काठमाण्डौंः महोत्तरीका अधिकांश सरकारी विद्यालयहरू जन्ती वासको लागि प्रयोग हुने गरेको पाईएकाे छ ।
मंगलवार महोत्तरी गाउँपालिका ४ स्थित लक्ष्मीनारायण आधारभुत विद्यालयको कक्षाकोठाभरी जन्तीले प्रयोग गरेका सामान र रक्सीका बोतल समेत यत्रतत्र छरिएका अवस्थामा पाईयो ।
मंगलबार विद्यालयमा शिक्षकहरुको उपस्थिति रहे पनि छात्रछात्रा नहुँदाको दृष्य अनौठो देखिएको थियो । विद्यार्थी अनुपस्थित देखिएको बारे शिक्षकहरुसंग चासो राख्दा उनीहरुले कक्षा कोठाहरु घुम्न आग्रह गरे ।
गाउँलेहरुको दवाबका कारण जन्तीलाई वास बस्न दिनु परेको विघालयकाे कक्षा कोठाहरुमा जतातदै रक्सीका खाली बोतलहरु यत्रतत्र छरिएका मात्र होइन, फुटेको समेत देखिन्थ्यो ।
होटेल तथा रेष्टुरेन्ट जस्तै कक्षा कोठाहरुमा जन्तीहरु वसेर रातभरि मदिरा पिएको र सिसिहरु समेत त्यही फुटाएको तथा केहि कक्षा कोठामा दिशा समेत गरेकाे भेटिएकाे शिक्षकहरुले बताएका छन् ।
वडाबाट विद्यालयमा जन्ति राख्न आदेश भए पश्चात् साेमबार राती गाउँमा आएका दुई जनाको जन्तीलाई विद्यालयमै राख्ने भन्दै गाउँलेले आग्रह गरेको विद्यालयका प्रधानाध्यापक विमल पाण्डेयले बताएका छन् ।
उनले गाउँमा विगतदेखि नै जन्ती विद्यालयमै राख्ने गरेको र अन्यत्र जन्ती राख्ने कुनै स्थान समेत नभएकोले आफुले बाध्य भएर अनुमति दिएको बताए ।
उनले बालबालिकाको पठन पाठन नै अवरुद्ध हुने गरी विद्यालयलाई मदिरालयमा परिणत गरिदेलान भनेर नसोचेको बताए । उनले जन्ती आएको दुवै घरका मानिसहरुलाई विद्यालयमा जन्तीले गरेको हर्कतबारे जानकारी गराएको तर उनीहरु तत्काल विद्यालयको फोहर सफा गर्ने भन्दा पनि पन्छिन खोजेको बताए ।
