकोटा

प्रदेशको हातखुट्टा बाँधेर संघीयता बलियो हुँदैन : पृथ्वीसुब्बा गुरुङ