सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभ्य राजनीति, सभ्य समाज – डा. तुलसी आचार्य

२०७८ पुष २८, बुधबार

मान्यताहरू सम्बन्धका धमिराहरू हुन्। हेनरी विन्क्लरले भनेको यो वाक्य नेपालका सन्दर्भमा यतिबेला मननीय छ। राजनीति बुझ्न समाज, परिवार र सामाजिक मान्यताहरू बुझ्न आवश्यक छ। हामीले राजनीति बुझ्ने कोसिस गर्‍यौं तर समाज र सम्बन्ध बुझ्ने कोसिस कहिल्यै गरेनौं वा कम गर्‍यौं। आआफ्नो जीवनखुसीका लागि पतिपत्नी नमिलेर सम्बन्धविच्छेद गरेकोलाई ‘ट्याबु’ ठान्यौं। वा हेयको दृष्टिले हेर्‍यौं तर नेताहरू नमिलेर पार्टी फुटाउँदा त्यसले पारेको असरलाई बेवास्ता गर्दै स्वाभाविक ठान्यौं। नेताका भाषणलाई सबैले चाहिनेभन्दा बढी महत्त्व दियौं। नेपाली समाज, सामाजिक चिन्तन, सामाजिक मूल्य र मान्यतालाई त्यति धेरै स्थान दिएनौं।

सामाजिक मान्यता माथिको बहस गर्नुको सट्टा नेताहरूलाई ल्याएर गाली र आरोप–प्रत्यारोपको बहसमै समय खेर फाल्यौं। अनि राजनीति भनेको यस्तै खिचातानी नै हो भनेर नै बुझ्यौं। आफूअनुकूल बहकिँदा समाज बिथोलिन थालेको देखिन्छ। यस्तो गम्भीर असर भनेको समाजका नखोलिएका पाटाहरू अझै छायामा पर्ने र सामाजिक मूल्य र मान्यता माथिको छलफल न्यून हुने देखिन्छ। सामाजिक सोच, चिन्तन र मान्यताबाट राजनीति निर्देशित हुन्छ। यदि सामाजिक मान्यताहरू फराकिला हुन सकेनन् भने पनि तिनै मान्यताबाट निर्देशित राजनीति पनि संकीर्ण हुन जान्छ। त्यही भएर त्यस्ता पाटाहरूको चिरफार नगर्नु भनेको प्रख्यात फ्रेन्च विचारक मिसेल फुकोले भनेजस्तो जकडिएको सामाजिक मान्यतालाई अझ मलजल गरेर अगाडि बढाइराख्नु हो। जसको नकारात्मक असर नेपालको राजनीति तथा ‘ब्युरोक्रेसी’ (कर्मचारीतन्त्र) दुवैमा हुन जान्छ। यसर्थ समाज, परिवार, सामाजिक, मान्यता र सामाजिक तथा पारिवारिक सम्बन्धका विविध आयामलाई बुझ्नु जरुरी छ। जसले गर्दा हुन सक्ने संकीर्ण राजनीतिको र कर्मचारीतन्त्रको खतराबाट हामी जोगिन सक्छौं।

केही प्रश्नले समाज र सामाजिक मान्यता बुझ्न सघाउँछन्। जस्तो समाज अहिले २१औं शताब्दीमा आइपुग्दा पनि किन जातीयता र छुवाछूतको विभेद अझै हावी छ ? किन एउटै परिवारमा पनि छोरा, छोरी, बुवा, आमा, पति, पत्नी, सासू, बुहारीबीच बिमेल र विभेद छ। विश्वसनीयताको अभाव छ ? किन सासूले बुहारीको मन जित्न वा बुहारीलाई चिन्न सकेको छैन ? किन बुहारीले सासूलाई आफ्नै आमासरह लिन सकेको छैन ? न त आमाले बुहारीलाई आफ्नै छोरीसरह ठान्न सकेको छैन (केही अपवादबाहेक) ? सुन्दा यी प्रश्न त्यति बलिया नलग्लान्। यसको कारण भनेकै समाजका हरेक पात्र कुन मान्यतामा बाँचेका छन् ? कुन मान्यताले उनीहरूलाई निर्देशित गरेको छ भन्ने हो। सामाजिक मान्यताका आधार बिर्सिएर राजनीतिक मान्यताका ठूलाठूला सिद्धान्त र दर्शनमाथि बहस गर्न थालेपछि यी प्रश्न गौण हुन गए। अर्थात्, यी प्रश्नहरू माथिको बहसलाई गौण ठानियो र जसको असर नेपाली राजनीतिसम्म पुग्यो। त्यही भएर अझै पनि केही नेता लैंगिक समानता, जातीय विभेद र छुवाछूतका ठूला भाषण छाँटछन् तर भित्र उनीहरू नै आफूलाई परिवर्तन गर्न सकेका छैनन्।

राजनीतिक खिचातानी र झगडाको मूल समस्या के हो ? त्यसतिर लागेनौं बरु त्यसैमा रमायौं। कुन सामाजिक सोच, चिन्तन र दृष्टिकोणले उनीहरूलाई निर्देशन गरेको छ त्यसतिर बुझ्न लागेनौं। सूचना सम्प्रेषणका लागि राजनीतिक खिचातानी नै झगडाका बलिया खुराक भए। बिग्रेको राजनीतिलाई सम्प्रेषण गरेर त्यसैको सम्वद्र्धन गर्‍यौं। सभ्य राजनीतिको जग भनेको सभ्य समाज हो र यदि समाज सभ्य छ भने त्यही सभ्य समाजका पात्रहरूले गरेको राजनीति सभ्य हुने हो। सभ्य समाजले राजनीतिलाई मात्र आकार दिने होइन, व्यक्तिको सोच, उसको विचार र संसारलाई हेर्ने दृष्टिकोणलाई पनि आकार दिने हो। सही दृष्टिकोणले सही नेतृत्व दिन्छ र सही नेतृत्वले सही राजनीति बनाउँछ।

हरेक संस्था र संसद्सम्म पुग्ने व्यक्तिहरू भनेका तिनै सामाजिक पात्रहरू हुन्। ती कसैका पति हुन्, कसैका पत्नी हुन्, कसैका छोरा हुन्, कसैका छोरी वा बुहारी हुन्। कसैका सासू हुन्। उनीहरूले नै बोकेका सामाजिक मान्यता र विश्वासले त्यो संस्था वा संसद् चलेको हुन्छ। साँघुरा मान्यताले मानवीय वा आफन्तबीचको सम्बन्ध मात्र बिगार्दैन, त्यसको असर राजनीतिसम्म पुग्छ। त्यही भएर हेनरी विन्क्लरको भनाइ यहाँ सान्दर्भिक छ ‘मान्यताहरू सम्बन्धका धमिराहरू हुन्।’ राजनीतिले त्यस्तो धमिरारूपी मान्यताहरूलाई बदल्न सक्नुपर्छ। त्यस्ता मान्यतालाई बदल्ने वा सुधार ल्याउने जिम्मा भनेको आमसञ्चार माध्यम र सम्पूर्ण सचेत नागरिकको रहन्छ। कुनै देशको समाजले र सामाजिक मान्यताले त्यो देशको राजनीतिक व्यवस्थाको चरित्र वा प्रवृत्तिको निर्धारण गर्दछ। जति फराकिलो सामाजिक मान्यता भयो त्यति राजनीतिक संस्कृतिको विकास हुन्छ। देशको सामाजिक बनोट, सामाजिक मूल्य र मान्यता नबुझी र त्यसमा भएका विकृतिलाई सुधार नगरी राजनीतिक सुधारको अपेक्षा गर्न सकिन्न। सुसंस्कृत राजनीतिका लागि समाजको जग, यसका धार्मिक मूल्य तथा मान्यता र यसको जगमा बनेका सामाजिक मान्यताहरूको चिरफार महत्त्वपूर्ण रहन्छ।

राजनीतिले धमिरारूपी मान्यताहरूलाई बदल्न सक्नुपर्छ। सामाजिक विकृतिलाई सुधार नगरी राजनीतिक सुधारको अपेक्षा गर्न सकिन्न।

समाज र परिवारलाई तथा मूल्यमान्यतालाई भित्रैबाट नबुझुन्जेल, तिनीहरूको बारेमा बहस नहुन्जेल, सामाजिक सोच र चिन्तनको विकास नहुन्जेल, राजनीतिक तहमा बनिएका घोषणापत्र र बोलीहरू केवल कुनै पुस्तकको ‘ज्याकेट‘ अर्थात् बाहिरी आवरणजस्तै हुन्छन्। जसलाई हेरेर भित्र के छ ? भन्न सकिँदैन। राम्रो संविधान छ भन्दैमा त्यसले मानवीय स्वभाव बदल्न सक्दैन। समानुपातिक भनेर विभिन्न तह–तप्काबाट मानिसलाई राजनीतिमा उठाएर ल्याउँदैमा त्यो वर्गको प्रतिनिधित्व हुन्छ भन्ने हुँदैन। यदि उसलाई बोल्ने अवसर दिइँदैन भने। राजनीतिक परिवाररूपी घर संसद्मा उनीहरूलाई केवल, आलंकारिक रूपमा भन्ने हो भने पुरातन सासुले घरमा भिœयाएकी बुहारीलाई गर्ने रुढिवादी व्यवहार जस्तो मात्र हुन्छ। राजनीति भनेको समाजको पीडित व्यक्तिले राहत महसुस गर्न सकेको छ कि छैन भन्ने हो। गायत्री चक्रवर्ती स्पिभाकले भनेजस्तो ‘क्यान द सबाल्टर्न स्पिक ?’ अर्थात् के सिमान्तकृतले बोल्न सक्छ ? त्यो नै राजनीतिको मुख्य धेय हुनुपर्छ।

उद्धरणका लागि यदि महिलालाई दोस्रो दर्जाकै ट्याग भिराइयो भने समानुपातिकबाट कुनै संस्था वा मन्त्रालय चलाउन स्थान पाउन सक्छिन्। पितृसतात्मक सोचले भने त्यो संस्थामा पनि त्यही पहिलो वा दोस्रो दर्जाको सम्बन्ध स्थापित गराइरहन्छ। त्यसैगरी कथित दलित वा तल्लो जातलाई माथिल्लो स्थानमा ठाउँ दिए पनि नेतृत्व वर्गमा साँघुरा मान्यताको सोच वा स्वभाव हाबी भयो भने त्यो व्यक्ति सधंै परिधिमा नै रहिरहन्छ। अब राजनीतिलाई बुझ्न केही छिन सम्बन्धका पाटा केलाउँ, परिवारभित्रका। मानवीय सम्बन्धका विभिन्न आयाम हुन्छन्। पति–पत्नी, बावुआमा–छोराछोरी, सासू–बुहारी आदि इत्यादि। यी एउटै परिवारभित्रका पात्रहरू हुन्। यिनीहरूबीचको सम्बन्धमा दरार आए, त्यो घर परिवार तहसनहस हुन्छ। परिवार एउटा मान्यतामा चलेको हुन्छ तर त्यो मान्यता समयसँगै परिवर्तन हुन आवश्यक छ। त्यही परिवारभित्र एउटा पिँढी एउटा मान्यतामा मात्र अडिग रह्यो र अर्को पिँढी त्यो मान्यतामा सहमत भएन वा हुन सकेन भने परिवारमा धमिरा लाग्छ। सम्बन्धलाई मजबुत बनाउने त्यसको एउटै विकल्प भनेको साझा मान्यताको खोजी हो। हो, यस्तै अभ्यासको जरुरत राजनीतिमा पनि हुन्छ।

घरमा सासूले म सासू हुँ त्यही भएर बुहारीले मान्नुपर्छ भन्न थालिन् तर पालनपोषण भने बुहारीकै हातबाट भएको छ भने त्यो परिवारको आयु लामो हुँदैन। त्यसैगरी बुहारीले पनि म यो घरको बुहारी हुँ अब सबै मेरो हातमा हुनुपर्छ भन्ने हठ लिन थालिन् भने पनि त्यो परिवारमा कलह हुन जान्छ। अर्थात्, सासूले अब मेरो पालो होइन, बुहारीको पालो हो अब म यिनीहरूको खुसी हेरेर बाँकी जिन्दगी कटाउने हो भन्ने सोचले बाँच्न थालिन् भने त्यो परिवारमा शान्ति आउँछ, त्यो परिवार खुसी हुन्छ। आखिर राजनीति भनेको पनि त्यही हो। हठ त्याग्नु, साना, ठूला पार्टीलाई मिलाएर लिएर जान सक्नु, पुरानोले पछिल्लो पिँढीलाई माया तथा मार्गदर्शन गर्नु र स्थान दिनुमै सबै छ। यस्तो अभ्यास भनेको परिवारबाटै सिक्दै जानुपर्छ। र तिनै कुरा आउँदो पिँढीलाई सिकाउँदै जानुपर्छ। परिवर्तनशील पछिल्लो पिँढीलाई साँघुरा सामाजिक मान्यताभित्र राख्न थालियो भने त्यसको प्रभाव नकारात्मक पर्न जान्छ। अहिले विश्वमै चिनिएका सबैभन्दा कान्छा ९ वर्षका प्रा. डा. सोबार्नो इज्याक बरी भन्छन्, ‘जति पनि द्वन्द्व, झगडा र विद्रोह भएका छन् ती मानिसमा हुनुपर्ने माया, कल्पनाशीलता, सिर्जनशीलता, इमानदारिता आदिको अभावमा भएका हुन्।’

त्यही भएर समाज कस्तो छ कस्तो हुनुपर्छ, परिवार कस्तो हुनुपर्छ ? समाज तथा परिवारभित्र सासूको भूमिका के ? बुहारीको भूमिका के ? छोरा तथा छोरीहरूको भूमिका के ? महिला तथा पुरुषको भूमिका के ? जातजाति, छुवाछूत भनेको के ? यसले समाजलाई कसरी निर्देशित गर्छ ? मान्यताहरू के हुन् ? कस्ता मान्यताले समाज र परिवार राम्रो हुन्छ ? आदि बारेमा गहन बहस र छलफल गरिनुपर्छ। बारम्बार बहस र अन्तरक्रियाहरू गरिनुपर्छ। तब मात्र यसको सकारात्मक असर राजनीतिसम्म पुग्न सक्छ। अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

षड्यन्त्र गर्ने कि चुनाव – केशब दाहाल

संविधानका आँखामा चोलेन्द्रशमशेर राणा – बलराम के.सी.

उदारवादी जमातको विभ्रम – सीके लाल

अझै छ डेल्टाको जोखिम – डा. बालकृष्ण साह

वर्तमान सरकारका उपलब्धि – डा. सुरेश आचार्य

किन जरुरी छ स्थानीय सरकारको निर्वाचन ? – हरि रोका

नेपाली अर्थतन्त्रका केही संरचनात्मक त्रुटि – डा. श्याम उपाध्याय

लोकतन्त्र, निर्वाचन र सरकार – रमेश लेखक

नेपालमा चिनियाँ लगानी – श्याम प्रसाद मैनाली

बीआरआई-एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव – कटक मल्ल

‘मधेस’ प्रदेशपछिको मनोदशा – धर्मेन्द्र झा

भरिया संसद, झगडालु सर्वोच्च र रमिते जनता – युवराज घिमिरे