सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘प्रचण्डले आफ्नो फाइदा र शक्ति आर्जन गर्नका लागि हामीलाई लात हान्ने तयारी गरेका थिए ।’ – केपी शर्मा ओली (अन्तवार्ता)

२०७९ मंग्सिर १, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं चुनावी दौडाहामा दार्चुलादेखि काठमाडौंको एलओडी क्लबसम्म पुग्नुभयो । जनताको अपेक्षा र तपाईंको आफ्नै मूल्यांकन कस्तो रह्यो ?

जनतामा असाधारण उत्साह र लहर छ । एमालेप्रति व्यापक आकर्षण छ । एमाले प्रतिपक्षमा छ तर सत्तापक्षका विभिन्न दल परित्याग गरेर नेता, कार्यकर्ता एमालेमा प्रवेश गरिरहनुभएको छ । यसभन्दा अगाडि यस्तो ‘ट्रेन्ड’ थिएन । एउटा वैचारिक पूर्वाग्रहको स्थिति थियो, वैचारिक अस्पष्टताको कुरा थियो ।

तर, यसपल्ट ‘आइडियोलजिकल प्रेजिड्युस’ हटेको देखिन्छ । एमालेलाई साँच्चै देशभक्त, स्थिरता, स्थायित्व, सामाजिक न्याय, समानताको पक्षमा, भ्रष्टाचारविरुद्ध रहेको, सुशासन र विकासको एउटा अभियन्ताका रूपमा जनताले बुझेका छन् । एमालेका नीतिहरूले जनतामा आकर्षण जगाएका छन् । आन्तरिक हुन् वा बाह्य नीति, छिमेक नीति होस् कि अन्तर्राष्ट्रिय सम्बन्ध, यी सबैमा एमाले सन्तुलित, दृष्टिकोणयुक्त, अडानयुक्त र क्रियाशील छ भन्ने जनतालाई थाहा भएको छ ।

अघिल्लो चुनावका बेला तपाईंले राजनीतिक स्थिरता, समृद्धि र राष्ट्रियताको कुरा उठाउनुभएको थियो । यसपटक घोषणापत्रमा बुँदागत हिसाबले त केही कुरा आएका छन् । तर तपाईंले चुनावी अभियानमा यो मूल मुद्दा हो है भनेरचाहिँ उठाउनुभएको देखिएन नि ?

हामी आकर्षक मुद्दा र नारा फ्याँकेर जनतालाई अलमल्याउने अथवा कुनै झिल्के कुरा गरेर चुनाव जितिहालौं भन्ने होइन, देश बनाउने उद्देश्यमा छौं । त्यसका लागि बहुमत ल्याउने, सरकार बनाउने उद्देश्यमा छौं । त्यसकारण संक्षिप्तमा समग्रताका कुरा गर्दा एउटा चीजमा ‘फोकस’ गरेन भन्ने लाग्या होला । हामीले फोकस गरेका छौं– २० वटा ग्यारेन्टी । महाभारतको एउटा कथा छ– कृष्णले मख्खन खाए भनेर आमाले गाली गर्दा कृष्ण मुख बन्द गरेर चुपै लागेर बसे । आँ गर, मुखमा हेर्छु भन्दा बालक कृष्णले मुख आँ गर्दा विश्वरूप देखिएको थियो । २० वटा ग्यारेन्टीभित्र देश विकास, सुशासन, सुरक्षा सबै पक्षको राष्ट्रिय विकासको खाका देखिन्छ– त्यो विश्वरूप भनेजस्तै । त्यहाँ आवश्यक प्रतिबद्धता सबै छन् ।

अहिले दलका नेताहरू पुराना भइसके, नयाँ पुस्ता आउनुपर्‍यो भन्ने आम माग छ । यसबारे के भन्नुहुन्छ ?

कुनै देशमा प्रणाली बसिसकेको अवस्थामा एउटा कुरा हो । त्यस्ता देशमा प्रहरीले आफ्नो काम प्रक्रियाअनुसार गर्छ । कानुन, नियम हुन्छन् । कर्मचारीतन्त्र स्थायी, सक्षम, निष्पक्ष र दह्रो हुन्छ । हाम्रो देशमा यी सबै कुरा भइसकेका छैनन् । काम गर्ने प्रणाली नै बसिसकेको छैन ।

फेरि, देशहरूका आ–आफ्नै प्रणाली हुन्छन् । जस्तो– कुनै देशमा जतिपल्ट पनि प्रधानमन्त्री हुन पाइन्छ, कुनैमा पाइँदैन । त्यहाँको सामाजिक संरचनाले त्यसलाई तय गर्छ । अमेरिकामा दुईपल्टभन्दा बढी राष्ट्रपति हुन पाइँदैन । कतै एकपल्ट न्यायाधीश भएपछि बाँचुन्जेल भएकै भयै हुन्छ । अनुभवी मान्छे चाहिँदैन भन्ने होइन रहेछ । त्यहाँ सिनेट बलियो छ, कंग्रेस बलियो छ । सिनेटमा उहिलेदेखिका मान्छे छन् ।

तपाईं थिति बस्यो भने कार्यकारी पदमा २ पटकभन्दा बढी बस्न नपाउने व्यवस्थाको पक्षमा हुनुहुन्छ त ?

अवश्य पनि । त्यो थिति बसाउन सकिन्छ । देशको लाचारी के भने नसके पनि, जेसुकै भए पनि त्यही मान्छे राखिरहनुपर्ने । दोहोर्‍याएर, तेहर्‍याएर पाँचपल्ट पनि बनाउनुपर्ने, केही गर्न नसके पनि । यो लाचारीबाट त देशलाई मुक्त गर्नुपर्छ । ली क्वान यूले कसरी सिंगापुरलाई ‘लिड’ गरे ? राम्रो त ६–६ महिनामा फेर्न पाए नयाँ–नयाँले पालो पाउँथे होला नि ! तर त्यसो गर्दा नीति कति मजबुत हुन्छ ? त्यसको कार्यान्वयन कति हुन्छ ? त्यसमा कस्तो नेतृत्व विकास हुन्छ ? देश चलाउने, विकास गर्ने कुरा कुनै लहडबाजी, ‘म्युजिकल चेयर’ को खेल हो र ? कुर्सीको छेउमा जो पुग्यो, थ्याच्च बसिहाल्ने ?

हाम्रो जुन संरचना छ, त्यसमा त प्रधानमन्त्री बन्ने कुरा म्युजिकल चेयरजस्तै छ नि ?

अब त्यस्तो हुँदैन । यस कुरालाई हल्का, भावावेशको ढंगले लिइएको छ । विषय त्यस्तो होइन, देश चलाउने हो, देशमा सुशासन ल्याउने हो । देशको सेना चलाउने विषय हो । सेना चलाउने विषय ‘भइहाल्छ नि’ भनेजस्तो कुरा होइन । वैदेशिक मामिला चलाउने विषय हो । अन्तर्राष्ट्रिय सम्बन्ध चलाउने विषय हो । यी सबै चीज सञ्चालन गर्न ‘वेट’ पनि पुग्नुपर्छ । अनुभवको ‘वेट’ चाहियो । मान्छेको जनविश्वास आर्जन गरेको हुनुपर्छ । इतिहास हुनुपर्छ ।

मैले भन्ने गरेको छु, युवालाई जहिले पनि प्रोत्साहन गर्छु– आउनुस् न, मैदानमा उत्रिनुस् न । चुनावमा आफ्ना तर्क गर्नुस्, आफ्नो श्रेष्ठता देखाउनुस् । दलीय व्यवस्था भएन भनेर निर्दलीयको वकालत किन गर्नु हुन्छ ? विश्वभरका मान्छे मूर्ख हुन् ? विश्वभर सरकार दलहरूले चलाएका छन् । दलले नै चलाउने हो । दलले उम्मेदवार उठाउँछन्, दलले छान्छ । अमेरिकामा राष्ट्रपति आफैं उठ्दैन, दलले उठाउँछ, ‘प्रोजेक्ट’ गर्छ अनि हुँदै गएर त्यो दलको उम्मेदवार हुन पाउने पनि ‘क्राइटेरिया’ हुन्छ । यहाँ आफ्नै खालका सीमा छन् । नेपाली कांग्रेसले २०५६ सालमा कृष्णप्रसाद भट्टराईजीलाई भावी प्रधानमन्त्री भनेर प्रोजेक्ट गर्‍यो । अघिपछि त्यसो गर्न सकेको छैन ।

यसपालि त बग्रेल्ती छन् नि सबैले म अबको प्रधानमन्त्री भनेर दाबी गरेका छन् । तपाईंले पनि गर्नुभएको छ नि ?

हैन, मैले गरेको छैन । एमालेले बिलकुल सर्वसम्मतिका साथ हाम्रो पार्टीले चुनाव जितेपछि हाम्रो अध्यक्ष प्रधानमन्त्री भएपछि चलाउने भनेको हो । हाम्रो नेता हाम्रो अध्यक्ष हुने भनेर प्रोजेक्ट गरेको छ ।

अघि तपाईंले प्रधानमन्त्रीको कार्यकाल थिति बसेपछि २ पटक मात्रै राख्ने गरी संविधानमा व्यवस्था गर्न उचित हुन्छ भन्नुभयो । त्यो थिति कहिलेबाट बस्ने ?

अनुभवले बिस्तारै समाजलाई व्यवस्थित गर्दै लान्छ । कहीँ पनि एकैचोटि यी चीज भएका हुँदैनन् । कुनै चीज खेल्न सिक्दै ‘परफेक्ट’ खेलाडी भएको हुँदैन । प्रणाली पनि त्यही हो, देश पनि त्यही हो, सबै चीज त्यस्तै हुन् । तपाईंले धनुकाँण चलाउने विद्या सिक्दा निसानामा लगाउने कि नलगाउने त गफ दिएर हुँदैन नि । तर, कतिपय यस्ता सब्जेक्टिभ कुरा हुन्छन्, जसमा गफ दिए पुग्छ । यस्तो गफले देश चल्ने होइन । देश चलाउनु खेल खेल्नुजस्तो होइन, अलिक गम्भीरै कुरा हो ।

धेरैजस्तो त खेल खेलेजस्तै भइसक्यो, धेरै हेलचक्य्राइँ भइसक्यो भन्ने आम बुझाइ छ नि ?

छँदै छ । अहिलेको गठबन्धन नै हेलचक्य्राइँ हो, खेलाँची हो । यो खेलाँची जस–जसले नगर्नुपर्थ्यो, उनीहरूले नै गरेका हुन् ।

२०७४ सालको चुनावमा तपाईंले बहुमत पाउनुभयो । केन्द्र र चार प्रदेशमा त एमालेकै सरकार थियो । तर पूर्ण अवधि चलाउन सक्नुभएन । जनताले दिएको म्यान्डेटअनुसार नेतृत्व गर्न सक्नुभएन । तपाईंले अरूलाई आक्षेप लगाएर भाग्न मिल्छ ? यसमा तपाईं आफूलाई जिम्मेवार ठान्नुहुन्न ?

तपाईंको प्रश्न उल्टो भयो । पार्टीको चुनावी तालमेल अरूले गराइदिएको, मचाहिँ हेरेर बसेको र त्यसको फल खाएको हो र ? पार्टी एकता अरूले गरेको, मैले फुटाएको हो ? एकता जोगाउन मैले नसकेको ? प्रचण्डजस्तो अस्थिर, स्वार्थकेन्द्रित, आत्मकेन्द्रित मान्छेलाई एक ठाउँमा ल्याएर चुनावी तालमेल गरेर पार्टी एकता गराई आफ्नो मातहतमा राखेर यति चलाउनु सजिलो कुरा थिएन । त्यो कुरा मैले सम्भव बनाएँ । जंगली घोडाको जगर समाती पिठ्यूँ चढेर सवार हुनुजस्तै थियो ।

प्रचण्डको पनि त तपाईंमाथि यस्तै टिप्पणी होला नि– केपी शर्मा ओलीजस्तो एकदमै अप्ठ्यारो मान्छेलाई पनि यसरी साथसाथै लैजान खोजें तर सकिनँ भन्ने !

होला । म त्यो वादविवादमा जान चाहन्न । परिणामले पछि देखाइहाल्छ । यस्तो कुरामा दन्त बझानको अर्थ छैन । मेरो र प्रचण्डको वैचारिक लडाइँ पुरानो हो । प्रचण्डले २०५२ सालमा हिंसा सुरु गर्दा मैले त्यसको विरोध गरें । अहिले संवैधानिक र शान्तिपूर्ण बाटा खुला छन्, जनताका बीचमा जान पाइन्छ, यसो नगर्नुहोस् भनें । उहाँहरूले महान् जनयुद्ध हुन्छ आदि/इत्यादि भन्नुभयो । जनवाद कायम गर्छौं, समाजवाद कायम गर्छौं, आकाशका तारा मात्रै होइन, जून पनि झार्छौं भन्नुभयो । बहसको निष्कर्ष देखियो नि त, कहाँ पुग्यो ? मैले प्रचण्डपथ काम लाग्दैन, जनताको बहुदलीय जनवाद ठीक छ भनेको थिएँ । उहाँहरूले मान्नुभएन । प्रचण्डपथ कहाँ हरायो ? आखिर जनताको बहुदलीय जनवादमै आउनुपर्‍यो त ।

अहिले देशको अवस्थालाई हेरेर राजनीतिक पार्टीहरू गम्भीर हुनुपर्छ । जस्तो, कतिले सबै नेता उस्तै हुन् भन्दै छन् । यो कांग्रेस र माओवादीले चलाएको कुरा हो । उनीहरू चरम ‘फ्लप’ खाएका पार्टी र नेता हुन् ।

तपाईंलाई आफूचाहिँ फ्लप भएँ भन्ने लाग्दैन ?

मैले यति शक्ति आर्जन गरिसक्न पाएको छैन, जसले देशलाई एउटा भिन्न परिस्थितिमा पुर्‍याओस् । भिन्न परिस्थितिमा जाने बाटोतर्फ मैले लगेको हुँ, त्यसमा व्यवधान गरे । त्यसमा अदालतसमेत मिल्यो । ‘सेटिङ’ भयो । परमादेश भयो । संसद्को अधिकार खोसेर अन्तैबाट प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने खालका असंवैधानिक, अलोकतान्त्रिक र असंसदीय खालका क्रियाकलाप भए । त्यसलाई रोक्न सक्ने सामर्थ्य मैले आर्जन गर्न सकिराखेको रहेनछु । अब त्यो गर्न खोज्दै छु ।

संविधानको प्रावधानअनुसार एउटै पार्टीले सरकार बनाउने देखिँदैन । निर्वाचन प्रणालीअनुसार पनि सरकारमा दाबी गर्दा कसै न कसैसँग तालमेल गर्नुपर्ने हुन्छ । कसरी जाने योजना छ ?

कतिपय कुरामा संविधान निर्माताहरूमा पर्याप्त ज्ञानको कमी भयो । हामीले प्रतिनिधि कस्ता छान्यौं भने जो साक्षरसमेत थिएनन् । संविधान बनाउन त्यस्ता मान्छे आए, हामीले ल्यायौं । हामीले त्यस प्रकारको संवैधानिक व्यवस्था गर्‍यौं ।

निर्वाचन प्रणालीका प्रावधान फेर्नुपर्ने कुरा गर्नुभएको हो ?

हो, कतिपय प्रावधान फेर्नुपर्ने हुन सक्छ । तर, अहिले म ती कुरामा जान चाहन्न । यति बेला व्याख्याका नाउँमा संविधानका प्रावधान फेर्ने, संविधानमा व्यवस्था नभएका कुरा संशोधन गर्ने, परिवर्तन हुने खालका अनेक स्वार्थका कारण यी कुरापट्टि पर्याप्त ध्यान नगएको होला । तर, यथार्थ त्यही हो । त्यसो भएर संविधान रक्षाको प्रश्न महत्त्वपूर्ण छ यति बेला । अहिले दलीय व्यवस्था र दलहरूविरुद्ध जसरी स्वस्फूर्त देखिने तर संगठित अभियान चलाउन खोजिएको छ, त्यसले केही संकेत गरेको छ । त्यसप्रति सजग रहनुपर्छ ।

कस्तो संकेत गरेको छ ?

बहुदलीय व्यवस्था र दलीय प्रणालीकै विरुद्ध आवाज आएको छ । यो स्वतन्त्र ढंगले देखिन्छ तर एउटै आवाज सबै ठाउँबाट आउँछ । त्यसको उद्देश्य के देखिन्छ भने दलहरूलाई बदनाम गर्ने, दलहरूप्रति जनविश्वास घटाउने, कोही केही गर्न सक्दैन यस देशमा भन्ने पार्ने । एउटा ठिटो उभिएर देश बन्ला ? एक जना उफ्रिएर देश बन्ला ? राजनीतिमा लाग्दै नलागेको अनुभवविहीन मान्छेलाई देश, प्रशासन, संसदीय प्रक्रियाका बारेमा थाहा होला ? संसद् र सरकारका काम कर्तव्य के–के हुन्, सरकार कसरी चल्छ, राज्यका विभिन्न अंगको भूमिका कस्तो हुन्छ, शक्ति पृथकीकरणको सिद्धान्तबारे थाहा होला ? राज्यका अंगहरू आ–आफ्नो क्षेत्रमा स्वतन्त्र हुन्छन्, स्वायत्त पनि हुन्छन् भन्ने कुरादेखि लिएर विश्वको राजनीतिक अर्थतन्त्र आदि कुरा कसरी अगाडि बढेका छन् भन्ने जानकारी नलिई कसरी चल्छ ?

यी सबै जानकारी र अनुभव त राजनीतिमा लागेपछि जान्ने कुरा हैन र ? राजनीतिमा लाग्नु अगाडि नै कसरी थाहा हुन्छ ?

एक जना लाग्यो ठीक छ । अमेरिकामा राष्ट्रपति ‘इन्डिपेन्डेन्ट’ छानिएकै छैन, छानिँदैन । दलकै राष्ट्रपति छानिन्छ । र, ऊ त्यो दल विशेषको हुन्छ । उसका सिनेटर हुन्छन् । त्यो दलका कंग्रेसम्यान हुन्छन् ।

यो चुनावमा स्वतन्त्र व्यक्तिभन्दा दलहरूलाई नै मत दिनुपर्‍यो भन्ने तपाईंको आग्रह हो ?

हैन, म यसमा अहिले प्रवेश गरिरहेको हैन । तपाईंले अहिले जुन सोध्नुभयो नि, दलहरूचाहिँ यस्ता छन्, उस्ता छन् भनेर । यो होइन । दल र दलीय प्रणालीविरुद्ध यो संगठित ढंगले क्याम्पेन चलाउन खोजिएको छ । बाहिर इन्डिभिजुअल देखाइएको छ । यथार्थ यसो हैन । सबै दल उस्तै छैनन् । सबै नेता उस्तै छैनन् । अनि, यो प्रणाली यहाँसम्म आइपुग्दा कोही पनि केटाकेटीले अहिले मै हुन्छु प्रधानमन्त्री भन्न पाइन्छ ।

निर्वाचनपछि को बन्छ त प्रधानमन्त्री ?

एमालेले भनेको तपाईंले सुन्नुभएको होला ।

तपाईंहरूले कति सिट ल्याउनुहुन्छ, आकलन गर्नुभएको होला नि ?

हामीले मिसन ‘हन्ड्रेट फिफ्टी’ भनेका छौं । १५० सिट ल्याउने उद्देश्यका साथ अगाडि बढेका छौं । बहुमत ल्याउँछौं ।

यो त असम्भवजस्तो लाग्दैन र ?

जनताले भोट दिएपछि कसरी असम्भव लाग्छ ? २७५ मध्ये १५० सिट हामीले ल्याउँदा १ सय २५ सिट त अरूलाई बाँकी नै छ नि । असम्भव कसरी भयो ? जनताले हाम्रो नीति, हाम्रो काम र व्यवहारको हिसाबले हेर्दा पूर्वाग्रही केही तत्त्वबाहेक अरूले अवश्य नै अन्त भोट दिने ठाउँ नै छैन ।

मानौं, त्यो खालको परिस्थिति भएन र तपाईंहरू ठूलो दलका रूपमा आउनुभयो भने गठबन्धन बनाउनुपर्ने, तालमेल गर्नुपर्ने अवस्थामा एमालेको प्राथमिकतामा कुन दल हुन्छ ?

यो गठबन्धन भन्ने शब्दै मलाई मन पर्दैन । मचाहिँ तालमेल मात्रै भन्छु । गठबन्धन भनेको अति नराम्रो कुरा हो । गठबन्धन गर्दा पनि गर्दैनौं । त्यस्तो स्थिति नै आउँदैन । एमालेको बहुमत नआउने हुँदै हुँदैन । अब तपाईंले भनेजस्तै, एकछिन मानिलिऔं, एमालेको बहुमत आएन भने हामी देशभक्त, लोकतान्त्रिक, भ्रष्टाचारविरुद्ध लाग्न मञ्जुर, सुशासनका निम्ति काम गर्न र विकासको अभियानमा हामीसँगै हिँड्न तयार हुने शक्तिलाई साथ लिएर अगाडि बढ्न सक्छौं ।

त्यसमा को पर्छ– पहिले सँगै रहेको माओवादी ? अनि तपाईंहरूबाटै अलग्गिएको नेकपा एस पनि छ ।

नेकपा एस भन्ने छ नि, त्यो त राष्ट्रिय पार्टी नै हुँदैन । अब उसको कति सिट आउँछ, त्यसबारे मैले किन कठोर वचन बोल्ने । चुनाव आउन तीन दिन छ । उहाँहरू गरिखानुस्, चुनावपछि कुरा गरौंला उहाँहरूसँग । व्यक्ति त रहनुहुन्छ नि एक–दुई जना । अहिले उहाँहरू कांग्रेसको पुच्छर पक्रिएपछि बैतरणी तरियो भन्नुहुन्छ । कांग्रेस आफैं त बैतरणी तर्दैन, पुच्छर पक्रनेहरू के तर्नु ? त्यसकारण उहाँहरूको कुरै गर्नुपरेन ।

कुनै बेला माधव नेपाल पनि सँगै बस्ने अवस्था रहन्छ ?

अँ, संसद्मा आएर ?

संसद्मा आएर पनि, एमालेका सन्दर्भमा पनि !

उहाँहरूले एमाले सिध्याउन खोज्नुभएको हो । पार्टीका कार्यकर्तालाई म केही पनि भन्दिनँ, उहाँहरू आउन सक्नुहुन्छ । तर, नेताहरूको हकमा तपाईंहरूले सुन्नुभएकै हो, व्यक्तिगत व्यवहारमा देख्नुभएकै हो । संसद्मा, अदालत, निर्वाचन आयोग, अरूतिरको सेटिङ देख्नुभएकै हो । अदालतमा त मुद्दै फैसला हुँदैन नि अहिले । जे मन लाग्यो, तुरुन्त फैसला हुन्छ । संसद्मा पनि त्यही हो, कोर्टमा पनि त्यही हो । यहाँ त व्यवस्थापिका, कार्यकारिणी र न्यायपालिका आफ्नो कर्तव्य पालनामा जसरी अडिनुपर्थ्यो, त्यो हुन सकेन । दुःखको कुरा हो त्यो । एमालेका लागि एकछिनको कुरा होला, राष्ट्रका लागि दूरगामी कुरा हो । त्यस्तो अवस्थामा उहाँहरू लाग्नुभयो । केही भनिरहनु नै परेन । माओवादीले त प्रत्यक्षमा कांग्रेसको समर्थनमा ७ सिट ल्याउला कि जस्तो लाग्छ ।

यो त साह्रै अवमूल्यन भएन ?

थोरै हो सात भनेको ? (औंला भाँच्दै) १, २, ३, ४, ५ औंला सिद्धिए, ६, ७ दुई वटा थप्नुपर्छ । कम त भएन नि ।

तपाईंले आकलन गरेजस्तो नभएर अलि ठूलै पार्टीका रूपमा माओवादी तेस्रो शक्ति बनेमा तालमेलको सम्भावना हुन्छ ?

अब सुन्नु न, एमाले थियो र खुरुखुरु भोट हालिदिएका थिए । कांग्रेसले माओवादीलाई भोट हाल्छ ? हिजो गाउँ–गाउँमा कांग्रेसका नेता/कार्यकर्तालाई रेटीरेटी मारिए । सहिद बनाइए । ढुंगामा राखेर बन्चराका पासाले हानिए । रूखमा बाँधेर निर्मम यातनाका साथ मारिए । तिनका परिवार छन् । कांग्रेसले भोट दिनेवाला छ ?

एमाले र माओवादी कार्यकर्ताबीचमा पनि त्यस्तो अवस्था थियो नि ?

तर कम्युनिस्ट भन्ने थियो । अर्को, सच्चिएला भन्ने थियो । त्यो अपेक्षाले एमालेका कार्यकर्ताले भोट हाले । अर्को, एमाले धेरै अनुशासित पार्टी हो । यसो गरौं भनेपछि गर्ने, दुई–चार जना नेताबाहेक । आम कार्यकर्ता पंक्ति अनुशासित छ । त्यस कारण भोट हाले । यसपटक कांग्रेसले भोट हाल्नेवाला छैनन् । केहीले हाल्छन् होला । त्यसै कारण मैले केही सिट दिएको छु । आफ्नै बुतामा कहाँ जित्छ र ?

तपाईंको आकलनमा कांग्रेस नेतृत्वको गठबन्धनले कति सिट जित्ला त ?

चित्रबहादुर केसीहरूको पार्टीले अघिल्लो निर्वाचनमा एक सिट ल्याएको हैन ? यसपटक गठबन्धनमा अर्को छ एस भन्ने पार्टी । झुक्कलपुक्कलमा एक/दुई वटा आइहाल्ला कि ! तर समानुपातिकमा ३ प्रतिशतभन्दा माथि जाँदैन । चित्रबहादुर केसीको पार्टीको अहिले एउटा पनि सिट आउँदैन । लोसपाले मुस्किलले ल्यायो भने दुइटा । राष्ट्रिय पार्टी बन्ने सम्भावना छैन, ३ प्रतिशत पुग्दै पुग्दैन । ३ वटा पार्टीको धेरै आयो भने ४ सिट । माओवादीको ७ सिट हो । कांग्रेसबाहेक सबै पार्टीको १० सिट भयो । कांग्रेसले अघिल्लो निर्वाचनमा २३ सिट ल्याएको हैन ? देशलाई भड्खलामा हाल्ने अपवित्र गठबन्धनको यसपालि दुर्गति हुँदै छ ।

साह्रै ‘अन्डरस्टिमेट’ गर्नु भएजस्तो लाग्दैन तपाईंलाई ? कि यो चुनावी ‘स्टन्ट’ मात्रै हो ?

यत्रो विघ्न सिटको सम्भावना पनि छ है भनेको छु । कसरी अन्डरस्टिमेट भन्नुहुन्छ तपाईं ? कांग्रेसले कति सिट ल्याउँछ ? उठाएको ८६ सिट हैन ? ८६ सिट उठाउने अनि आउँछ कति त ? एमालेले के हेरेर बस्छ, गुच्चा खेलेर बस्छ ?

तपाईंको अनुमानमा कांग्रेसले पाउने सिटचाहिँ कति रे ?

हामीले हाम्रो टार्गेट गरेर हिँडेका छौं, अरूको हिसाबकिताब छाडिदिऔं । हामीले हाम्रो ‘हन्ड्रेट फिफ्टी’ भनेका छौं, त्यति भए पुग्छ ।

भनेपछि राष्ट्रिय पार्टी एमाले, कांग्रेस र माओवादी मात्रै ?

जसपा पनि छ । राप्रपा पनि आउने सम्भावना छ ।

तपाईंहरू वामपन्थी पार्टीहरू विभाजित भएर चुनावमा जानुभएको छ । सोचेजति सिट कसरी आउला र ?

कहाँ को–को विभाजित भए ?

तपाईंहरू, माओवादी र एकीकृत समाजवादी ।

माओवादी त हिंसामा हिँडेको पार्टी हो । प्रचण्डले हिंसामा हिँडाएको पार्टीलाई हामीले समातेर ल्याएका थियौं । अब न हिंसामा फर्कन सक्छ न चुनावमा लड्ने ल्याकत राख्छ । यो चुनाव एक हिसाबले अन्तिम हो । अर्को पटक त कांग्रेसले दौराको फेर समातेर हिँड्छु भन्दाखेरि पनि हिँड्न दिँदैन । दुई–चार वटाले पार्टी छाडेर हिँड्दा के विभाजित भन्नुहुन्छ ? त्यो किर्नु हुन्छ नि भैंसीमा ? खान्छ, खान्छ, खान्छ अनि अघाएपछि अडिँदैन, पुर्लुक्क झर्छ । एक–दुई जना मानिस एमालेभित्र त्यस्तै केही अघाएकाहरू, पार्टीले दिएका अवसर लिएकाहरू अब पार्टी चाहिँदैन भन्नेहरू हुन् । भैंसी किन चाहियो र ! पेटले धान्नेजति रगत खाइसकेपछि छाड्यो । किर्नु झर्दैमा भैंसी सिद्धियो, विभाजित भयो भन्ने ? किर्नु र भैंसीमा छुट्याउनुस् न । किर्नु झरेको हो । कहाँको कम्युनिस्ट पार्टी विभाजन भएको भनेको ?

चोइटिएको, विभाजन भएको जे–जस्तो अर्थ लगाए पनि आखिर तपाईंले राप्रपा, जसपासँग तालमेल गर्दै हिँड्नुपरेको छ नि ?

हिँड्नुपरेको हैन । जसपा, राप्रपासँग तालमेल चुनाव जित्नका लागि गरेको हो । त्यो बाध्यताको हैन ।

चुनावपछि सरकार बनाउने बेला दुई ठूला दल एमाले र कांग्रेस नै मिल्न सक्ने वा बाहिरबाट समर्थन गर्न सक्ने सम्भावना कति रहन्छ ?

बाहिरबाट समर्थन दिने सम्भावना राजनीतिमा हुँदै हुँदैन भन्न सकिँदैन । त्यो पनि परिस्थितिको कुरा हो । कांग्रेस र एमाले सरकारमा सँगै जान पनि सक्छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला कांग्रेसले समर्थन गरेको थियो, सरकारमा सँगै थियो । गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेला म उपप्रधानमन्त्री थिएँ, परराष्ट्रमन्त्री थिएँ । त्यस्ता सम्भावनालाई अवस्थाअनुसार नकार्न सकिँदैन । उहाँहरूको सरकार बन्यो भने त्यहाँ व्यक्तिगत स्वार्थको टकराव हुन्छ । तर उहाँहरूको सरकार बन्नेवाला नै छैन । के भनेर उहाँहरूलाई जनताले भोट दिने ? बनिहाल्यो भने पनि आफ्नै स्वार्थको खिचातानीमा ङारङारङुरङुरमा उहाँहरूको समय सकिन्छ । ६ महिना पनि टिक्दैन । दोस्रो, उहाँहरूसँग देशका बारेमा न भिजन छ, न मिसन छ, न परिचय छ, न चिन्तन छ, न चिन्ता छ । उहाँहरूबाट देश चल्दै चल्दैन ।

देशमा सात सालदेखि ५ वर्षसम्म पुर्‍याउने सरकार किन बनेन भने आजसम्म एमालेजस्तो भिजन र कमिटमेन्ट भएको पार्टीको बहुमत आएन । ०७४ निर्वाचनमा पनि हाम्रो बहुमत आएको थिएन । तालमेल हुँदा पनि ८० सिट प्रत्यक्षमा र ४१ सिट समानुपातिकमा गरेर १२१ सिट ल्याएका थियौं । बहुमत पुर्‍याउन १३८ चाहिन्छ । चुनावपछि सरकार बनाउन नदिन पनि अन्य सम्भावनाको खोजी भयो । त्यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरू बेस्सरी लागे । तर, ती सबै प्रयास असफल भए । सुरुमा प्रचण्डले मन्त्री दिन मान्नुभएन । किनभने अर्कोतिर सरकार बनाउने प्रयास पनि चल्दै थियो । कार्यकर्ताबाट प्रेसर सिर्जना गरेर पार्टी एकता गर्नुपरेको थियो ताकि दुई वर्ष प्रचण्ड खोरमा हालिन्थे, कमसेकम । पार्टी एकीकरण नगरेको भए समर्थन कति बेला फिर्ता लिने हुन् ! सरकार जान्थ्यो । प्रचण्डले आफ्नो फाइदा र शक्ति आर्जन गर्नका लागि हामीलाई लात हान्न तयारी गरेका थिए । यतिका वर्ष राजनीति गरेको हुनाले त्यति कुरा म बुझ्छु र प्रचण्डजीलाई चिन्छु पनि ।

अब प्रचण्ड वा शेरबहादुर देउवा वा अरू पार्टीबिना नै सरकारमा जान सक्ने आत्मविश्वास तपाईंलाई पलाएको हो ?

उहाँहरूबिना त कसरी र ! उहाँहरू प्रतिपक्षमा चाहिन्छ ।

तपाईंलाई यस्तो अति आत्मविश्वास कहाँबाट आउँछ ?

देशको परिस्थिति र जनताको भावना हो । म त यथार्थ विश्लेषण गरिरहेको छु ।

तपाईंले नक्सामा लिम्पियाधुराको भूभाग थपेर अब जमिन फिर्ता ल्याउँछु भनेर भन्नुभएको थियो । भारतले मिचेको भूमि कसरी फिर्ता ल्याउनुहुन्छ ?

मैले त्यो बोलेफछि शेरबहादुरजीले क्रुद्ध भएर मलाई अलिक ललकार्नुभयो– कुरा गरेर जमिन फिर्ता आउँछ ? तपाईंले भनेर जमिन फिर्ता आउँछ ? बन्दुक लिएर जानुस् न भन्नुभयो । प्रचण्डजीसँगको डेढ वर्षको संगतले उहाँ फेरि बन्दुकको भाषा बोल्न थाल्नुभएछ । तर, अहिलेको परिस्थिति बन्दुकको भाषा बोल्ने होइन । म शेरबहादुरजीलाई के सम्झाउँछु भने नेपाली कांग्रेसका सभापति तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ माघ ४ देखि ११ गतेसम्म गरेको भारत भ्रमणका बेला भारतीय फौजी चेकपोस्ट उत्तरी सिमानाका १७ ठाउँमा राख्ने लिखित सम्झौता गर्नुभयो । कीर्तिनिधि विष्टले २०२६ सालमा थाहा पाएपछि पत्राचार गरेर हटाउनुभयो । शेरबहादुरजीहरू प्रधानमन्त्री हुँदा विराटनगरमा अनधिकृत ढंगले भारतीय मिसनको अफिस राखिएको थियो । आँखा चिम्लिएर बस्नुभएको थियो, उहाँहरू । मैले कुराकानी गरेरै त्यो फिर्ता गरें ।

भारत छिमेकी मित्रराष्ट्र हो । हामीभन्दा आकार, प्रकार, जनसंख्यामा ठूलो छ । विकास र सामर्थ्यमा अगाडि छ । त्यस्तो देशसँग अनावश्यक तनाव गर्न खोजेको हैन, मित्रता गर्न खोजेका हौं । शेरबहादुरजीले भनेजस्तो बन्दुक देखाउन, निहुँ खोज्न लागेको हैन, कुनै अर्घेल्याइँको कुरो निकाल्न खोजेको होइन । र, कुनै पपुलिस्ट नारा लगाउन पनि खोजेको होइन । राष्ट्रियता र छिमेक सम्बन्धको सवाल अलिकति भोट पाउँछु कि भनेर उठाइँदैन । गठबन्धनका नेताहरूको जस्तो शैली मेरो हैन, मेरो पार्टीको पनि शैली होइन । हामी त्यसरी कुरा उठाउँदैनौं ।

हाम्रो भूभाग पहिले कहाँसम्म थियो, छाडिदिऔं । सुगौली सन्धिले महाकालीभन्दा पूर्वको जमिन नेपाललाई दियो । त्यसपछि १४६ वर्षसम्म त्यो जमिन भोग गर्‍यौं । लिम्पियाधुरा, लिपुलेक पनि । सन् १९६२ मा नेपालको सहमतिबिना भारतले कालापानीमा फौज राख्यो ।

भारत र चीनबीचको तनाव वा युद्धलाई लिएर उसले फौज राखेको थियो । त्यसपछि भारतले त्यसलाई आफ्नो नियन्त्रणमा राखेको छ । त्यसरी अनधिकृत ढंगले फौज राख्नु उचित थिएन । उता हामी जान पाएका छैनौं । हामीसँग पहिले भोगचलन गरेका प्रमाण छन् । त्यहाँबाट तिरो उठाएको प्रमाण छ, त्यहाँका जनताले २०१५ सालमा भोट हालेको प्रमाण छ । त्यो नेपालको भूमि हो । यो चुनावी स्टन्ट हो र ? यो केही भोट पाउनका लागि छापिएको नक्सा हो र ? केही भोट पाउनका लागि संविधान संशोधन गरिएको हो र ? यो कुनै खेलाँची हो र ? हाम्रो भौगोलिक अखण्डता अक्षुण्ण रहनुपर्छ । हाम्रो भूमि फिर्ता पाउनुपर्छ भन्ने जायज कुरा हो । लुकाएर गरेको कुरा हो र यो ? अनि यसमा भारत रिसाउनुपर्ने कुनै कुरा छ र ? यो एउटा भौगोलिक अखण्डताको सवाल हो । यसमा भारतले उत्तेजित र आक्रोशित हुनुपर्ने कुनै विषय छैन । संवादमार्फत हाम्रो भूमि फिर्ता लिन्छौं ।

कांग्रेसको घोषणापत्रमा चीनसँगको सीमा विवादबारे पनि लेखिएको छ । तर, एमाले र माओवादीको घोषणापत्रमा कालापानीको विषय मात्रै देखिन्छ । कांग्रेसले चीनसँग विवाद छ भनेका बारेमा तपाईंको धारणा के हो ?

सन्तुलन मिलाउने भनेर नभएका कुरा गरेर छिमेक सम्बन्धलाई तनावग्रस्त बनाउने कुरा म बिलकुलै उचित ठान्दिनँ । जहाँनेर हाम्रो भूमि अतिक्रमित छ, त्यो विषय उठाउनुपर्‍यो ।

चीनसँग कहाँ छ ? चीनले वार्ता गरौं भनेकै छ त । कसैको दबाबमा नेपाल सरकार वा सरकारको नेतृत्व गरेको पार्टीले यस्तो कुरा गर्नु वाञ्छनीय हुँदैन । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समीकरण परिवर्तनले सरकार र संसदको बीचमा पनि कामकारबाही प्रभावकारी हुन सकेको छैन : सभामुख, देवराज घिमिरे (अन्तवार्ता)

अहिलेका सत्ता पक्षले नागरिकता विधेयक आउँदा संसद चल्नै दिएन : कांग्रेस सांसद, रामहरि खतिवडा (अन्तवार्ता)

सुशासन र डेलिभरीका काममा यो पटक अत्यन्तै खरो ढंगले हामी उभिन्छौं : कानुनमन्त्री, पदम गिरी (अन्तवार्ता)

नेपाल दुई भव्य महलबीचको सुन्दर छाप्रो : डा. देवेन्द्रराज पाण्डे (अन्तवार्ता)

संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको मागमा दृढ छौँ : लोसपा वरिष्ठ उपाध्यक्ष, जितेन्द्र सोनल (अन्तवार्ता)

काँग्रेसले हिन्दु राष्ट्रमै जाऔं भन्ने गरिरहँदा हामीले त्यसलाई गम्भीर रूपमा लिएकै हौं : माओवादी उपमहासचिव, वर्षमान पुन (अन्तवार्ता)

नेतृत्वप्रति नै अविश्वसनियता बढेकोले चौध महिनामा तीन पटक सरकार परिवर्तन भए : काँग्रेस नेता, रमेश लेखक (अन्तवार्ता)

आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता, अग्नी सापकोटा (अन्तर्वार्ता)

अर्थतन्त्र केही दबाब वा चापमा छ, गतिमा मन्दी आए पनि संकटमै छैन : अर्थमन्त्री, वर्षमान पुन (अन्तवार्ता)

हामी राजनीतिक रूपमा दुवै छिमेकीसँग समनिकटताको सम्बन्ध राख्छौँ : परराष्ट्रमन्त्री, नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

जनतालाई डेलिभरी दिनुपर्छ भन्ने आत्मविश्वासका साथ सत्ता समीकरणमा साझेदार भएका हौं : विनाविभागीय मन्त्री, डीपी अर्याल (अन्तवार्ता)

कांग्रेसका कारण गठबन्धन टुटेको होइन, प्रधानमन्त्रीकै कारण टुटेको हो : एनपी साउद, (अन्तवार्ता)