काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६ जना सांसदले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । भारतीय अतिक्रमित भूमि फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गराउन माग गर्दै उनीहरूले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको हो ।
नेकपाका सांसदहरू गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
दर्ता गरिएको संकल्प प्रस्ताबमा ‘सबै आधारहरूले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयान्दी नै महाकाली नदी भएकाले सो पूर्वको करिब ४ सय वर्गकिमि नेपाली भू-भाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि संकल्प प्रस्ताव पेस गरिएको हो,’ उल्लेख गरिएको छ ।
संकल्प प्रस्तावमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताहरू, नदीको उद्गम स्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानीढलोलाई अन्तर्राष्ट्रिय सीमा निर्धारणको आधार मानिने र सो आधारमा पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको पुष्टि भएको भनिएको छ ।

