काठमाण्डौः बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ ।
खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६ घर तयार भएपछि आज औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई आवास हस्तान्तरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूमिहीन सुकुम्वासी बसिरहेकै ठाउँमा घर बनाई दिँदाभन्दा सामूहिक आवासको अवधारणा प्रभावकारी हुने विश्वासका साथ घर, शौचालय, आन्तरिक सडक सबै व्यवस्थित बनाइएको छ । तराई मधेस समृद्धि कार्यक्रमको रु ७० लाख लागतमा डेढ बिघा सरकारी जग्गामा व्यवस्थित १६ घर तयार गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
१६ घर निर्माण भइसकेको बी–बोरिङ खजुरामा यो वर्ष पाँच घर निर्माण भइरहेका छन् । तराई मधेस समृद्धि कार्यक्रमसँग गाउँपालिकाले साझेदारी कार्यक्रमअन्तर्गत अति विपन्न परिवारलाई आवास बनाएर हस्तान्तरण गरिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो ।