सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माघ १२ गते हुने राष्ट्रियसभाको चुनावको परिणाम हाम्रा लागि नकारात्मक नै हुन्छ। – केपी शर्मा ओली (अन्तवार्ता)

२०७८ पुष २५, आइतबार

दसौं महाधिवेशनबाट पार्टीको नेतृत्व तपाईंको काँधमा पुनः आइपुगेको छ। पार्टीलाई नयाँ ढंगले कसरी अघि बढाउन चाहनु भएको छ ?

सबैभन्दा पहिले, पार्टी किन चाहियो भन्ने कुरा बुझ्नुपर्‍यो। देशमा सकारात्मक परिवर्तन ल्याउन, विकसित र समृद्ध देश बनाउन पार्टी चाहिन्छ। हाम्रा प्रयासहरू संगठित हुनुपर्‍यो। संगठित प्रयासलाई नेतृत्व गर्न पार्टी चाहिन्छ।

पार्टी कसरी बन्छ त भन्दा उद्देश्यहरू, विचारहरू अंगीकार गर्नुपर्‍यो। विचारहरू धागोमा उनिएपछि त्यो माला चाहिँ पार्टी बन्छ। किनभने व्यक्ति–व्यक्तिहरू संगठित भएर समूह बन्ने हो, पार्टी बन्ने हो। संस्था पनि यसरी नै बन्ने हो। मैले विचारमा आधारित, गन्तव्यतिर स्पष्ट र उन्मुख मात्र नभई त्यसमा पुग्ने सही बाटो  निक्र्योल गर्दै चलायमान भएको पार्टी बनाउने हो। अनुशासित, कर्तव्यबोध एवं जिम्मेवारीबोध गरेको र उत्तरदायित्व लिएको पार्टी बनाउने हो।

समृद्ध नेपाल सुखी नेपालीको रोडम्याप भन्दै आउनुभएको छ, त्यहाँ पुग्ने दिन कहिले आउँछ ?

रातारात पुग्छ म भन्दिनँ। राष्ट्र निर्माणको कुरा हो यो। रोम पनि एक दिनमा बनेको थिएन। शताब्दीऔं लागेको थियो। आजको समय अत्यन्त तीव्र विकासको समय हो, साधनस्रोत पर्याप्त छ। त्यसैले छिटो गर्न सक्छौं। राम्रो गर्न सक्छौं। बलियो गर्न सक्छौं। आकर्षक बनाउन सक्छौं। हिजोको भन्दा। यी सुविधायुक्त समयमा मानवीय श्रमशक्ति कम लाग्ने, मेसिनको प्रयोग गर्न सकिने र प्रविधिको पनि प्रयोग हुने भएकाले छिटो र अप्ठ्यारो काम पनि सजिलोसँग गर्न सक्छौं।

समृद्ध नेपाल सुखी नेपाली नारामै सबैको सहमति देखिँदैन नि ? 

कतिपय मान्छेहरू हामीले भन्ने गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारा त्यति बुझ्दैनन्। हामीले एउटा नारा दियौं, अब त्यो काट्न सकिने नारा छैन। तर, केहीलाई बोक्न मन लाग्दैन। किनकि, उनीहरूको चित्त सानो छ। हाम्रो नारालाई केही यताउति पारेर ‘सम्पन्न नेपाल, सम्मानित नेपाली’ भनेर नारा दिन खोजे। यो बेग्लै हो, यो फरक हो, भन्नुपर्ने बाध्यतामा छन्।

नारा नै मान्नु नपर्ने कारण के रहेछ ?

डार्बिन पनि नेपाली हुन्थे भने उनको सिद्धान्त नेपालीले मान्दैनथे। आइन्सटाइनको सिद्धान्त पनि नेपालीले मान्दैनथे ती नेपाली हुन्थे भने। उनीहरू विदेशी भएको हुनाले मान्छन्। हाम्रा विद्वानहरूले, आर्यभट्टले छैटौं शताब्दीमा नै विज्ञानका थुप्रै सिद्धान्तहरू आविष्कार गरेका थिए। उनीहरूले खगोल, गणित र ज्ञानका सन्दर्भमा असाधारण आविष्कार गरेका थिए। यही भू–भागको भएको हुनाले उनीहरूलाई मान्न हामीलाई गाहे छ। हाम्रा विद्वानहरूले पत्ता लगाएको एक हजार वर्षपछि बल्ल हामीले ‘सूर्यको वरिपरि पृथ्वी घुम्छ’ भन्ने कुरा मान्यौं। भाष्कराचार्य द्वितीयले पत्ता लगाएको पाँच सय वर्षपछि न्युटनले गुरुत्वाकर्षणसम्बन्धी नियम पत्ता लगाए। न्युटनले भनेपछि ‘ए अँ’ भन्दै हामीले मान्यौं। तर, छैटौं शताब्दीको आर्यभट्टले ग्राइभेटेसन पत्ता लगाए भन्ने कुरा हाम्रा कोर्सका कुनै किताबमा उल्लेख गरेनौं।

यदि विदेशी कसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाओ बाबुहरू भनिदिएको भए, हामीले एकदम मान्थ्यौं क्या। सबै पार्टीले सर्वसम्मतिले मान्थ्यौं। तर यहाँ, नेपालीले भन्यो। नेपालीले भनेपछि समृद्ध नेपाल, सुखी नेपाली पनि हुनुहुन्छ र ? त्यो गलत छ। त्यसकारण सम्पन्न नेपाल, सम्मानित नेपाली हुनुपर्छ भन्नेतिर केही मान्छेहरू लागे।

त्यसरी तर्किनुपर्ने कारण के त ? 

एउटा कथा सुनाउँछु। एउटा मान्छे, नचाहिने काम मात्रै गर्ने रहेछ। राम्रो हुन्छ, पुण्य कर्म हुन्छ भन्यो कि, त्यो गर्दै नगर्ने। एकपटक त्यो मान्छे साह्रै बिरामी परेछ। बित्ने नै अवस्था आएपछि त्यो मान्छेलाई एकपटक भगवान्को नामसम्म लिन लगाउनुपर्‍यो भनेर उसका अभिभावकले सल्लाह गरेछन्। त्यसो भयो भने ‘वैतरणी पार’ तथ्र्यो कि ? उसका पाप कट्थे कि ? भन्नेमा अभिभावक थिए। उनीहरूले, काँक्रो खान लगाउने जुक्ति निकाले। उसको मुखबाट ‘हरियो काँक्रो’ भन्ने शब्द उच्चारण गर्न लगाइयो भने ‘हरि’ शब्द त आउँछ भन्नेमा अभिभावक थिए। ‘बाबु कस्तो काँक्रो खान्छस् ?’ भनेर सोधे। उसले– कांँक्रो खान्छु मात्रै भन्छ। ‘कस्तो ? भन्यो कि ‘हरियो’ त भन्दै नभन्ने। अभिभावकले धेरै नै कर गरेपछि उसले भनेछ , ‘फुस्रो काँक्रो’।  जे जति गर्दा पनि हरियो भन्नै मानेन। किनकि, त्यहाँ ‘हरि’ आउँथ्यो। हाम्रो मानसिकता ठ्याक्कै यस्तो छ। समृद्ध नेपाल, सुखी नेपाली भन्न तयार छैनन्।

तपाईंले कामलाई भन्दा नारालाई प्राथमिकता दिएकाले हो कि ?

पहिलोपटक म प्रधानमन्त्री हुँदा ५० करोड सदरमुकामलाई बजेट छुट्ट्याउन लगाएँ। सहरीकरण र नगरपालिकाको विकासका लागि करोडौंको बजेट छुट्ट्याई दिएपछि सहरहरू बेग्लै बने। राजमार्गबाट मुख्य सहर र दक्षिणमा रहेका सदरमुकामसम्म  ६ लेनका बाटाहरू बने। अहिले, नेपालगन्ज हेर्नुहोस् त, हिजोको फोहोर  र आज कस्तो छ ? भैरहवा हेर्नुहोस् त, कस्तो फोहोर सहर, आज कस्तो छ ? त्यहाँ त मान्छे रमाउँदैनथे, लामखुट्टे मात्र रमाउँथे। अहिले त मान्छे रमाउने भएका छन्।  पर्यटकीय र रमणीय स्थानका रूपमा परिणत भएका छन्। यी नमुना सहर बनेका छन्। विकासका लागि सबैभन्दा पहिले मान्छेको चेतना र अवधारणामा परिवर्तन आउनुपर्‍यो। अनि, मात्र विकास हुन सक्छ। यही कुरा अहिलेका शासकहरू बुझ्दैनन्।

त्यो काम गर्न त फेरि सत्तामै पुग्नु पर्‍यो ? पार्टी विभाजन भएको छ, यसले दक्खल पुर्‍याउँदैन ?

तपाईंले पार्टी विभाजन, पार्टी फुट भएको छ, भन्नुभयो। त्यस्तो होइन। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। दुईमध्ये प्रचण्ड एउटा अध्यक्ष थिए। अर्थात्, दोस्र्रो अध्यक्ष। कम्युनिस्ट आन्दोलनलाई जोगाएर अध्यक्ष हुने र प्रधानमन्त्री हुने मौका उनलाई थियो। संसद्मा ६४ प्रतिशतको स्थितिमा पार्टी थियो। ७ मध्ये ६ वटा प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार बनेका थिए। केन्द्रमा अत्यन्त मजबुत सरकार पनि थियो। जे भन्यो, त्यही हुन्थ्यो। तर प्रचण्डले के नीति लिए भन्दा, पार्टी एकीकरण नहोस् र आफूले एमाले कब्जा गर्न सकियोस्। एकीकरणका नाममा घुस्ने र कब्जा गर्ने उनको नीति थियो। प्रचण्डले आफूलाई ‘म त मदन भण्डारी भइसकेको’ थिएँ भन्छन्। अभिनय गरेर मदन भण्डारी हुन्छ र ? विचारले हुनुपर्‍यो नि। ‘ओलीजीले मलाई पचाउनु भएन, भन्नुहुन्थ्यो। कसले पचायो, पचाएनले के हुन्छ ? मदन भण्डारी हुन कसले रोक्या छ र ?

अधैर्य, असहिष्णुता, ईष्र्याभाव, स्वार्थपूर्तिको हतारोले उनमा सधैं छटपटी रह्यो। पार्टी र कमिटी एकीकृत हुनै दिएनन्। पार्टीलाई गतिशील हुनै दिएनन्। न कहीँ अधिवेशन हुन दिए, न कहीँ एकता हुन दिए। उनले एमालेलाई ‘प्यारालाइज’ गरिदिए। नेकपा पनि ‘प्यारालाइज’ गरिदिए। असैह्य नै भएपछि उनले ऋषि कट्टेललाई नै पार्टीको मान्यता दिनुपर्‍यो भनेर अदालतसँग पनि भनेका थिए।

गत वर्षको असारमा उनले, आफ्नै पार्टी लिएर फर्किन्छु। मैले यहाँ कब्जा गर्न खोजेको, तर कब्जा गर्ने छाँट छैन। मलाई त कमजोर पारिदिन्छन् कि क्या हो, यहाँबाट भाग्छु, भन्या थिए।

अनि तपाईंले के भन्नुभयो ?  

अदालतमा रहेको त्यो मुद्दा ‘के हुन्छ, के हुन्छ’ भन्ने भएपछि प्रचण्डले मसँग अर्को एउटा सम्झौता पनि गरेका थिए। त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म चर्चा गर्‍या छैन। तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए। त्यसको एक प्रति प्रचण्डसँग छ, एक प्रति कागज मसँग छ। उनलाई साथ दिने माधव नेपाल, झलनाथ खनाल, वामदेवहरू सबैलाई बेवकुफ बनाएर, छक्याएर प्रचण्डले मसँग सम्झौता गरेका थिए।

पछि, त, ‘ह्या’, सम्झौताका पछि लाग्नुपर्ने कुनै कारण छैन, माधव, झलनाथ, वामदेव, यिनीहरू भएपछि पार्टी कब्जै गर्न सकिने रहेछ भन्ने प्रचण्डलाई लाग्यो। केपी ओलीलाई पार्टीको साधारण सदस्यैबाटै हटाउने, सडकमा फालिदिने र ओली रुँदै हिँड्छन्। अनि, नरिवल, सुपारीको पातको टपरी लिएर भीख माग्दै सडकमा पुर्‍याइदिने भन्ने लाग्यो। केपी ओलीलाई प्रधानमन्त्रीबाट लात हानेर निकालिदिने, पार्टी अध्यक्ष त के, सदस्यबाटै निकालिदिने, यस्ता मिठा–मिठा सपना देखे।  यिनीहरू मुख च्वाप–च्वाप पारेर निदाउन थाले। त्यो सपनाले बिगारेर यिनीहरू मेराविरुद्ध लागे। कसरी निकाल्नेभन्दा आरोपपत्र बनाउन लागे। जुन, आरोपको घनले हानेपछि केपी ओली कच्याककुचुक होस्। यस अन्डालाई यस्तो घनले हान्ने कि त्यसको चिनोबानो नरहोस् भनेर आरोपहरूको घन तयार गर्न लागे। त्यतिबेला, मैले आन्दोलन बचाऔं, सरकार बचाऔं भनेर आग्रह गरेँ। तर, यिनीहरूमा अहंकार चढ्या थियो। उनीहरू भित्र दानव–प्रेत बनेर पस्या थियो। हेर्दाहेर्दै  लामालामा दाँत निस्क्या थिए। आँखा राताराता भएका थिए। स्वरूपमा स्वाट्टै परिवर्तन भएर कालो अनुहार बनेको थियो। मानवीय दिमाग शैतानी दिमागमा परिणत भएको थियो। भूतको फिल्ममा जस्तै स्वार्थको भूतभित्र पसेर यिनीहरू हिंस्रक भएर आए।

उनीहरूले कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनता केही पनि देखेनन्। कम्युनिस्ट आन्दोलन सिध्याउनुपर्छ भनेर उनीहरूका बोसहरूले ह्विप जारी गरेका थिए। उनीहरू भित्र प्रेत हालिदिएर ह्विप जारी गरिएको थियो। बञ्चरो काँधमा बोकेर उनीहरू कम्युनिस्ट पार्टीका टाउकोमा हान्न कुदे। अनि, प्रचण्ड एउटा चोइटो लिएर गए।

तपाईंले बोस भन्नुभयो, कसलाई भन्न खोज्नु भएको हो ?

प्रचण्डजीलाई र माधव नेपालाई सोध्नुहोस्। प्रचण्डले नोकरसँग कुरा गर्दिनँ, मालिकसँग मात्र कुरा गर्छु भन्थे। को हो, मालिक ? भने भै गो नि।

अघि प्रचण्ड र तपाईंबीचको गोप्य सम्झौताको कुरा खोल्छु भन्नुभयो तर, खुलाउनु भएन नि ? 

मैले त्यत्ति भनें। कुरा गर्दागर्दै भनिहालें। अब, प्रचण्डजीलाई सोध्नुहोस् न।

अलिकति खुलाउन मिल्छ कि ?

मेरो स्वभाव कस्तो छ भने नि, अस्ति ज्ञानेन्द्रसँगको एउटा ‘एग्रिमेन्ट’ को कुरा गरिदिएँ। प्रचण्डले प्रमाणित गर्नुहोस्, हैन भने माफी माग्नुहोस्, भन्नुभयो। भोलिपल्टदेखि त सम्झौता गर्न मलाई पठाइएको थियो, ड्राफ्ट गर्ने म हुँ भन्ने मान्छे टेलिभिजनमा फटाफट निस्के। मैले कहिल्यै नदेख्या, नचिन्या, उहिले–उहिले देख्या, मान्छेहरू ‘सन्देश लिएर जाने मै हुँ’ भन्दै निस्किए। अब, प्रचण्डजीले तिनीहरूसँग बहस गरुन् न। तिनीहरूलाई प्रमाणित गर, भन्नुहोस् न। उनीहरूले, ठोके त टेलिभिजनमा गएर। १८ गते राति १ बजे नै सम्झौता भएको हो भनेर टेलिभिजनमा भनिसके त, मान्छेहरूले। अब, मैले कुरा गर्दागर्दै फ्याट्ट सम्झौताको कुरा भनिहालें। यो कुरा प्र्रचण्डजीले पनि भन्नु भएको छैन, मैले पनि भन्या थिएन। यसभन्दा बढी केही पनि भन्दिनँ।

कागज नै  देखाउनुहुन्छ कि जस्तो लाग्यो थियो त ?

किन देखाउने ? प्रचण्डजीले खोज्नुभयो भने उहाँले आफ्नै खल्तीबाट निकाले हुन्छ। अरू कोसँग छ, ल्याऊ भन्यो भने अरू मान्छेले पनि देखाउन सक्छन्। उहाँ र मैले सम्झौता गर्दा अरू मान्छे पनि थिए। गोप्य मान्छे पनि थिए। ती को–को थिए, आफैं जानुन्। नभए, तिनले निकाल्छन् नि।

के विषयसँग सम्बन्धित थियो, त्यो सम्झौता ?

के थियो, के थियो ? अहिले यसभन्दा बढी नभनौं।

प्रचण्डलाई अघि चोइटो लिएर गएको भन्नुभयो, कसरी ?

पार्टी फुट्या होइन। प्रचण्डले फुटाउन खोज्नुभयो, तर चोइटो लिएर जानुभयो।  त्यस चोइटोलाई मैले अलिअलि गर्दै पार्टीमा फर्काउँदैछु। किनकि पार्टी त एकीकृत भएको थियो, प्रचण्डले पो बदमासी गर्नु भएको हो। मेरो दल र अरू नेताहरूले बदमासी गर्‍या होइन।

खान पाएका केही नेताहरू थालमा भात छइञ्जेलसम्म उहाँसँग रहन्छन्। किनकि अहिले, तिनका थालमा भात छंँदैछ। सुविधा–सहुलियत हुँदाहुँदै प्रचण्डजीलाई किन छोड्नु त ? प्रचण्डजी जबसम्म ‘लैनो’ हुनुहुन्छ, अथवा बकेर्नासम्म भए पनि अलिअलि त आउँछ नि। अलिअलि जबसम्म आउँछ, पाडाले/बाच्छाले छोड्या हुन्छ र माउ ? प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन्। बाँकीले त पर्खिनुपर्ने केही कारण छैन। प्रचण्डजीलाई देखिसके, चिनिसके, भोगिसके, मान्छेहरूले। त्यही भएर उहाँले एउटा चोइटो लिएर जानुभयो, त्यो चोइटो मात्रै हो। आम नेता/कार्यकर्ता पार्टीमा फर्किंदैछन्। नेता/कार्यकर्ताले एकीकरणको प्रक्रिया अघि बढाएका छन्।

उहाँको पार्टीका केही नेता मात्रै एमालेमा रोकिनु भएको हो, चोइटो कसरी भन्ने ? 

रामबहादुर थापा, यतै देख्नु भएको छ। लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङ, ज्वाला साह यतै देख्नु भएको छ। अरू अनेक नेताहरू त यतै हुनुहुन्छ। उहाँको पार्टी सर्लक्कै गयो त ? गएन भने, चोइटो न गयो।

माधव नेपालको फुट नि ?

माधव नेपालले पार्टीलाई धेरै ध्वस्त पार्न खोजे। उनको कर्तव्य नै कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नु थियो। उनलाई त्यसकै लागि खटाइएको थियो। पार्टीको प्रमुख हुँदा उनले के गरे ? मदन भण्डारीले निर्माण गरेर प्रमुख पार्टीको हैसियतमा पुर्‍याएको पार्टीलाई कहाँ पुर्‍याए ? पहिलो संविधानसभामा २ सय ४० स्थानका लागि भएको निर्वाचनमा पार्टीलाई ३३ सिटमा खुम्च्याए। प्रमुख पार्टीको हैसियतलाई १३/१४ प्रतिशतमा झारे। पार्टी त्यहाँ पुगेपछि, अब मेरो काम सकियो है, भनेर राजीनामा दिएर हिँडे। पार्टी चलाउन मैले सकिनँ, मैले सक्ने रहेनछु भनेर राजीनामा गरेर हिँडेका होइनन् ? अनि, फेरि मबिना कसरी पार्टी चल्छ भनेर रडाको गर्न थाले।

तर, तपाईंहरूले नै पछि माधव नेपाललाई प्रधानमन्त्री बनाउनुभएको होइन ? 

माधव नेपाल कसरी प्रधानमन्त्री बने, म भन्न चाहन्नँ। कहाँबाट बने त्यो पनि भन्न चाहन्न। दुई–दुई ठाउँबाट हारेपछि कुन नैतिकताले संविधानसभामा आए ? कसले ल्यायो ? एमालेको प्रस्ताव त थिएन। संसद्मा उनलाई ल्याउने प्रचण्डको प्रस्ताव थियो। जसले प्रत्यक्षतर्फ आधा सिट (अर्थात् २ सय ४० मा १ सय २० सिट जित्या थियो) त्यो पार्टीको नेताले माधव नेपाल नभई संविधानसभा हुँदैन, कसको आदेशमा भन्यो होला ? कसको आदेशमा ल्यायो होला ? पछि, त्यही आदेशवालाले प्रचण्डलाई सेनामा गुलेली चला भन्यो, अरिंगालको गोलामा गुलेली हान भनेर सिकाइदियो, प्रचण्डले प्याट्ट हानिदिए। अब, टोकेर सिध्याउने भयो, राजीनामा गर भन्यो। प्रचण्डले राजीनामा गरे। जसको प्रस्तावमा माधव नेपाल संसद्मा आएका थिए, उनैलाई हटाउने प्रस्तावक बने। प्रचण्डलाई हटाएर आफू प्रधानमन्त्री हुने बाटोमा लागे। प्रचण्डले संसद्मा रुँदै भने, कल्पवृक्ष भन्ठानेर ल्याएको त विषवृक्ष परेछ। विषवृक्ष त प्रचण्डले त्यतिबेलै देख्या हो। तर पछि, विषवृक्षको प्रयोग गरेर प्रचण्डले एमाले फुटाउन काम लाग्छ कि भनेर प्रयास गरे। एमाले फुटेन, चोइटियो। लागेपुगेसम्म त एमाले ध्वस्तै पार्न खोजेकै हुन्, यिनीहरूले।

केपी ओलीलाई त पुस ९ गते पार्टीको साधारण सदस्यबाटै निकालेका हुन् नि। आँट पनि कत्रो क्या। जसले ध्वस्त भएका बेला आन्दोलन गरेर पार्टीलाई यहाँसम्म ल्यायो, त्यही केपी ओलीलाई अध्यक्षबाट निकाल्ने ? अध्यक्षबाट मात्र भए त ठिकै हुन्थ्यो, साधारण सदस्य नै नरहने गरी, आजैको मितिबाट लागू हुने गरी ओलीलाई हटाउने ‘परमादेश’। कत्रो परमादेश हो त्यो ? प्रचण्ड, माधव, वामदेव, झलनाथ मिले, अनि गल्लीबाट परमादेश जारी गरे। अध्यक्षलाई थाहै छैन। अर्को परमादेशतिर साँठगाँठ ? सेटिङ गरेर, लेनदेन गरेर, कारोबार गरेर, हेर्नुहोस् त यिनीहरूका कारण अहिले मुलुकमा भाँडभैलो।

अदालतले आखिर तपाईंलाई हटाएको त हो ? 

सरकार बनाउने संसद्लाई केही थाहा छैन। संसद्ले बनाएको प्रधानमन्त्री गएको र अर्को आएको पनि जानकारीमा छैन। नयाँले शपथ गरेको पनि संसद्लाई थाहा छैन। यस्तो इतिहास दुनियाँमा कहीँ होला ? जनप्रतिनिधि संस्था, जसले सरकार बनाउने, गिराउने, हेरफेर गर्ने गर्छ, उसलाई केही थाहै छैन। अदालतबाट भोलि नै, यति नै बेला शपथ ग्रहण गर्नु। यति घण्टाभित्र गर्नू, गराउनू। यस्तो फैसला हुन्छ, अर्को सेटिङ। अदालतको इजलासबाटै असंवैधानिक, अलोकतान्त्रिक परमादेश ठोकियो। त्यस्तो भएपछि माधव नेपाल पार्टीमा टिक्न सक्ने कुरा त भएन। यता पनि, उता पनि परमादेश भन्दै कुद्ने कामको अगुवाइ माधव नेपालले नै गर्‍या हो।

अदालतले गलत गर्‍यो भन्न पाइन्छ ?  

अदालतले परमादेश जारी गर्‍यो। प्रधानमन्त्री बनायो, त्यसको परिणाम देशले भोग्दैछ। कांग्रेसको आफ्नो राजनीति सिद्धियो। अहिले त कांग्रेसले राजनीति गरेको छैन। प्रचण्ड र माधव नेपालले देश चलाएका छन्। प्रचण्डले अस्ति भने नि, प्रधानमन्त्री जोसुकै होस्, मेरा हातमा छ देश भनेर। मैले चलाइराख्या छु, भनिसके। उनको हातमा कसरी शक्ति गयो ? उनी प्रधानमन्त्री त होइनन्। अथवा, यो सबैको निर्माता को हो ? यिनीहरूको परमप्रभु/ निर्माता (जो अदृश्य छ, आकारविहीन छ) कहाँ छ ? को हो ? कुन शक्ति हो यो ? ‘क्रिएटर’ को हो ? कसले ‘क्रिएसन’ गरिराख्या छ ?

अहिले अर्को हल्ला फिँजाउन खोजिँदैछ, प्रधानन्यायाधीश हटाउन खोजेको, तर प्रतिपक्षले मानेन रे। प्रतिपक्षको मान, मर्यादा राख्या छ र ? प्रधानन्यायाधीशमाथि शेरबहादुरले लगाउँछन् महाभियोग ? प्रचण्डले लगाउँछन् वा माधव नेपालले ? मलाई हटाएर यिनीहरूको सरकार बनाइदिएको छ। अनि यत्रो काम गर्ने अदालतमाथि महाभियोग लगाउँछन् ?

प्रचण्डले गुन तिर्ने कुरा पनि गर्नु भएको थियो नि ?

वरिष्ठ अधिवक्ताहरूले यत्रो गुन लगाइदिएका छौं भनेर प्रचण्डलाई भनिसके।  एक जना न्यायाधीशले इमेल लेखेर केपी ओलीको सरकार नहटाई हुँदैनथ्यो, संविधानले हटाउन दिँदैनथ्यो, त्यसैले संविधानभन्दा बाहिर गएर ठोक्दिएको हो, भनिसके।  पहिले नै तय थियो, त्यो निर्णय। केपी ओली हटाउने निर्णय संविधानले दिँदैनथ्यो, अनि गैरसंवैधानिक तवरले अवैधानिक बाटोबाटै परमादेश जारी भयो। त्यो त न्यायाधीशको इमेलले नै भन्छ। प्रभुको लीला त अपरम्पार छ नि। अदृश्य मात्र होइन, अपरम्पार छ।

परमादेश जारी गर्ने प्रधानन्यायाधीशलाई हटाऔं भन्दा त प्रतिपक्षले मान्नुपर्ने होइन र ? 

कसले भन्यो ? शेरबहादुरले भन्नुभयो ? यस्तो हल्लाको पछाडि नलाग्नुहोस्। न्यायाधीशलाई महाभियोग लगाउने कुरा हुँदैन भन्नु भएको छ, शेरबहादुरजीले। कहाँको महाभियोगको कुरा गर्नु ?

यो मामिलामा एमालेको धारणा के हो ?

एमालेको प्रष्ट धारणा छ, परमादेश गलत हो। वरिष्ठ अधिवक्ताजीहरूलाई पनि मैले भनिसकेको छु, तपाईंहरूको प्रस्ताव २० प्रतिशत मात्र छ, सय प्रतिशत बनाएर आउनुहोस्। परमादेश जारी गर्ने सबैलाई हटाउनुपर्‍यो। अदालत र संसद् सच्याऔं न, सरकार सच्याऔं, लोकतन्त्रको बाटोमा जाऔं। सविधान, कानुनको बाटोमा जाऔं। तर, स्वेच्छाचारितालाई एमालेले ल्याप्चे लगाउँदैन। यी त प्रतिगमनकारी हुन्, देशलाई प्रतिगमनतिर लग्या छ। असंवैधानिक बाटोमा लग्या छ। यी प्रतिगमनकारीहरूलाई एमालेले साथ दिनुपर्ने ?

तपाईंले पटकपटक प्रतिनिधिसभा विघटन गर्नुभयो भन्ने आधारमा उनीहरूले पनि त्यही प्रकारको निर्णय गरेका हुन् कि ?

मैले एक पटक २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको हुँ। यो दुनियाँभरिको लोकतान्त्रिक अभ्यास हो। संविधानमा त्यो छैन भन्ने विद्वान अधिवक्ताहरू, विद्वान श्रीमान्हरू, वुद्धिजीवीहरूलाई भन्न चाहन्छु, परमादेशबाट प्रधानमन्त्रीलाई हटाउने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने, सबैभन्दा ठूलो पार्टीको दलको नेता एवं ‘सिटिङ’ प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको उम्मेदवार नै बन्न पाउँदैन भन्ने फैसला संविधानमा कहाँनेर छ ? देखाइदिनुहोस् त।

अनि, यस्ता हावादारी कुरा गरेर संविधान र अदालतको मर्यादाको धज्जी उडाउने ? कानुनी राज र सिद्धान्तको धज्जी उडाउने ? संविधानमा छ र छैन भन्नेहरूले राष्ट्रपतिले गर्ने फैसला अदालतले गरिदिने कहाँ छ ? संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री हुन लगेको दाबी मैले पाउनुपथ्र्यो, त्यो विचार गर्ने अधिकार त संविधानले राष्ट्रपतिलाई दिएको छ। राष्ट्रपतिलाई दिएको त्यो अधिकार खोसेर पाँच जनाको बेन्चले परमादेश जारी गर्ने ? अदालतको अत्यन्त सम्मान, मर्यादासाथ के भन्न चाहन्छु भने, लोकतन्त्रका लागि जीवन अर्पण गरेका, जेलनेल काटेर आएका, जनताले विश्वास गरेर पत्याएर प्रमुख पार्टीको हैसियतमा उठाएका नेताहरूलाई चार जना न्यायाधीशको जिम्मेवारीमा गइयो भनेर जथाभावी फैसला गर्नुहुन्छ ? असंवैधानिक ढंगले प्रहार गर्नुहुन्छ ? मेराविरुद्ध केही गरियो भन्ने कुरा होइन। यो त लोकतन्त्रविरुद्ध केही गरियो भन्ने चिन्ता हो। देशका विरुद्ध, संविधानका विरुद्ध गएपछि चिन्ता गरियो। अदालतले संविधानको व्याख्या गर्छ तर, संविधान परिवर्तन गर्दैन।

अनि किन सरक्क परमादेश मान्नुभयो ?   

म लोकतन्त्रका लागि लडेको हुँ। लोकतान्त्रिक आचरण र व्यवहार गर्छु। सकिन्थ्यो, उत्पात मच्चाउन। तर, त्यसले या त देशमा हिंसाको रूप लिन्थ्यो, या त साँच्चिकै ‘कु’ मा परिणत हुन्थ्यो। अदालतको माध्यमबाट संवैधानिक ‘कु’ नै गर्‍या हो। जटिल ढंगले परिस्थिति बिगार्न त लागेकै थिए। एकजना पूर्व डिप्लोम्याटले पुस्तकमा लेख्या छन्, ‘हामी नियन्त्रित अस्थिरता चाहन्छौं।’ अनि सम्पूर्ण कुराहरू उनीहरूकै हातमा हालिदिने र नियन्त्रित ‘रोबर्ट’ नै हुन दिने राष्ट्रिय राजनीतिलाई ? अनि, अस्थिर बनाइदिने ? जुन काम अहिले पाँचदलीय प्रतिगामीहरू गरिरहेका छन्। उनीहरूले देशलाई प्रतिगमनको बाटोतिर लग्या छन्।

‘डेमोक्रेसी’ रहेन भने त्यसका लागि फेरि सडकमा निर्णायक ढंगले जानुपर्ने हुन सक्छ। त्यो पनि सम्भावना छ, अहिले। किनभने यिनीहरू त चुनावसँग डराउँछन। यिनीहरूलाई डेमोक्रेसी होइन, राज चाहिया छ। डेमोक्रेसी हुनेबित्तिकै यिनीहरूको राज त ग्यारेन्टेट हुँदैन। डेमोक्रेसीमा राज गर्न राम्रो काम गर्नुपर्छ। यस्ता कुलंगारहरूलाई जनताले भोट दिन्छन् ? त्यो यिनीहरूलाई थाहा छ, त्यसैले यिनीहरू चुनावबाट ‘स्केप’ हुन खोज्छन्।

सर्वोच्चको लफडाको समाधान के–कसरी, कहिले हुन्छ ? 

पाँचदलीय गठबन्धन यसको सर्जक हो। यसको कारक हो। देशमा अस्थिरता र बहुमतको सरकार टिक्न नदिने प्रचण्ड र माधव नेपाल हुन्। बहुमतको सरकार ढाल्ने, यिनै हुन्। अस्थिरता खोज्न कहाँ जाने ? कारण त यिनीहरू हुन्। यिनीहरूको निर्देशित उद्देश्य नै त्यही हो।

विगतमा प्रचण्ड र बाबुरामले धेरै युवाहरूलाई ‘सेन्टिमेन्ट’ मा ल्याए। एमालेले २०५२ सालमा संवैधानिक र शान्तिपूर्ण बाटोबाट सरकार बनायो। त्यस परिस्थितिमा हतियार उठाउनुपर्ने के कारण थियो त ? 

जनताको विश्वासबाट परिवर्तन ल्याउन सकिन्थ्यो। बृहत् शान्ति सम्झौता भन्ने नामको चिजभन्दा अगाडि नै यिनीहरू सरकारमा बसिसक्या थिए, संसद्मा आइसकेका थिए। शान्ति सम्झौतापछि हिंसा अन्त्य भयो । तर, कार्यकर्तालाई फेरि पनि अल्मल्याई राख्याथिए, झुक्याई राख्याथिए। सरकार, सदन र सडकमा शान्तिपूर्ण ढंगले जाने कार्यनीति भन्दै लडाकुलाई शिविरमा राखे। ब्यारेकका लडाकुको हालत देख्नुभयो नि। दुई/चार सय यसो सेनामा हाले। सब्जीमा नुन हाले जस्तै। सब्जीमा हालेको नुन कतै भेट्नुहुन्छ ? त्यस्तै भयो।

आखिर, प्रचण्डले गर्न खोजेको के रहेछ ? कति ठूलो धोखा रहेछ त ? थाहा भयो नि। १७ हजार मान्छे मरे। प्रचण्डले १७ हजारको जिम्मा त लिन्न, अरूले पनि लिनुपर्छ भने। त्यो कुन–कसले लिनुपर्छ, उनै जानुन्। टाउकाको मोल तोक्नेले लिन्छ कि, अथवा बम हान्नेले लिन्छ ? एम्बुस थाप्नेले लिन्छ कि, एम्बुसबाट उम्केर टाउकाको मोल तोक्नेले लिन्छ ? तर, प्रचण्डले आफ्नो मुखबाट पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु भने। एकजना मान्छे मार्दा २० वर्ष जेल जान्छ, प्रचण्डले त पाँच हजार मारेको जिम्मा म लिन्छु भने। के भनेको त्यो ? केका लागि मार्‍या थियो त ? यही गठबन्धन सरकार बनाएर अर्थमन्त्री, ऊर्जामन्त्री बनाउनका लागि ? आम्दानीका केही स्रोत खोज्नका लागि ? यस्तै वैधानिक ढंगले लुट्नका लागि।

गौर हत्याकाण्ड भयो। उपेन्द्र यादव समूहले माओवादी समूहलाई मार्‍यो। तत्काल बसेर उहाँहरूबीच लेनदेन भयो। किन, त्यस विषयमा क्रान्तिकारी प्रचण्ड बोल्नुहुन्न ? गौरकाण्ड के थियो, किन प्रचण्ड बोल्नुहुन्न ? निशस्त्र मान्छेमाथि योजनाबद्ध ढंगले हमला गरेर व्यापक ‘मास’ हत्या गरेर, जघन्य अपराध गरेको देखिन्छ। आफ्ना कार्यकर्ता मारिएकोमा प्रचण्डलाई एक थोपो आँसु आएन, किन ? यो त रचनाकार जानोस्।

पार्टी विभाजन हुुनुमा तपाईंले नेताहरूलाई धेरै पेल्नुभयो, ढिम्किनु पनि दिनुभएन भन्ने आरोप लाग्छ नि ?

सही कुरा हो, भ्रष्टाचार गर्न दिइन, रोकिदिएँ। मनपरी गर्न दिइनँ। पार्टीलाई पार्टी जस्तो चलाउनुपर्छ भनें। स्वेच्छाचारिता रोकिदिएँ। लुटपाट रोकिदिएँ। सही नसक्नु नै भएको हो, उहाँहरूलाई। मैले लोकतान्त्रिक बाटोबाट जाऔं, देश बनाउने बाटोमा लागौं भनें। देशको कुरा गर्नेबित्तिकै उहाँहरू कान टक्टक्याउनुहुन्छ। जनता र जनताका पीडा समाधान गरौं भन्नेबित्तिकै उहाँहरू कान पखाल्नुहुन्छ। उहाँहरूलाई असह्यै भएकै होला। उहाँहरूले भनेको हुन सक्छ, केपी ओलीले हाम्रा स्रोत सुकाइदियो, यसो गर्न दिएन, उसो गर्न दिएन भनेको हुन सक्छ।

कम्युनिस्ट पार्टी एकता गरेर दक्षिण एसियाको ठूलो कम्युनिस्ट पार्टी बनाउनुभयो, तर टिकाउन सक्नु भएन नि ?

अहिले पनि दक्षिण एसियाको ठूलो कम्युनिस्ट पार्टी मैले नेतृत्व गरेको पार्टी हो। सबैभन्दा ठूलो र मजबुत पार्टी यही हो। चुनावपछि आजको अन्तर्वार्ता दोहोर्‍याएर हेर्नुहोला।

अप्रत्याशित रूपमा पार्टी एकता पनि गर्नुभयो, संसद्मा झन्डै दुई तिहाइ पनि आयो। यसरी सबै मिलाउन सक्ने केपी ओलीले पार्टी चाहिँ किन मिलाउन नसकेको भन्ने प्रश्न छ नि ?

उहिले, रामले बाँदर पनि मिलाए, रावण मिलाउन सकेनन्। सुग्रिबसँग मीत लगाउन सक्ने, रावणसँग किन नसक्ने ? हनुमानलाई भक्त बनाउन सक्ने, रावणलाई किन नसक्ने ? रावणकै भाइ विभीषणलाई सुराकी बनाउन सक्नेले रावणलाई किन आफ्नो पक्षमा पार्न सकेनन् ? कृष्णसँग सम्झाउन सक्ने असाधारण गुण थियो, त्यो एउटा दुर्योधनलाई किन नसम्झाएको ? दुनियाँ सम्झाउन सक्ने, दुर्योधनलाई कृष्णले पनि पार लगाउन सकेनन्। जसको मति भ्रष्ट हुन्छ, त्योसँग फरक खालको व्यवहार गर्नुपर्ने हुन्छ। क्लियर छ।

केशरजंग रायमाझीसँग एक हदसम्म केन्द्रीय कमिटीको बहुमत थियो। यिनीहरूले पनि एकपटक सडकमा पार्टी कब्जा गरे भनें। केशरजंगले पनि सडकमै कब्जा गरेका थिए। दक्षिणपन्थसम्म मिले, कु गर्न राजालाई उक्सायो। कम्युनिस्ट पार्टी सिध्याउन लागे। पछि, केशरजंगको हालत के भयो ? कसैले कम्युनिस्ट पार्टीको नेताका रूपमा उनलाई सम्झिन्छ ? आज मान्छेले पुष्पलाल भन्छन्। पुष्पलाललाई त सडकमा पुर्‍याएको थियो नि त। गद्दार भनेर सडकमै निकालेकै हुन् त। त्यो ठाउँबाट पुष्पलाल उठे। इतिहासमा यस्ता घटना हुन्छन्। भवितव्यले कस्ताकस्ता कुरा आई पर्छन्। राजनीतिक भवितव्यको कुरा गर्दा, झलनाथ, माधव, वामदेव एकसे एक प्रचण्डका कार्यकर्ता भएर एमाले नामको पार्टी प्रचण्डलाई सुम्पिहाल्नु पर्छ भन्ने लाइन लागे। हामीले दिएनौं। नेता मान्न किन कस्सिए होलान् ? प्रचण्डकोमा लगेर पार्टी विलीन गर्न किन कस्सिए ? पोहोरको मात्र हो र भन्या, उसबेलादेखि नै यिनीहरूको साँठगाँठ हो नि।

सरकारको कार्यशैलीप्रति के धारणा छ ? 

अहिले यस्तायस्ता मान्छे मन्त्री छन्, देशको दुर्भाग्य हो। राजनीतिका लागि यो ठूलो मजाक हो।

पहिले राष्ट्रियताको, अहिले धर्मको सहारा लिएर राजनीति गर्दै हुनुहुन्छ भन्ने तपाईंमाथि आरोप छ ? 

मैले कुनै धर्म मानें, भने कि ? म क्रिश्चियन वा हिन्दु भनें कि ? यो धर्मको पक्ष, यो धर्मको विपक्ष भने कि ? त्यस्तो केही भन्या छैन। मैले, पूर्वीय दर्शन भनेको आध्यात्मवाद हो। तर, अन्धविश्वास, अवैज्ञानिक, विज्ञान र प्रविधि विरोधी, यथार्थ विरोधी हो भनेर स्वार्थका लागि कर्मकाण्डी  र धूर्तखालको जुन तरिका गरियो, त्यो गलत हो भनेको हुँ। पूर्वीय दर्शनको महानता, गरिमा, महत्त्व, श्रेष्ठता, इतिहास, वैज्ञानिकता आदि विषयमा बोलेको हुँ। दर्शनको आदिमकालमा कहीँ कतै त्रुटि पनि भएका होलान्। तर त्यसले दार्शनिक डँढेलोको रूप लिएको थिएन होला।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको महाकाव्य ‘प्रमिथस’ मा स्वर्गबाट आगो ल्याएर धर्तीमा मानव जाति प्रज्वलित गर्‍यो भन्ने एउटा कथा छ। प्रमिथसलाई हिरो बनाएर लेखेका छन्। त्यो दर्शनले चेतनाको आगो, प्रकाश ल्यायो, जो अन्त थिएन, यो कुरा मैले लग्या हो। मानव सभ्यतामा यस भूमिको योगदान के छ भनेर मैले यस भूमिको कुरा गर्‍या छु। मेरा बाले हलो जोतेर भए पनि मलाई हुर्काएका थिए, पढाएका थिए, उहाँको प्रंशसा गर्‍या छु। के यो अपराध भयो ? जसले आफ्नो इतिहासलाई घृणा गर्छ, आफ्ना महान् पुर्खाहरूको इतिहास, अन्वेषण, योगदान, खोज, अध्ययन, अनुसन्धान मानव जातिका लागि अतुलनीय योगदान गरेका थिए। त्यसको प्रसंशा गर्दा चित्त दुःखाउँछ, भने मैले कसको प्रशंसा गर्ने ? हाम्रा ऋषिमुनिको चर्चा गर्दा किन चित्त दुःखाइ ? तपाईंलाई शुकरातको प्रशंसा गर्दा त चित्त दुख्दैन। अनि, बुद्धको प्रशंसा गर्दा किन चित्त दुखाइ ?

यी बिचरा हुन्। वरपर देख्दैनन्, टाट्नामा हालेको घास मात्र देख्छन्। भंैसीलाई पुर्खाको याद हुँदैन। मान्छेले पुर्खाको याद गर्नुपर्छ, पुर्खाको योगदान र महानताको याद गर्नुपर्छ।

तपाईंमाथि धर्मनिरपेक्षता र संघीयतालाई ‘साइड’ लगाउन खोजेको भन्ने आरोप पनि छ नि ?

मैले कसैलाई तिम्रो धर्म नमान भन्या छैन। जसले पनि आफ्नो धर्म धारण गर्न सक्छ। राज्य सबैको हो। राज्यमा सबै आस्था/विश्वासका मान्छे बस्या हुन्छन्। तर, हाम्रो गरिबी, पछौटेपन र अभावको फाइदा उठाएर कसैले हामीमाथि खेलवाड ढंगले हाम्रो आस्था परिवर्तन गर्ने खालका गतिविधि गर्छ भने, त्यो हामीमाथिको थिचोमिचो हो, दमन हो। हामी त्यो गर्न दिँदैनौं।

संघीयताका बारे ?

संघीयता सामाजिक प्रणाली हो, गन्तव्य होइन। गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। कुनै देशमा संघीयता छ, कुनैमा छैन। हामीले संघीयता आरम्भ गरेका छौं, यसलाई सफल बनाउने कोसिस गर्नुपर्छ। संघीयताका पक्षधर भन्नेहरूले यसलाई अहिले मजाकको विषय बनाएका छन्। हरेक ठाउँमा मुख्यमन्त्री परिवर्तन हुनैपर्ने, भाँडभैलो हुनुैपर्ने। सानो ठाउँमा सात मन्त्री भए पुग्ने तर, १८ जना मन्त्री बनाएको छ। बाँडीचुँडी खाएको छ, लुटपाट मच्चाएको छ। अर्थतन्त्र चौपट छ। बैंकहरू ऋण दिनु त परै आजोस, तपाईं आफैंले राखेको पैसा दिन नसक्ने अवस्थामा पुगिसक्या छन्।

प्रसंग बदलौं, संसद्को गतिरोध यस्तै राखिराख्ने कि अब चल्न दिनुहुन्छ ?

यस्तो हुनै नहुनुपर्ने हो। तर, असंवैधानिक र गैरकानुनी ढंगले सभामुख, निर्वाचन आयोग र पाँचदलीय गठबन्धन मिलेर हाम्रंो पार्टीविरुद्ध भएका असंवैधानिक कार्यको विरोध गरिरहेका छन्। चलिरहेको संसद् राति १२ बजे बन्द गर्ने, बिहानै अध्यादेश जारी गर्ने काम भयो। २५ साउनमा निकालेका मान्छेबारे भदौ १ गते सभामुखलाई जानकारी दिएका थियौं। सभामुखलाई जानकारी दिएपछि रातारात अध्यादेश जारी गरियो। दिल्लीमा भएका मान्छे, जसले सही नै गरेको छैन, उसलाई सनाखत गर्न लगाइयो।

सही नै छैन भने के–को सनाखत गराउने ? निर्वाचन आयोगलाई सनाखत शब्दको परिभाषा नै थाहा भएन। यस्ता तमाशा गरियो। हामीले १५ दिनअघि निष्कासित गरेका मान्छेहरू कायमै राखेर सात दिनपछि पार्टी दर्ता गर्‍यो। यो षड्यन्त्रको चक्रव्यूहमा सबैतिर सेटिङ भयो। हाम्राविरुद्ध सभामुख, अदालत, निर्वाचन आयोग, सबैतिर सेटिङ। सबै सेटिङमा चल्यो।

त्यसको विरोधमा संसद्मा हाम्रो अवरोध थियो। गुरिल्लाहरूको निर्देशनमा चलेको संसद्ले ठूलो पार्टीले गरेको अवरोध पनि मानेन। ‘हनुमान देव’ चढे जस्ता छन् मन्त्रीहरू। झ्यालबाट, किनाराबाट उफ्रिँदै एकै पटक रोस्टममा आउँछन्। तर पनि, हामीले बल प्रयोग गरेका छैनौं। बल प्रयोग गर्ने बिन्दुमा संसद् पुगेको छैन।

तपाईंहरूको विरोधले सरकारको बिजनेस रोकिएको छैन, अनि के का लागि त विरोध ? 

हाम्रो अवरोध थियो, सरकारले मानेन। अस्वीकार गर्‍यो। किनभने गुरिल्ला राजमा कानुनी राज्य मान्ने नै होइन।  यो त सेटिङको राज हो। हामीले हाम्रो विरोध जारी राख्या छौं। माइक हान्न गएनौं। खुर्सानीको धुलो लिएर गएका छैनौं। त्यसलाई उनीहरूले कमजोरी ठान्या छन्। सम्झाउँदा गोरुले बुझ्ने भए जोत्ने मान्छेले हातमा लौरो बोक्दैनथ्यो। कतिले सम्झाएर बुझ्दैन। लौरो हामीले प्रयोग गरेका छैनौं।

एमसीसी के हुन्छ ?

यिनीहरूले संसद्बाट पास गर्छन् भन्या ? सम्झौता गर्नेहरूसँग १ सय ६५ सिट छ। एमसीसी सम्झौता गर्ने प्रचण्ड र शेरबहादुर सरकारमा छन्। साझा कार्यक्रममा एमसीसी बिर्सेछन् रे, अहिले त सम्झिए होलान् नि। ल्याएर पास गरे भै गो नि।  हामीलाई संसद्मा सहभागी हुने वातावरण नदिएको भनेकै एमसीसी पास गर्न नदिनलाई हो।

एमालेको धारणा के त यसमा ?

सरकारले हामीलाई सोध्या छैन, तपाईंहरूले किन सोध्ने ?

तपाईं आफैंले विघटन गरेकाले यो संसद् काम लाग्दैन भनेर प्रमाणित गर्न खोज्दै हुनुहुन्छ, हो ? 

संसद् पुनस्र्थापनापछि पनि हामी त सहभागी भएका हौं। मैले रोस्ट्रमबाट बोलेको थिएँ। मतदानमा पनि भाग लिएका हौं। परमादेशपछि पनि भाग लियौं नि। परमादेश असंवैधानिक हो। लेनदेन गरिएको छ भनेर उहाँहरूले नै स्वीकारी सक्नुभएको छ। फैसलाकर्ता न्यायाधीशको इमेलले पनि त्यही भन्छ। पार्टी नै फुटाउने तमासा भएपछि विरोध जारी छ। आवश्यक पर्दा विरोधको मात्रा बढ्न सक्छ। विरोध अन्त्य हुन पनि सक्छ। त्यो, सत्तापक्षको व्यवहार र रवैयामा भर पर्छ।

अर्ली इलेक्सनको तपाईंको कुरा कायमै छ कि ?

मैले अहिले त्यो भन्या छैन। तर यो संसद्ले केही दिन्छ ? केही दिइरहेको छ ? यो सरकारले केही गरिराख्या छ ? यस्तो स्थितिमा ‘पृथ्वीको भार, अन्नको शत्रु’ कायम राखेर हुन्छ के ? के फल्छ यहाँबाट ?

जुनसुकै चुनावले पनि यस्तै–यस्तै परिणाम दिइरहेको छ। अबको चुनावले दिने परिणाम पनि त्यस्तै होला नि ?

होइन, होइन। यी कुराहरूबाट जनताले शिक्षा लिइसकेका छन्। यी अनुहार जनताले चिनिसकेका छन्। नेपाली जनता चुनाव पर्खेर बसेको छ। यिनीहरूले पनि यो कुरा थाहा पाएका छन्, त्यसैले चुनाव भन्यो कि निन्द्रामा पनि झस्याङ हुन्छन्।

चुनावप्रति तपाईंको मात्र हिम्मत देखिनुको पछाडि एमालेले केही गर्छ भन्ने हो ?

एमालेले गरेको छ, गर्ने उद्देश्य छ। जनताले भोट दिन्छन् भन्नेमा त कुनै शंका गर्नुपर्ने स्थिति नै छैन।

पाँच दलले गठबन्धन बनाएर चुनावमा गए भने नि ? 

पाँच दलले गठबन्धन गर्न जरुरी छ, किनभने लड्नु एमालेसँग छ। एक्लै आउँदा खुट्टातिर समाऔं, त्यसैले कुल्चेला। हाततिर समातौं, झट्कारेर फ्याँक्देला। यसरी त खत्तम हुन्छन्। चार, पाँच जना मिलेर आउँदा पनि यी कच्याककुचुक हुन्छन्। तैपनि, एमालेको छेउमा एक्लै आउने आँटै नगरे हुन्छ। माधव नेपाल एमालेसँग चुनाव लड्ने ? प्रचण्ड एमालेसँग चुनाव लड्ने ? प्रचण्ड र माधवको बैसाखी चढेर लल्याकलुत्रुक गरेको कांग्रेस एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत गर्ने ?

कम्युनिस्टहरू फेरि एक ठाउँ भएर चुनाव लडौं भन्नुहुन्छ कि ? 

कहाँका कम्युनिस्ट ? प्रचण्ड, माधव कम्युनिस्ट ? कम्युनिस्ट आन्दोलन ध्वस्त गर्ने ? विरोधीका पाउमा लगेर बुझाउँछन्, यिनीहरू केका कम्युनिस्ट। माघ १२ गते हुने राष्ट्रियसभाको चुनावको परिणाम हाम्रा लागि नकारात्मक नै हुन्छ। किनभने यो आजको नभई हिजोको जनमतबाट छान्ने हो। त्यसमा उनीहरू खुसी हुन्छन्। यो एमालेलाई प्रहार गर्ने अन्तिम अस्त्र हो। यसपछि यिनीहरूका दिन गए। एमाले विरोधी अस्त्रको ‘डेट एक्सपायर’ हुने अन्तिम म्याद माघ १२ गते हो। अब हामी हिजोको जस्तो समीकरणको पक्षमै छैनौं। अन्नपूर्णपोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अहिलेको नेपाली हवाई उड्यन क्षेत्रको मुख्य समस्याको विषय भनेको नै नीतिगत व्यवधान हो ।- विजय श्रेष्ठ (अन्तवार्ता)

नेपालमा आर्थिक मन्दी आइसक्यो भन्न मिल्दैन – प्रा.डा. विश्वम्भर प्याकुर्‍याल (अन्तवार्ता)

कानुन संशोधन गरेर स्थानीय तहको निर्वाचन एकैपटक गर्ने गठबन्धनबीच सहमति भएको छ ।- डा. बाबुराम भट्टराई (अन्तवार्ता)

मधेशको मुद्दामा हाम्रा साझा कार्यक्रम छन् र त्यसैको आधारमा हामी सरकारमा छौं। – महेन्द्र राय यादव (अन्तवार्ता)

कोरोनाविरुद्ध तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन जरुरी छ ।- भरतप्रसाद साह (अन्तवार्ता)

प्रतिनिधिसभा चल्नै सकेन भने किन चुनावमा नजाने ? – माधव कुमार नेपाल (अन्तवार्ता)

एमालेले भनेपछी कात्तिक/मंसिरभित्र स्थानीय निर्वाचन गर्न सकिन्छ  । – पुष्पकमल दाहाल प्रचण्ड (अन्तवार्ता)

पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिदैन । : डा. रक्षा गौतम (अन्तवार्ता)

गोर्खाली साम्राज्यको विस्तारबाट हामीले जे भोग्यौं मधेसमा, त्यो व्यवहार दोहरिन्न । – उपेन्द्र यादव (अन्तवार्ता)

गठबन्धनको सरकार केन्द्रमा रहँदा पनि त्यो पीडा भोग्न बाध्य छौँ । – फखरुद्दीन खान (अन्तवार्ता)

न्यायपालिकाको स्वच्छताका लागि कार्की आयोगको प्रतिवेदन मात्र पर्याप्त छैन । – बद्रीबहादुर कार्की (अन्तर्वार्ता)

जनअपेक्षा अनुसार नै प्रदेश २ को नामकरण हुनु सबैको हितमा – रोशन जनकपुरी (अन्तवार्ता)