सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फोहोर व्यवस्थापनमा सेना – डा. केशरबहादुर भण्डारी

२०७९ भाद्र २८, मंगलबार

काठमाडौं उपत्यकामा थुप्रिएका फोहोरको व्यवस्थापन काठमाडौं महानगरको मेयरको जिम्मेवारी हो भनेर संघीय र प्रादेशिक सरकार पन्छिरहेका छन् । केहीअघि सिसडोल तथा बञ्चरेडाँडामा भएको अवरोध हेर्दा, सरकारमा सहभागी दलहरूले उल्टो असहयोग गरेको देखिन्छ । तर, यो विषय काठमाडौं महानगरसँग मात्र सम्बद्ध छैन ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका उपायमाथि वर्षौंदेखि सरकारी तथा गैरसरकारीस्तरमा प्रशस्त अध्ययन–अनुसन्धान भैसकेका छन् । अहिलेको आवश्यकता त्यस्ता अध्ययनले सुझाएको फोहोर व्यवस्थापनको दिगो उपाय व्यवहारमा उतार्नु हो । कुहिने र नकुहिने फोहोर छुट्याई कुहिनेलाई प्रांगारिक मल बनाउने, ऊर्जामा बदल्ने, नकुहिनेलाई पुनर्प्रयोग गर्ने, नष्ट गर्नुपरे पनि वैज्ञानिक हिसाबमा जलाउने आदि तरिका नौलो होइनन् ।

फोहोर व्यवस्थापनमा सेनालाई पनि ‘स्टेक होल्डर’ बनाउने गरी सम्भाव्यता अध्ययन अब किन नगर्ने ? काठमाडौं उपत्यका वा देशभरिको ठोस फोहोरमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा जैविक वा कुहिने किसिमको भएकाले प्रशोधन गरी ‘फायर ब्रिकेट’ बनाउने सम्भावना प्रचुर छ । यसको उत्पादन गर्न सके दिनमा चार पटकसम्म चुलो बाल्नुपर्ने सेना र अन्य सुरक्षा निकायलाई उपभोक्ता बनाउन सकिन्छ । दाउरा, कोइला, मट्टीतेल हुँदै ग्यास प्रयोग गर्न थालेको सेनाले खान पकाउन ‘फायर ब्रिकेट’ सहजै खपत गर्न सक्छ । भान्साका लागि आयातित ऊर्जामा सेना तथा अन्य सुरक्षा निकायले राम्रै बजेट खर्च गर्छन् । स्वदेशकै ऊर्जा उपलब्ध भए एकातिर सुरक्षा निकायहरू आयातित ऊर्जामा निर्भर हुनुपर्दैनथ्यो अर्कातिर विदेशी मुद्रा पनि जोगिन्थ्यो । फोहोरबाट ‘फायर ब्रिकेट’ बनाउन सके यसका लागि बजारको खोजी गर्नुपर्ने देखिँदैन । सुरक्षा निकायले त्यस्ता ऊर्जा प्रयोग गर्नुपर्ने नीतिगत व्यवस्था नै गर्न सकिन्छ, गर्नुपर्छ पनि । खर्चको हिसाबले पनि यसको उत्पादन र प्रयोग प्रत्यक्ष–परोक्ष रूपमा लाभदायी नै हुने देखिन्छ ।

‘फायर ब्रिकेट’ उत्पादन गर्न सकिए सरकार र महानगर तथा नगरपालिकाहरू दशकौंदेखिको समस्याबाट मुक्त हुनेछन् । बाँकी अजैविक फोहोरको व्यवस्थापनमा खासै समस्या पनि हुने देखिँदैन । यसबाट वातावरणीय प्रदूषण घटाउन टेवा पुग्नेछ । ‘फायर ब्रिकेट’ उत्पादन गर्ने उद्योग सञ्चालन गर्दा अरू बल्ने प्रकारका वस्तु पनि मिसाउनुपर्ने हुन्छ । यसका लागि फालिएका काठ, कागज, भुस, परालजन्य वस्तु, झारपात आदिलाई सदुपयोग गर्न सकिन्छ । पार्क, चौर, सडक, पोखरी, मठमन्दिरका परिसरमा बग्रेल्ती झारपात तथा अन्य जैविक वस्तु भेटिन्छन् । यसो गर्नाले सबैजसो स्थान सफासुग्घर हुनुका यसमा संलग्न व्यक्तिलाई रोजगारी पनि मिल्नेछ । उद्योगबाट हुने आम्दानी त छँदैछ ।

कसरी गर्ने यस्तो ?

१. सर्वप्रथम काठमाडौं महानगरले दाताहरूसमेतको सहयोग लिएर ‘फायर ब्रिकेट’ बनाउने सम्भावनाबारे अध्ययन–अनुसन्धान गर्नु जरुरी छ र यसका लागि एउटा ‘प्रोटो टाइप’ उत्पादनस्थल र ‘प्लान्ट’ स्थापना गर्नुपर्ने हुन्छ । यसरी ‘फायर ब्रिकेट’ उत्पादन गर्दा सो प्रयोग गर्ने मानिसको स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रभावबारे विशेष ध्यान पुर्‍याउनुपर्छ । अनि मात्र यस्तो परियोजनाले सफलता पाउन सक्छ । गुणस्तरीय ‘फायर ब्रिकेट’ उत्पादन गर्न सकिए यो कार्यलाई विशिष्ट परियोजनाका रूपमै अगाडि बढाउनु अनिवार्य हुन्छ ।

२. यसका लागि हाललाई काठमाडौं महानगरले सेनासँग सहकार्य गर्न सक्छ । यो परियोजना एउटा व्यावसायिक उद्योगसमेत भएकाले यसमा कुनै व्यावसायिक घरनाको संलग्नता हुनु पनि उत्तिकै जरुरी छ । यी तीनै पक्षको संयुक्त लगानीे हुन सके सञ्चालक बोर्ड अन्तर्गत कार्यकारी व्यवस्थापनचाहिँ व्यावसायिक घरनाले गर्दा नै व्यावहारिक र उपयुक्त हुन्छ । निश्चित उपभोक्ता नै सेना र अन्य सुरक्षा निकायहरू हुने भएपछि बजार खोजी गरिरहनु पर्दैन, उद्योग नाफामा चल्ने पनि पक्का छ । यस्तो उद्योगमा अनावश्यक अवरोध पनि कमै हुनेछन् ।

३. फोहोर संकलन गर्ने, प्रकृति अनुसार स्रोतमै छुट्याउने, उद्योगस्थलसम्म ढुवानी गर्ने, पुर्नैपर्ने फोहोरलाई ‘ल्यान्डफिल साइट’ पुर्‍याउने तथा अन्य व्यवस्थापकीय पक्षलाई सफल बनाउन महानगरको दृढसंकल्प चाहिन्छ । साथै यो कार्यमा सहयोग पुर्‍याउन अपुग नीतिनिर्माण अनि परिआउने विविध समस्यामा सरकारको सहयोग पनि उत्तिकै जरुरी हुन्छ । पुनर्प्रयोग हुन सक्ने फोहोरको व्यवस्थापनमा पनि यस्तै व्यावहारिक र विशेष योजना बनाई लागू गर्नुपर्छ ।

४. यो उद्योग निकै वातावरणमैत्री हुने र स्थानीयले रोजगारीसमेत पाउने भएकाले स्थानीयस्तरमा अवरोध न्यून हुने देखिन्छ ।

५. यस्तो परियोजना र उद्योग सञ्चालन ‘ल्यान्डफिल साइट’ वा नजिकको क्षेत्रमा हुनु बढी व्यावहारिक हुन्छ तर हाललाई सिसडोल तथा बन्चरेडाँडा वरिपरिका क्षेत्रलाई नै उपयोग गर्नु उपयुक्त छ ।

रज्जुमार्गको परिकल्पना

फोहोरजन्य वस्तुको ढुवानीका लागि रज्जुमार्गको निर्माण तथा सञ्चालन गर्नु व्यावहारिक हुनेछ भने सडकलाई स्थानीयको आवश्यकता र वैकल्पिक मार्गका रूपमा विकास गर्नु पनि उत्तिकै जरुरी हुन्छ । रज्जुमार्गको स्थापना/निर्माण तथा सञ्चालन विषयमा नेपालभित्रै राम्रै अनुभव र क्षमतासमेत विकास भइसकेको अवस्थामा यस्तो योजना उपयोगी हुन सक्छ ।

अन्त्यमा, उपरोक्त योजना काठमाडौंका स्वतन्त्र मेयरको यही कार्यकालमा सम्पन्न गर्न सम्भव छ, गराउन सकिन्छ । यसलाई सफल गर्न सकिए यो मोडल विश्वका लागि नै उदाहरणीय हुन सक्छ । गुणस्तरीय ‘फायर ब्रिकेट’ उत्पादन हुँदा सुरक्षा निकायले मात्र होइन व्यवसायी तथा सर्वसाधारणले समेत प्रयोग गर्नेछन् । केही हदसम्म ऊर्जा आयातमा खर्च हुने डलर जोगिनेछ । अझ यस्तो परियोजनालाई राष्ट्रिय गौरवकै परियोजना बनाउन सके काम गर्न झनै हौसला मिल्नेछ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रोकौं गालीमा ताली – डा. अतीन्द्र दाहाल

गठबन्धन : फगत सत्ता – केशव दाहाल

राजनीति, पत्रकारिता र चुनाव – किशोर नेपाल

मधेस विरोधी थिए महेन्द्र ? – डा.राजेश अहिराज

पतनोन्मुख नेपाली उदार मध्यपन्थ र वामपन्थ – हरि रोका

जब वामपन्थी असफल हुन्छन् – झलक सुवेदी

अन्तर्ध्वंसको खतरामा संवैधानिक प्रणाली-कृष्ण खनाल

पिलिक–पिलिक बलिरहने राष्ट्रपतिः राजाराम गौतम

सैनिक शासन या राज्य विघटनको पृष्ठभूमिः देवप्रकाश त्रिपाठी

न्यायालयको जटिल घडी – श्यामप्रसाद मैनाली

नागरिकता विधेयकमा बलमिच्याइँ – डा. विमला राई पौड्याल

महाभियोगको अस्त्र, गठबन्धनकै कन्चटमा ! – कृष्णमुरारी भण्डारी

%d bloggers like this: