सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कम्युनिस्ट चस्माले पृथ्वीनारायणलाई नियाल्दा – नरेन्द्रजंग पिटर

२०७८ पुष २८, बुधबार

के साँच्चै कम्युनिस्ट, जनजाति, उपेक्षित समुदायले पृथ्वीनारायण शाहलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी’ भन्नु ठीक छ ? समयसँगै इतिहासलाई कसरी बुझ्ने ? इतिहासको विवेकपूर्ण वाचनका लागि तत्कालीन अवस्थाबारे आग्रहविहीन सोच र इतिहासबोध चाहिन्छ ।

इतिहासबोधका लागि इतिहासचेत आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् । विषयलाई हेर्ने दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको नजरिया र पक्षधरताबाट त्यस बखतको साँगापश्चिम र चन्द्रागिरिपूर्वको राजनीतिक भूगोलमा सँगेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् ।

हिटलरी सेनाले सोभियत रुसको भित्री भाग लेनिनगार्डमा अपरेसन बारबरोसा बाह्रौं शताब्दीका रोमन सम्राट् फ्रेडरिक बारबरोसाका नाममा चलायो । जर्मन सेनालाई परास्त गर्न सोभियत नेता जोसेफ स्टालिनले पनि रुसी राष्ट्रवाद जगाउन पिटर द ग्रेटको बखान गरे । जर्मनीले फासीवादी ‘गौरव’ अभियानमा एकीकरणका प्रणेता बिस्मार्कको याद गरायो । माओले ‘संसारको इतिहास त पढ, तर चीनको इतिहास अझ गम्भीर भएर पढ’ भने । राष्ट्रवादका लागि इतिहासका गौरवहरूको आवश्यकता पर्छ । इतिहास अणु पनि हो, परमाणु पनि । नेपाली कम्युनिस्टहरू पनि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुयायी भए, ऐतिहासिक चरणको विकासलाई द्वन्द्ववादी भएर अध्ययन गर्दै धारणा बनाए, अब पृथ्वीनारायणबारे चर्चा गर्दा झन् गम्भीर बन्नुपर्छ ।

पृथ्वीनारायणको कालखण्ड र तत्कालीन अवस्था

आजको चेतले तीन सय वर्षअघिको अवस्था अध्ययन गर्न सकिँदैन । वस्तु वा पात्रमा भएका गुण–दोषको मर्म द्वन्द्ववादी भएर मात्रै खुट्याउन सकिन्छ । बुझाइको घेरा सीमित नपारौं । बाह्र सय घरधुरी रहेको गोर्खामा पृथ्वीनारायण बीस वर्षको उमेरमा राजा भए र त्रिपन्न वर्षको उमेरमा सन् १७७५ मा नुवाकोटमा बिते । तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत रहे । अमेरिका स्वतन्त्र नहुँदै (४ जुलाई १७७६), फ्रान्समा राज्य क्रान्ति (१७८९–९९) भएर आधुनिक युग आरम्भ नहुँदै पृथ्वीनारायण राजा भइसकेका थिए । कार्ल मार्क्स जन्मिँदा पृथ्वीनारायणको निधन भएकै त्रिचालीस वर्ष भइसकेको थियो ।

हाम्रो भूगोलमा बेलायती उपनिवेशवादी क्रूर दृष्टि परेको थियो भने, बंगाल र बिहारका नबाव मिर कासिमको आक्रमणलाई परास्त गर्नुपरेको थियो । त्यस बेलासम्म पुनर्जागरणकाल (युरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा अभूतपूर्व प्रगति गरेको अवधि चौधौंदेखि सत्रौं शताब्दीसम्म) र प्रबोधनकाल (सत्रौं–अठारौं शताब्दीको युरोपेली बौद्धिक–दार्शनिक आंदोलन) का झिल्काहरूसमेत यहाँसम्म आइपुगिसकेका थिएनन् । पुँजीवादको गन्ध पनि नआएको त्यो सामन्तवादी युग थियो ।

हेमिल्टनअनुसार, पृथ्वीनारायण अत्यन्त महत्त्वाकांक्षी थिए; निर्णयक्षमता, साहस र निरन्तरको क्रियाशीलतामा असाधारण प्रतिभा थियो । उनको मृत्युको दुई दशकपछि मात्रै कर्णेल कर्क प्याट्रिक नेपाल आए । उपनिवेशवादी बेलायतलाई टक्कर दिने मात्रै होइन पराजितै गर्ने र इसाई मिसिनरीलाई देशनिकाला गर्ने, तिब्बत व्यापारमा नाका सुविधा नदिनेलाई उनीहरू राम्रो मान्नै सक्दैनथे । इतिहासका कुशल व्यवस्थापकहरू हितअनुसारको विश्लेषण गर्छन् नै, पक्षधरता लिन्छन् नै, त्यसैले बीभत्स कथा रचे । जुनसुकै युद्ध यसै पनि आदर्श र सुन्दर नभएर त्यसमा शक्तिको दमन, हत्या, प्रतिशोध हुन्छ । युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तपातविहीन युद्ध । पिछडिएको गोर्खासँग फौज र रणकौशल भए पनि विद्वत् समूह थिएन, पराजित र उपनिवेशवादीसँग इतिहास व्यवस्थापकहरू थिए । कालान्तरमा विकास भएको अभिजात वर्गले पृथ्वीनारायणको एकीकरणको महिमामण्डन गर्दा उनमा रहेको युद्धउन्माद र ज्यादती भने छिपाउन चाह्यो ।

पृथ्वीनारायणकै कुरा गर्दा, इतिहासमा मान्छेको भूमिका र कामको चर्चा गरिनुपर्छ । इतिहासको सम्बन्ध मान्छेसँगै, अतीतसँगै भएकाले घटना, पात्र र प्रवृत्तिबारे विवाद उठ्नु स्वाभाविकै हो । विगतबारे धारणा र व्याख्यामा एकमत नहुन सक्छ । चेतनशील मान्छेको अतीत वर्तमानको ज्ञानको स्रोत हो । मान्छेका काममा उसका मनोवृत्ति, विचार, रुचि, स्वार्थ, वर्गचेतना जोडिएका हुन्छन् । त्यसैले हिजोलाई नियाल्दा विवाद पैदा भएर मान्छे त्यसैको सिकार बन्न पनि सक्छ ।

इतिहासको द्वन्द्ववादी अध्ययन

विज्ञानका अन्य शाखाझैं इतिहासका पनि आफ्नै गति, लय, अनुशासन, सामाजिक संकेत र सन्देश हुन्छन् । पक्कै हो, इतिहासका भाष्य र तर्कमा वर्चस्वशाली तप्काकै रजाइँ हुनाले भुइँमान्छेको प्रतिरोधी आन्दोलन र इतिहास निमार्णमा रहेको उनीहरूको भूमिका प्रायशः उल्लेख गरिँदैन । भारतका इतिहासकार डा. लालबहादुर वर्मा भन्छन्— इतिहास मानवजातिको विकासको कथा मात्रै होइन, प्रमाण पनि हो । मानव समाज बुझ्ने मात्रै होइन, त्यसलाई फेर्ने अनिवार्य उपकरणसमेत भएकाले सभ्यता प्रगति–यात्राको नायक/खलनायकबेगरको तथ्य र मिथकमिश्रित सानदार महाकाव्य पनि हो ।

इतिहासको द्वन्द्ववादी अध्ययन नगरेकाले देश, राष्ट्र र राज्यको भूमिकाबीच फरक छुट्याउन नसक्दा, द्वन्द्ववादी भनिए पनि नेपाली कम्युनिस्टहरू पृथ्वीनारायण शाहको मूल्यांकन गर्न चुके ।

मार्क्सले प्रकृतिको द्वन्द्वात्मकतादेखि द्वन्द्वात्मक भौतिकवादसम्म पुग्दै इतिहासमा लागू गरेर ऐतिहासिक भौतिकवादसम्मको व्याख्या गरे; इतिहास गतिमान छ भनी अर्थ्याए; सामाजिक परिवर्तनका नियमहरूका आधार उत्पादनका साधन र सम्बन्धमा परिवर्तन सिद्ध गरे; इतिहासको क्रमभंगतामा वर्ग संघर्ष निर्णायक र अनिवार्य माध्यम रहेको बताए । उनले भविष्यवाणी गरे- सामन्तवादलाई पराजित गरी पुँजीवाद विकसित भएर ध्वंस हुन्छ । इतिहास प्रयोगशाला हो जसमा मानवकृतिहरूको लेखाजोखा सुरक्षित भएर त्यसै आधारमा सामाजिक परिवर्तनको वस्तुगत नियम सम्झिन सकिन्छ; अतीतलाई बुझ्न, वर्तमानलाई चिन्न र भविष्यप्रति धारणा बनाउन सकिन्छ ।

समाजका सन्दर्भमा इतिहासको भूमिका मान्छेको स्मृतिजस्तै हो । डा. बर्मा भन्छन्— स्मृति विगतको सम्झना हो । जब कुनै मान्छेले वैज्ञानिक अध्ययनमार्फत स्मृतिको संयोजन गर्दै लिपिबद्ध गरेर पुनःसंरचना गर्छ तब इतिहास जन्मन्छ । इतिहासको लेखन पनि आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवन र परिवेशमा विश्वास र अभ्यास भएको मान्छेले नै गर्छ । फ्रान्सिसी विचारक रेमो आरोंका शब्दमा— मान्छे एकैसाथ इतिहासको कर्ता र पात्र दुइटै बनिरहेको हुन्छ  । पृथ्वीनारायण पनि त्यस्तै थिए, जस्ता इतिहासका हरेक पात्र हुन्छन् ।

जतिसुकै निष्पक्ष रहेको दाबी गरे पनि इतिहासकारहरू अतीतको यथार्थ चित्रण गर्न सक्दैनन् । पूर्वाग्रहबाट मुक्ति पाउन नसके पनि वर्तमानको उपयोगी बन्ने तिनको हैसियत भने हुन्छ । इतिहासलाई समग्र विज्ञान नबनाए त्यसको महत्त्व रहँदैन । परिस्थिति कुनै नायकको नियन्त्रणमा हुँदैन । समाज विकासक्रममा कुनै बेला प्रगतिशील देखिएको सामाजिक शक्ति पनि परिस्थति फेरिएसँगै प्रतिगामी बन्न सक्छ । इतिहासबोधले नै समय र समाजलाई चिनेर युगलाई हस्तक्षेप गर्न सक्छ ।

कम्युनिस्टहरूको वर्गचेतमा दुश्मन वा मित्र मात्रै हुने गर्छन् । तर समाजमा सेतो र कालो मात्रै होइन, अन्य रंग पनि हुन्छन् । इतिहास र मिथक फरक हुन् । इतिहासको द्वन्द्ववादी अध्ययन नगरेकाले देश, राष्ट्र र राज्यको भूमिकाबीच फरक छुट्याउन नसक्दा, द्वन्द्ववादी भनिए पनि नेपाली कम्युनिस्टहरू पृथ्वीनारायणको मूल्यांकन गर्न चुके । बुर्जुवाहरूले कम्युनिस्टहरूबाट धेरै कुरा सिकेर लागू पनि गरे तर कम्युनिस्टहरू न द्वन्द्ववादी बने न त भौतिकवादी । इतिहासको अध्ययनमा द्वन्द्ववादी नभएपछि शक्ति सन्तुलन, समाज विकास, देशको संवेदनशीलता, सामन्तवादी समयका प्रतिनिधि पात्रको चरित्र खुट्याउनमा चूक हुने नै भयो । देश, राष्ट्र र राज्यका चरित्र र अवस्थाको बुझाइमा कमजोर हुँदा उनीहरूले भौगोलिक एकीकरण गरेर उपनिवेशवाद परास्त गर्ने पृथ्वीनारायणलाई राष्ट्रवादी देख्न सकेनन् ।

पृथ्वीनारायणको शासनकाल वर्चस्वशालीको शासन पद्धति पक्कै थियो तर त्यस बेला उनको अभियान नभएको भए आजको नेपालको अवस्था के हुन्थ्यो ? भुरेटाकुरे राजाहरू बेलायती उपनिवेशसामु टिक्न सक्थे ? देशको भूगोलको एकीकरण गरे पनि उनले देशको नामकरण ‘गोर्खा’ बनाउन सक्ने आधार थियो तर ‘नेपाल’ बनाएर जनताको मनोविज्ञान जिते ।

पात्र, घटना, परिवेशलाई द्वन्द्ववादी भएर अध्ययन गरे मात्रै सबल र दुर्बल पक्ष देख्न सकिन्छ; इतिहासलाई ऊर्जा बनाएर जडताबाट उम्कन सकिन्छ । भूगोल केन्द्रीकरण र आधुनिक नेपाल बनाउन पृथ्वीनारायणको भूमिका प्रगतिशील सामन्तवादीको थियो, जसले सार्वभौम भौगोलिक इकाइ निर्माण गर्‍यो । तर, असिल् हिन्दुस्थाना र चार वर्ण छत्तीस जातको मनुवादी अभ्यासले भने राष्ट्र र राज्यको मर्म ओगट्न सकेन । समाज विकासको हरेक चरणका सीमा भएझैं सामन्तवादका पनि हुन्छन् ।

इतिहासबारे धारणा बनाउनुअघि तत्कालीन समाज, चेतना र सांस्कृतिक अवस्था, उत्पादनका साधनस्रोत र स्वामित्व, आन्तरिक र बाह्य शक्ति सन्तुलन बुझ्नुपर्छ । आजका सन्दर्भमा पृथ्वीनाराण्णको सामन्ती चिन्तन र मनुवादी अभ्यासलाई निरन्तरता दिनु जति अभिजात वर्गको इतिहासको सन्देश नबुझ्नु हो, त्यति नै भौगोलिक एकीकरणमा उनको देन बुझ्न नसक्नु कम्युनिस्ट र अन्यको पनि कमजोरी हो । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

षड्यन्त्र गर्ने कि चुनाव – केशब दाहाल

संविधानका आँखामा चोलेन्द्रशमशेर राणा – बलराम के.सी.

उदारवादी जमातको विभ्रम – सीके लाल

अझै छ डेल्टाको जोखिम – डा. बालकृष्ण साह

वर्तमान सरकारका उपलब्धि – डा. सुरेश आचार्य

किन जरुरी छ स्थानीय सरकारको निर्वाचन ? – हरि रोका

नेपाली अर्थतन्त्रका केही संरचनात्मक त्रुटि – डा. श्याम उपाध्याय

लोकतन्त्र, निर्वाचन र सरकार – रमेश लेखक

नेपालमा चिनियाँ लगानी – श्याम प्रसाद मैनाली

बीआरआई-एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव – कटक मल्ल

‘मधेस’ प्रदेशपछिको मनोदशा – धर्मेन्द्र झा

भरिया संसद, झगडालु सर्वोच्च र रमिते जनता – युवराज घिमिरे