सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अदृश्य भय र विचार शून्यताको छाँया – राजेन्द्रसिंह भण्डारी

२०७९ मंग्सिर २, शुक्रबार

म्याद सकियो, हदम्याद बढाउने प्रयास असफल भयो, त्यसैले निर्वाचनको माध्यमबाट फेरि पुरानिया र समानुपातिक विधिबाट आफन्त र घरानियाहरूको म्याद थपिदिनुपर्ने अवस्था आइलागेकाले निर्वाचनको प्रक्रियामा जानुपर्ने भयो । दसैं आयो खसीबोकाको खुबै बिक्री भयो, तिहार आयो फूलमाला बिक्न थालेलगत्तै निर्वाचन आयो मतदाता बिक्न र कार्यकर्तामा परिणत हुन थालेका छन् ।

निर्वाचनको अघिल्लो दिनसम्म व्यक्तिगत लोभमा चुर्लुम्म डुबेर अविवेकी निर्णयको बन्दी बन्ने र निर्वाचन सकिएपछि श्रम बेच्न कालापहाड जाने मतदाताको विवेक र बाध्यता बुझिनसक्नु छ ।

मतदाताको लालच र विवशताकै कारण आम निर्वाचन फगत राजनीतिक नवीकरण प्रक्रियामा मात्र सीमित हुन पुगेको छ । लोकतन्त्रमा आम निर्वाचन परिवर्तनको मौलिक यन्त्र र राज्यसंयन्त्रको भरपर्दो प्रणालीका रूपमा स्थापित नहुन्जेल आम मतदाता पनि निर्विकल्प छनोट प्रक्रियामा सहभागी हुन बाध्य भई नै रहनेछन् । म्याद गुज्रेकालाई मात्र होइन, शारीरिक र मानसिक रूपमा गए–गुज्रेकालाई पनि पुनःस्थापित गर्ने मतदाताको चेतनाको स्तर र बाध्यकारी अवस्थाको परिवेश के हो भन्ने प्रश्नलाई निष्कर्षमा नपुर्‍याएसम्म निर्वाचन पुनर्नवीकरण प्रक्रियामा मात्र सीमित रहनेछ ।

हरेक वस्तुको उत्पादनसँगै समापन मिति निर्धारण हुने गर्छ, विधिले मात्र अवधि निर्धारण हुन सक्दैन भन्ने प्रकृतिको शाश्वत नियमविपरीत जाने अविवेकी र जब्बरी भावनामा निर्भर मतदान प्रक्रियाले छनोटको सीमिततालाई मात्र होइन, भावी पिँढीको सुन्दर र असीमित सम्भावनालाई समेत खुम्च्याएको छ । जसरी फोहोर छुट्याउँदा सड्ने र कहिल्यै नसड्ने गरी दुई भागमा बाँडिन्छ, त्यसै गरी उम्मेदवार पनि सडेका वा गलेका मात्र भएकाले हामीसँग उपयुक्त छनोटको विकल्प छैन । जुन जोगी आए पनि कानै चिरेका भन्ने पिरलोले पिल्सिएका मतदाता अनुमानयोग्य स्वाभाविक परिणामको पर्खाइमा छन् । सीमित र विकल्पविहीन छनोटमा निर्भर राजनीतिक प्रक्रियाको अभिन्न अंग मात्र बन्न पुगेको निर्वाचनले आम मतदाताको सरोकार र भरोसालाई आन्तरिक रूपमै कमजोर बनाइदिएकाले यस पटकको निर्वाचनमा आम मतदाताको अपेक्षा र आकर्षण चरम रूपमा स्खलित भएको छ । पूर्वानुमानको परिणामले पनि मतदातामा झनै नैराश्य पैदा गरेको छ । मतदातामा उत्साह जगाउन असफल, परिणाममा विस्थापन र संस्थापन गर्न नसक्ने निर्वाचन प्रणालीको भरमा टिकेको लोकतन्त्र कति बलियो र टिकाउ होला भन्ने प्रश्नले फेरि अर्को राजनीतिक घटना–दुर्घटनातर्फ उन्मुख गराइरहेको छ ।

म्यादी प्रहरीमा निर्भर हाम्रा सुरक्षाका घेराहरू जतिसुकै कमजोर भए पनि राजनीतिक र वैचारिक घेरा नै समाप्त भइसकेको परिस्थितिमा हुन गइरहेको निर्वाचनले सुरक्षा चुनौती पनि खासै बढाउने देखिन्न ।

झट्ट हेर्दा भयरहित वातावरणमै यसपालिको निर्वाचन सम्पन्न हुन गइरहेको देखिन्छ । केही पक्षले बहिष्कार गर्ने, भण्डाफोर गर्ने र बिथोल्ने भने पनि नेपालमा अब हिंसाको राजनीतिलाई आम नागरिकले नै पूर्ण रूपमै खारेज गरिसकेकाले उक्त शक्तिको उपस्थिति सशक्त रहने देखिन्न । तसर्थ निर्वाचनलाई एकै चरणमा भयरहित वातावरणमा सम्पन्न गराउन सकिने गरी सुरक्षा योजना तयार गरिएको छ । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन प्रक्रिया सम्पन गर्नु सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण होला तर यस्तो वातावरणको प्रभाव निर्वाचन परिणाममा देखिनु र महसुस गरिनुपर्छ । लोकतन्त्रको संस्थागत विकासका लागि यो अर्को महत्त्वपूर्ण पक्ष हो ।

निर्वाचनमा हुने प्रतिस्पर्धा वैचारिक नभएर व्यक्तिगतमा परिणत भइसकेपछि र आम कार्यकर्तालाई वैचारिकीले उद्वेलित गर्न छाडेपछि विगतमा जस्तो निर्वाचनअघिका सम्भावित झडपहरू हुन छाडिसकेका छन् । कार्यकर्ता र मतदातामा विकसित भएको राजनीतिक परिपक्वताका कारणबाट यस्तो परिस्थिति आएको भए, यसलाई लोकतन्त्रको सुदृढीकरणका लागि अति नै सुन्दर पक्षका रूपमा लिन सकिन्थ्यो । तर मिलोमतो र सहमतिको निर्वाचनले राजनीतिक र वैचारिक प्रतिस्पर्धा र प्रतिद्वन्द्वितालाई नै समाप्त गर्ने खतरा बढेको देखिन्छ । यद्यपि यसले सुरक्षाकर्मीको बोझलाई भने हलुका बनाउने निश्चित छ । म्यादी प्रहरीमा निर्भर हाम्रा सुरक्षाका घेराहरू जतिसुकै कमजोर भए पनि राजनीतिक र वैचारिक घेरा नै समाप्त भइसकेको परिस्थितिमा हुन गइरहेको निर्वाचनले सुरक्षा चुनौती पनि खासै बढाउने देखिन्न । निर्वाचनले एकातिर निर्वाचन प्रक्रिया सम्पन्न हुने अर्कातिर वैचारिक प्रतिस्पर्धाका मूल्यमान्यता नै समाप्त हुने स्थिति बन्ने देखिन्छ । भिन्न राजनीतिक आस्था र विचारलाई आफ्नो मत प्रयोगको मापदण्ड बनाएर बसेका मतदाता विचारशून्यताको रनभुल्लमा परेका छन् ।

वैचारिक विवशताको भयको छायामा परेको निर्वाचनबाट आउने परिणामले निश्चित शक्तिलाई त सहज नै बनाउला तर यस्तो अवाञ्छित र अस्वस्थ लोकतान्त्रिक अभ्यासले निष्पक्ष प्रतिस्पर्धाको मार्ग भने सदाका लागि अन्त्य हुने खतरा बढाउने निश्चित छ । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, गराउन तयार गरिएको सुरक्षा योजना निर्वाचनको प्राविधिक पक्ष मात्र हो । यसले दृश्य र सतहमा देखिएको भयलाई केही हदसम्म व्यवस्थापन मात्र गर्न सक्छ । तर आम कार्यकर्ता र मतदातामा व्याप्त अदृश्य तर मनोवैज्ञानिक दबाब उत्पन्न गराउने भयको प्रभावले निष्पक्ष निर्वाचन हुने अपेक्षा गर्नु निरर्थक छ । निर्वाचन मत प्रकट गर्ने विधि मात्र होइन, हरेक मतले परिवर्तनको ढोका खोल्ने लोकतान्त्रिक तथा मौलिक अभ्यास पनि हो भन्ने चेतना प्रत्येक मतदातामा नभएसम्म हाम्रा निर्वाचन अदृश्य भय र विचारशून्यताको छायामा परी नै रहनेछन् । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निर्वाचनपछिका चुनौती र अवसर – युवराज घिमिरे

बेरूजु सपनाहरू – युवराज गौतम

सीमा सुरक्षामा भारतको चासो – बुद्धिनारायण श्रेष्ठ

चुनावपछिका दाउपेच – किशोर नेपाल

अवकाश उमेर उपर्युक्तताको बहस – श्याम प्रसाद मैनाली

मतदाताको मौनता – युवराज गौतम

दुई गठबन्धन र जनताको चयन – पुष्पकमल दाहाल ‘प्रचण्ड’

गैरदलीय राजनीतिको सम्भाव्यता – सीके लाल

मंसिर ४, सबल सरकार – डा. महेन्द्र बिष्ट

मतदाताको विवेकको परीक्षा – प्रा. कृष्ण पोखरेल

राजनीति र वैदेशिक सम्बन्धमा हाम्रो बाटो – पशुपति शम्सेर जबरा

बौद्धिक वर्गको जिम्मेवारी छैन ? – अच्युत वाग्ले

%d bloggers like this: