काठमाण्डौंः डीबी नेपाली ‘दमु’ को पुस्तक ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कृति प्रकाशित गरिएको विभाग प्रमुखसमेत रहेका उपकुलपति जगमान गुरुङले बताएका छन ।
उनका अनुसार लेखकले गण्डकी प्रदेशमा बसोबास गर्ने कामी, दमाई, सार्की आदि शिल्पी समुदायमा परम्परादेखि प्रचलित तर अहिलेसम्म ओझेलमा परिरहेको मन्त्र सम्पदाको स्थलगत खोज–अनुसन्धान गरी पुस्तक तयार पारेका हुन् ।
‘पुस्तकले प्रज्ञा प्रतिष्ठानको समावेशी एवं समन्वयात्मक नीतिलाई प्रकाश पारेको छ,’ उनले भने, ‘जनस्तरमा प्रचलित महत्त्वपूर्ण सम्पदाहरूलाई समाजसमक्ष प्रस्तुत गर्दा दीर्घकालसम्म रहन्छ ।’
