काठमाण्डौं: लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा (एसइई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।
ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । शाखाले पालिका क्षेत्रका ६ माध्यमिक विद्यालयबाट एसइई दिने करीब ३ सय विद्यार्थीको टोलटोलमा पुगी शिक्षकबाट विषयगत समस्या समाधान गराउने कार्य थालेको शाखा प्रमुख छत्रबहादुर शाहीले बताए ।
त्यस्तै इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको सहजताका लागि अंग्रेजी, गणित, विज्ञान तथा अन्य विषयका प्रश्नपत्र तयार गरी शाखा तथा पालिकाको फेसबुक पेजबाट अपलोड गरिएको छ ।
पालिकाका माध्यमिक विद्यालयबाट २/२ जनाको दरले शिक्षक खटाइएको र तिनका लागि स्वास्थ्य सामग्री सेनिटाइजर र मास्क उपलब्ध गराउनाक साथै प्रोत्साहन भत्ता दिइएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहलाई समन्वय गरी विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भनिए पनि इन्टरनेटको पहुँच नहुँदा गर्न नसकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख शिवराज पण्डितले बताए । अन्य पालिकालाई पनि पुनरावृत्तिका अभ्यास सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।
प्युठान नगरपालिका नगर क्षेत्रका एसइई दिने विद्यार्थीको सहजताका लागि रेडियो कक्षा सञ्चालनको तयारीमा रहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । जिल्लामा एसइई दिने विद्यार्थी ४ हजार १ सय ४८ विद्यार्र्थी छन् । तिनमा २ हजार २ सय ८८ छात्रा छन् ।
