सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यिनका बारेमा राजा पहिल्यै जानकार ! – देवप्रकाश त्रिपाठी

२०७८ मंग्सिर २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मार्क्स, लेनिन र माओसँग सङ्गत गर्ने अवसर नपाएका भए पनि नेपालका कम्युनिष्टहरू श्रद्धाका साथ तिनको नाम लिन्छन्, दर्जनौँ टुक्रामा विभाजित हुनुपर्दा पनि कम्युनिष्टहरूले माक्र्स लेनिन र माओलाई त्यसनिम्ति जिम्मेवार ठहर गरिरहेका हुँदैनन्, बरु आत्मसमीक्षा गर्छन् र आफूलाई सच्याउँदै अघि बढ्छन् । तर तीन दशकभन्दा लामो समयदेखि राजा-महाराजाको सङ्गत पाएर पनि ‘पञ्च’हरूले राजाबाट केही पनि सिकेका रहेनछन् भन्ने तथ्य राप्रपा नामक पार्टीका निवर्तमान अध्यक्षले उजागार गरिदिएका छन् । ‘पञ्च’हरूको व्यक्तित्व राजाको निगाहबाट उठेको हो, उनीहरूलाई राजाले हात समातेर भऱ्याङ चढाउँदै ‘शासक’ हैसियतमा पुऱ्याइदिएका हुन् ।

कुनै समय राजाको सक्रिय नेतृत्व र निर्दलीय राजनीतिक प्रणालीको अविच्छिन्न प्रवक्ता जस्ता लाग्ने ‘पञ्च’हरू २०४६ सालमा बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्था प्रारम्भ हुने बित्तिकै रातारात बहुदलवादी बने, संवैधानिक राजतन्त्रको ब्याख्याताका रूपमा देखापर्न थाले । त्यसबेला ‘पञ्च’हरू ‘दल’ बनेर राजनीतिक सक्रियतामा सामेल हुँदा पनि उनीहरूलाई निर्दलियता र सक्रिय राजतन्त्रका पक्षमा उभिने सुविधा थियो । २०७२ सालको जस्तो गैह्र प्रजातान्त्रिक संविधान २०४७ सालको थिएन । प्रजातन्त्रविरुद्धका विचार-दर्शन अङ्गिकार गर्नेहरूलाई समेत आफ्नो विचारअनुरूपको दल दर्ता गर्ने छुट त्यसबेला थियो । जबकि अहिले सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र र जातिवादविरुद्धका एजेण्डासहित दल दर्ता हुन सक्दैन । यस्तो संविधानलाई विश्वकै उत्कृष्ट भएको सन्देश पनि ‘पञ्च’बाट नै प्रवाह भएको हो ।

निर्दलियता र राजाको सक्रिय नेतृत्वका हिमायती पञ्चहरू २०४६ पछि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खाँटी समर्थकका रूपमा देखापरे, अवसरवाद र आत्मकेन्द्रित चरित्रको प्रकटिकरण भए पनि त्यतिसम्म बदलिनुलाई स्वभाविक मान्न सकिएला, तर २०६३ को परिवर्तनपश्चात त पञ्चहरू गणतन्त्रवादी बन्न पनि हिचकिचाएनन् । गणतन्त्र नै लज्जित हुने स्तरमा पञ्चहरूको गणतन्त्रवाद नेपाली राजनीतिमा पानीमाथिको तेल बनेर बसिरह्यो । एउटा थापा खुलेर गणतन्त्रको वकालत गर्न अग्रसर भए भने अर्को थापा ‘मुखमा राम-राम बगलीमा छुरा’को उक्ति चरितार्थ हुने शैलीमा प्रकट भए । हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको नारा लगउँदै संविधानसभामा पुग्ने र, धर्मनिरपेक्षतासहितको सङ्घीय, जातिवादी, गणतन्त्रात्मक संविधान निर्माणमा सक्रिय सहभागिता जनाइसकेपछि पनि हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डासहित जनताबीच जान खोज्ने ‘विशिष्ट क्षमता’ कमल थापाले दर्शाएका हुन् । नेपाली जनता ‘बेबकूफ’ होइनन्, तर जनतालाई बेबकूफ बनाउन सक्नेहरूको राज चलिरहेका बेला कमल थापाले पनि आफ्नो ‘क्षमता’ देखाइदिए । अन्तर के मात्र हो भने कम्युनिष्टहरूले जनवाद, समाजवाद र साम्यवादमा आस्था राख्नेहरूलाई तथा अर्का एकथरीले प्रजातन्त्रवादमा विश्वास गर्नेहरूलाई धोखा दिएका थिए, कमल थापाहरूले धर्म, संस्कृति, राष्ट्रियता, राष्ट्रिय एकता र समग्रमा राष्ट्रवादीहरूलाई धोखा दिए । यस अर्थमा काङ्ग्रेस र कम्युनिष्ट भन्दा ज्यादा घातक कमल थापाहरूलाई मान्न सकिन्छ, जसले देशभक्त-राष्ट्रवादी कित्तालाई धोखा दिएका थिए ।

सोनिया गान्धीको भारतसमेत कम्युनिष्टको पक्षमा कहिल्यै थिएन, तर माओवादीहरूको उत्थानमा उनीहरूको निर्णायक भूमिका रह्यो । पश्चिमी मुलुकमा कम्युनिष्ट शब्दको प्रयोग प्रायः गालीका रूपमा हुने गर्छ । तर नेपालमा पश्चिमा शक्तिले ‘कम्युनिष्ट क्रान्तिकारी’हरूलाई अघि लगाएर आफ्ना एजेण्डा संस्थागत गरेका हुन् । जसरी कम्युनिष्ट र क्रान्तिको आवरणमा कम्युनिष्टविरोधीहरूले कम्युनिष्टलाई प्रयोग गर्दै आएका छन्, त्यसैगरी कमाण्ड आफ्नो हातमा राखेर पश्चिमाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डामा पनि काम गर्दै आएका हुन्/छन् ।

बाह्य चासो अधिक भएको हाम्रोजस्तो मुलुकको प्रशासनिक, राजनीतिक र सार्वजनिक महत्वका अन्य क्षेत्रमा क्रियाशील मानिसहरूको सक्कली नियत बुझ्न निकै कठिन हुन्छ । कपटीहरूले आफ्नै विरुद्धको एजेण्डामा पनि काम गरिरहेका हुन्छन् र तर त्यसको कमाण्डचाहिँ आफैं सम्हालिरहेका हुन्छन् । सोनिया गान्धीको भारतसमेत कम्युनिष्टको पक्षमा कहिल्यै थिएन, तर माओवादीहरूको उत्थानमा उनीहरूको निर्णायक भूमिका रह्यो । पश्चिमी मुलुकमा कम्युनिष्ट शब्दको प्रयोग प्रायः गालीका रूपमा हुने गर्छ । तर नेपालमा पश्चिमा शक्तिले ‘कम्युनिष्ट क्रान्तिकारी’हरूलाई अघि लगाएर आफ्ना एजेण्डा संस्थागत गरेका हुन् । जसरी कम्युनिष्ट र क्रान्तिको आवरणमा कम्युनिष्टविरोधीहरूले कम्युनिष्टलाई प्रयोग गर्दै आएका छन्, त्यसैगरी कमाण्ड आफ्नो हातमा राखेर पश्चिमाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डामा पनि काम गर्दै आएका हुन्छन् ।

नेपाल विश्वमै सर्वाधिक द्रुत गतिमा इसाइकरण भइरहेको मुलुकमध्ये पर्दछ र उनीहरूले सन् २०३० सम्ममा इसाइहरूको ‘लार्जेस्ट पपुलेसन’ बनाउने लक्ष्य लिएको बुझिन्छ । इसाइहरूको सङ्ख्या सर्वाधिक रहेको यकीन भइसकेपछि जनमत सङ्ग्रहमार्फत नेपाललाई इसाइराष्ट्रको पहिचान दिने उनीहरूको योजना हो, तर यतिबेला हिन्दूराष्ट्रको एजेण्डमै जनमत सङ्ग्रहको माग गराइएको छ र, यस्तो माग त्यतिबेला पूरा गर्न बाध्य तुल्याइने छ, जतिबेला इसाइहरूको सङ्ख्या बहुमतमा पुगेको विश्वास ‘उनीहरू’लाई हुनेछ । बाह्य रणनीतिकारहरू ‘गोर्खाली शैली’मा सिधा बाटो हिँड्दैनन्, बाङ्गोटिङ्गो बाटो बनाएर मानिसलाई अलमल्याउने उनीहरूको काइदा नै हो । पश्चिमा शक्तिको चासो हिमालय र पहाडी क्षेत्रमा छ, उनीहरूलाई आवश्यक परेको हिमाली या पहाडी भूखण्ड नै भएको कुराका शङ्का गर्नुपर्ने पनि छैन । तर उत्तर ताक्न उनीहरूले दक्षिण सोझ्याएका छन् । देश विभाजनको एजेण्डासहित मधेशमा मान्छे खटाइँदा आमनेपालीको ध्यान दक्षिणतिर मोडिन्छ र ‘उत्तर’ शिकार गर्ने कार्य सहज हुन सक्छ भन्ने तिनको बुझाइ हुनुपर्छ । आकाशको चिल देखाएर भूइँको कुखुरा टिप्ने पश्चिमी चाल बुझ्न सकिएन भने नेपालीले अब प्राप्त गर्ने भनेको केवल दुःख र हैरानी मात्र हो ।

हिन्दूराष्ट्र र राजतन्त्रको विषयलाई जनमत सङ्ग्रहमार्फत टुङ्गो लगाउन माग गर्ने प्रथम राजनीतिजीवी कमल थापा हुन् । अचेल अन्य विभिन्न आकार प्रकारका झुण्डहरूबाट पनि हिन्दूराष्ट्र र राजाका विषयमा जनमत सङ्ग्रह हुनुपर्ने माग रहस्यमयी ढङ्गबाट अघिसर्न थालेका छन् । यसले आमजनतामा एउटै मुद्दा धारण गर्ने सबै उस्तै हुन् भन्ने भ्रम पैदा गराएको छ । सन् पचासको दशकमा नागाल्याण्ड छिरेको युएमएनले दश वर्षभित्र साठी प्रतिशत भन्दा बढी नागाहरूलाई इसाइमा रूपान्तरण गरिसकेपछि पश्चिमाहरूले बाइबलका साथसाथै बम र बन्दूक उपलब्ध गराएर बेग्लै राज्य माग्न सिकाएका थिए । अङ्ग्रेज आफैं भारत छोडेर भाग्नुपर्ने अवस्था उत्पन्न भएकोले नागाल्याण्डमा जनमत सङ्ग्रहमार्फत विभाजन ल्याउन समय रहेन । त्यसैले भारत स्वतन्त्रताको घोषणा हुनुभन्दा एकदिन पहिले (अगस्ट १४मा) नै अङ्ग्रेजहरूले नागाल्याण्ड स्वतन्त्र भएको घोषणा गरिदिएका थिए । पछि उक्त भूखण्ड समाहित गर्न स्वतन्त्र भारतले धेरै ठूलो सङ्घर्ष गर्नुपरेको थियो । नाइजेरिया र सुडानलगायतका मुलुकहरू जसले लामो समयदेखि सास्ती पाइरहेका छन्, त्यसको प्रारम्भ इसाइकरणबाट भएको थियो ।

२०६३ को लगत्तै कमल थापाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा अवश्य उठाएका हुन् । यी मुद्दाका पक्षमा बलियो जनमत भए पनि त्यसलाई उजागर गरिदिने राजनीतिक व्यक्तित्वको ठूलो अभाव थियो र, त्यस्तो अभावको पूर्ति कमल थापाले अवश्य गरेका हुन् । तर उनले यस्तो एजेण्डा राजसंस्थासहितको हिन्दूराष्ट्र स्थापनाका निम्ति ग्रहण गरेका थिए भन्ने कतैपट्टीबाट पनि पुष्टि हुन सक्दैन । उक्त एजेण्डाको जगमा एउटा दल स्थापित गर्ने र आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने बाहेकको अर्को कुनै उद्देश्य भएको उनको शैली र व्यवहारले पुष्टि गर्दैन ।

यहाँ पनि उत्तरी नेपालको इसाइकरण करिब सम्पन्न भइसकेको छ । बौद्ध गुम्बाहरू गिर्जाघरमा रूपान्तरित गरिएका छन् या बङ्करमा । तामाङहरूको बाहुल्य रहेको धादिङको उत्तरी क्षेत्रको पाँच गाउँ विकास समिति मिलाएर ‘पहिचानवादी’हरूले ‘रुबी भ्याली’ गाउँपालिका नामाकरण गरेका कारणले मात्र नेपालको उत्तरी क्षेत्र इसाइको कब्जामा परेको भनिएको होइन, उत्तरको धेरै ठूलो भू-क्षेत्रमा उनीहरूले आफ्नो पकड कायम गरिसकेका छन् र, यसो गर्न वर्तमान संविधान तथा सत्ताले प्रोत्साहन एवम् संरक्षण दिइरहेको छ । सीके राउतले देश विखण्डनका निम्ति दोस्रो ‘इनिङ’ शुरु गरेलगत्तै उत्तर विखण्डनको आवाज उठाइने प्रबल सम्भावना छ ।

वर्तमान संविधान र सत्तालाई कतैबाट खतरा छ भने त्यो नेपाली राष्ट्रवादीहरूबाट छ र, हिन्दूराष्ट्रको मुद्दा रोगी तुल्याउन एकसाथ अनेकौँ चाल चालिएको रहस्य आमनेपालीले बुझ्न नसकेकोले पनि मुलुक असीमित जटिलतामा जकडिन पुगेको हो । हिन्दूराष्ट्रकै एजेण्डा बोकाएर आफ्ना मानिसलाई परिचालन गरिएको र, जनमत सङ्ग्रहमार्फत मूल राजनीतिक मुद्दाहरूको टुङ्गो लगाउनुपर्छ भनिनुको रहस्य मात्र बुझियो भने पनि हाम्रो समस्याको श्रोत पहिचान हुनेछ । २०६३ सालपछि नेपालका सर्वाधिक सुविधासम्पन्न एवम् समृद्ध साँस्कृतिक समुदाय नेवारलाई तिलस्मी शैलीमा ‘जनजाति’ घोषित गरियो र, त्यसलगत्तै जनजाति र मधेशी एकताको नारा धुवाँधार किसिमबाट अघि सारियो । जनजाति र मधेशीको नश्ल, धर्म, संस्कृति, खाना, भेषभूषा, परम्परा, रहनसहन र जीवनशैली मात्र होइन, तिनको समस्या र समाधान पनि भिन्न छन् । भविष्यमा जातीय द्वन्द्व गराउने खोटो नियतको परिणाम थियो त्यो, निश्चित जातिविरुद्धको मोर्चाबन्दीका रूपमा त्यसलाई बुझियो भने पनि नेपाली राजनीतिभित्र हुर्किएको कपटी चालको रहस्य स्पष्ट हुन्छ ।

त्यसैले हिन्दूराष्ट्र र राजसंस्था पुनः स्थापनाको मुद्दा बोक्ने सबैलाई देशभक्त राष्ट्रवादीका रूपमा बुझ्नु उपयुक्त हुँदैन । तिनको पृष्ठभूमि, विचार–सिद्धान्तमा स्थिरता र नियत एवम् व्यवहारको अध्ययनपश्चात मात्र उचित निष्कर्षमा पुग्न सकिन्छ । २०६३ को लगत्तै कमल थापाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा अवश्य उठाएका हुन् । यी मुद्दाका पक्षमा बलियो जनमत भए पनि त्यसलाई उजागर गरिदिने राजनीतिक व्यक्तित्वको ठूलो अभाव थियो र, त्यस्तो अभावको पूर्ति कमल थापाले अवश्य गरेका हुन् । तर उनले यस्तो एजेण्डा राजसंस्थासहितको हिन्दूराष्ट्र स्थापनाका निम्ति ग्रहण गरेका थिए भन्ने कतैपट्टीबाट पनि पुष्टि हुन सक्दैन । उक्त एजेण्डाको जगमा एउटा दल स्थापित गर्ने र आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने बाहेकको अर्को कुनै उद्देश्य भएको उनको शैली र व्यवहारले पुष्टि गर्दैन । पहिलो संविधानसभामा कमल थापाहरूको उपस्थिति अत्यन्त दुर्बल अर्थात एक प्रतिशतभन्दा न्यून थियो । उनको प्रस्तुति र व्यवहार पनि घुमाएर तत्कालिक सत्तापक्षलाई सहयोग पुऱ्याउने प्रकारको नै रह्यो । संविधानसभाको दुईवर्षे कार्यकाल सकिनै लाग्दा कमल थापा तित्रा झैँ चिच्याउन थाले- ‘कुनै पनि हातलमा संविधानसभाको अवधि थप गर्न दिइन्न ।’ ६०१ जनाको संविधानसभामा चार जना सदस्य रहेको राप्रपाले कुनै निर्णायक प्रभाव पार्न सम्भव थिएन । तथापि, कमल थापा चिच्याइरहे- ‘म्याद थप्न दिइन्न ।’ यसरी कमल चिच्याउनुको सिधा सङ्केत हुन्थ्यो- जसरी भए पनि संविधानसभाको अवधि थपिनुपर्छ ।

यदि म्याद थपेर भए पनि संविधान बनाइनुपर्छ भन्ने अभिव्यक्ति थापाले दिएका भए त्यसको अर्कै अर्थ लाग्न सक्थ्यो । त्यसताक कमल थापाको बोलीलाई राजाकै बोली ठानिन्थ्यो, उनले संविधानसभाको अवधि थप गर्न नहुने अभिव्यक्ति दिन थालेपछि कम्युनिष्ट-काङ्ग्रेसका नेताहरू ‘जसरी भए पनि संविधानसभाको कार्यकाल थप गरिनुपर्छ’ भन्ने निष्कर्षमा पुगे ।

राजाका अगाडि उभिएर सचिवले दिएको जवाफबाट म आश्चर्यमा परेँ । कमल थापालाई हामीले राजाका खास मानिसका रूपमा बुझेका थियौँ, राजा स्वयम्को मुखारबिन्दबाट थापाका बारेमा कुनै टिप्पणी नभए पनि मौसुफका अघिल्तिर उभिएर सचिवले दिएको जवाफमा राजाको ‘स्वामित्व’ हुँदै नभएको भन्न नमिल्ला । यस घटनापश्चात मैले कमल थापालाई सन्देहास्पद दृष्टिले हेर्न थालेको थिएँ ।

पहिलो संविधानसभाको दुईवर्षे कार्यकाल समाप्त हुन तेह्र साता बाँकी थियो, निवर्तमान बडामहारानी कोमलको साठीऔँ जन्मदिवसको अवसरमा निर्मल निवासमा २०६६ फागुन ७ गते दिवा भोजको आयोजना गरिएको थियो । करिब एक सयको हाराहारीमा आमन्त्रितहरू बडामहारानीलाई शुभकामना दिन उपस्थित भएका थिए । पौने दुई वर्षअघि मात्र गणतन्त्र घोषणा गरिएको हुँदा त्यसताक राजाका पक्षमा सकारात्मक वातावरण बन्न सकेको पनि थिएन । निर्मल निवासको बगैँचामा राजा ज्ञानेन्द्र घुम्दै आगन्तुकहरूसँग वार्तालाप गर्दै हुनुहुन्थ्यो । त्यसैबीच महाराजाधिराजलाई अलिक दूरीमा एक्लै उभिएको देखेपछि मैले उहाँसँग कुराकानी गर्ने विचारका साथ अघि बढेँ । म पुग्दै गर्दा राजाका छेउमा उहाँका एक सचिव पनि उभिन आइपुगे । मैले राजासँग कमल थापाको भूमिका र शैली राजालाई सहयोग पुऱ्याउने प्रकारको नरहेको बताउँदै जिज्ञाशा राखेँ- ‘सरकार, कमल थापा मौसुफको मार्गदर्शनअनुसार चल्छन् या के गर्छन् ? यिनी कस्ता मानिस हुन् ? मेरो प्रश्नमा राजा मुस्कुराउनुभयो र, नजिकै उभिएका सचिवतिर हातले देखाउँदै भन्नुभयो- ‘I think you have to ask him’ (मलाई लाग्छ, तिमीले यो प्रश्न उहाँलाई सोध्नुपर्छ ।’) मेरो प्रश्न र राजाको जवाफ सचिवले सुनिरहेका थिए । मैले भनेँ- ‘लौ सचिवज्यू, मेरो जिज्ञाशा र सरकारको जवाफ सुनिहाल्नुभयो, अब हजुरले बताउनुपर्ने भयो कमल थापाका बारेमा !’

सचिवले ढिला नगरिकन भने- ‘कमल थापालाई हिन्दूराष्ट्र र राजसंस्थाचाहिँ चाहिएकै छैन, उसलाई चाहिएको के हो भन्ने हजूरहरूले नै पत्ता लगाउनुपर्ला ।’ राजाका अगाडि उभिएर सचिवले दिएको जवाफबाट म आश्चर्यमा परेँ । कमल थापालाई हामीले राजाका खास मानिसका रूपमा बुझेका थियौँ, राजा स्वयम्को मुखारबिन्दबाट थापाका बारेमा कुनै टिप्पणी नभए पनि मौसुफका अघिल्तिर उभिएर सचिवले दिएको जवाफमा राजाको ‘स्वामित्व’ हुँदै नभएको भन्न नमिल्ला । यस घटनापश्चात मैले कमल थापालाई सन्देहास्पद दृष्टिले हेर्न थालेको थिएँ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनको विजयपश्चात कमल थापाले राजाका बारेमा जुन स्तरको टिप्पणी गरे, त्यसले तीन दशकभन्दा बढी समयसम्म राजा र राजपरिवारको सान्निध्यमा रहेर पनि थापाले संस्कार सिक्न सकेका रहेनछन् भन्ने स्पष्ट गरेको छ । राजाले कमल थापालाई जसरी चिन्नुभएको थियो त्यो सही भएको पनि पुष्टि भएको छ ।

राजा ज्ञानेन्द्रको श्रीपेच खोसियो, पुर्खाको विरासत चुँडियो, शान-मान मात्र नभइ उहाँको हातबाट राज्य नै खोसियो, तर राजाले कसैलाई चोट पुग्ने प्रतिक्रिया जनाउनुभएन, न कसैसँग गुनासो नै गर्नुभयो । यता कमल थापाले भने अवसरवाद र आत्मकेन्द्रित संस्कृतिमा चुर्लुम्म डुबेको एउटा सामान्य दलको अध्यक्ष पद गुमाउँदा देशै थर्किनेगरी रुवाबासी गरे । पराजयका निम्ति आफू र आफ्नो सन्देहास्पद भूमिकालाई नभइ निर्मल निवासमा चुपचाप बसिरहनुभएका राजालाई दोष दिन पुगे, शायद यस्तै प्रवृत्तिलाई मण्डले भन्नुपर्ने हुन्छ ! जय मातृभूमि !- घटना र बिचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले

राष्ट्रिय सभालाई नजरअन्दाज : खिमलाल देवकोटा

प्रदेशको हातखुट्टा बाँधेर संघीयता बलियो हुँदैन : पृथ्वीसुब्बा गुरुङ