सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘ओलीको अहंकार र दम्भकै कारण सातदलीय गठबन्धन भत्किएको हो ।’ – धनराज गुरुङ (अन्तवार्ता)

२०७९ फागुण २४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचनमा पाँचदलीय गठबन्धन, लगत्तै सरकार बनाउँदा सातदलीय गठबन्धन र अहिले राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धन बन्यो । अब यो गठबन्धन कहिलेसम्म रहन्छ ?

निर्वाचनको बेलाको पाँचदलीय गठबन्धनकै विस्तारित रुप आठदलीय गठबन्धन हो । निर्वाचनमा सँगसँगै गएका दलहरूलाई जनताले मिलेर सरकार चलाउन मत दिएका हुन् । तर, गत पुस १० गते तत्कालीन पाँचदलीय गठबन्धन भत्किन पुग्यो । पहिला को प्रधानमन्त्री बन्ने भन्ने सामान्य विषयले गठबन्धन भत्कियो । र, एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । एमालेले निर्वाचनमा पाएको म्यान्डेट पाँच वर्ष प्रतिपक्षमा बस्ने नै हो । तर, उसले अनेक चलखेल ग¥यो । कांग्रेसलाई प्रधानमन्त्री दिन्छु भन्यो र माओवादीसँग मिलेर सरकार बनायो ।

गठबन्धनको नेतृत्व गरेको हिसाबले पाँचदलीय गठबन्धनलाई टिकाउन कांग्रेसले भूमिका खेल्नुपर्ने थियो । सकभर आफ्नै नेतृत्वमा नभए पाँचदलीय गठबन्धनका अन्य दलको नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता कांग्रेसले लिनुपर्ने थियो । त्यसमा हाम्रो तर्फबाट कमजोरी भएकै हो । त्यो कमजोरीलाई हामीले सच्याएका छौँ ।

विगतको कमजोरीबाट पाठ सिकेर आगामी दिनमा विश्वासको वातावरण तयार पारेर हामी अगाडि बढ्छौँ । अब, विगतका गल्ती नदोहोरिने गरी काम गर्नपर्छ । अब त्यस्तो कमजोरी हुने छैन । निर्वाचनमा सँगै गएका दलहरू सरकार निर्माण गरेर देश बनाउने अभियानमा पनि सँगै हुनुपर्छ, हुन्छौँ । संसदीय पद्धतिमा हंग पार्लियामेन्ट बनिसकेपछि, गठबन्धनको माग गर्छ । हंग पार्लियामेन्टले माग गरेअनुसार गठबन्धन बनेको हो । त्यही अनुसार धारा (२) अनुसार सरकार बनेको छ ।

राष्ट्रपति निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, त्यसपछि सबैभन्दा ठूलो दलको नेताको रुपमा संविधानको धारा ७६(३) अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् भन्ने हल्लामा कत्तिको सत्यता छ ?

आठदलीय गठबन्धनलाई सम्हालेर आगामी निर्वाचनसम्म लैजानु हाम्रो जिम्मेवारी हो । गत पुस १० गतेको कमजोरी स्वीकारेको पार्टीले अब फेरि गल्ती गर्दैन । राष्ट्रपति निर्वाचनपछि पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री बन्नुहुन्छ । संविधानको धारा ७६(२) अनुसार कै सरकार मुलुकमा रहन्छ । हामी स्थिरताको पक्षमा छौँ । मुलुकलाई अस्थिरतामा धकेलेर कसैलाई पनि फाइदा छैन । उपधारा ३ अनुसारको सरकार बनाउने हामीले कल्पनासमेत गरेका छैनौँ ।

हिजो एमालेले गठबन्धन भत्कायो, अहिले तपाईँहरूले गठबन्धन भत्काउनुभयो । फेरि गठबन्धन भत्किँदैन भन्ने ज्ञारेन्टी के ?

सातदलीय गठबन्धन भत्किनुमा गठबन्धनभित्रकै दलहरूको मूख्य भूमिका हो । हामीले त प्रयास गरेका मात्रै हौँ । यदि, सातदलीय गठबन्धनभित्र विश्वासको वातावरण थियो, समझदारी थियो भने त भत्किने थिएन ।

हामी त पुस १० गतेको गठबन्धन तत्कालै भत्किनुपर्छ भन्नेमा थियौँ । तर, त्यो भत्किन २ महिना लाग्यो । अब पनि आठदलीय गठबन्धन भत्किने वा पाँच वर्ष नै कायम रहने भन्ने यही गठबन्धनका दलहरूको कुरा हो । गठबन्धन बाहिरबाट चाहेर भत्किदैन । हामी गठबन्धन दलहरू बीचको समझदारीको आधारमा आठदलीय गठबन्धनलाई अगाडि बढाउन चाहन्छौँ ।

राजनीतिमा बेइमानी गर्नु हुँदैन । राष्ट्रपति निर्वाचनपछि पनि प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ । संसदको सबैभन्दा ठूलो कांग्रेसले आफ्नो नेतृत्वमा होस् वा गठबन्धन दलका अरु कसैको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपथ्र्यो । त्यसमा टिमको नेतृत्व गर्न नसकेकै हो । गत पुस १० गतेको त्रृटि सच्याउने प्रयास भएकै हो । त्यसबारेमा हामीले मनन, चिन्तन गरेर अगाडि बढ्यौँ । त्यहीअनुरुप नै हामीले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका हौँ । कमजोरी सच्याएर अगाडि बढेका छौँ । फेरि त्यस्तो कमजोरी हुँदैन ।

कांग्रेसले राजनीतिक बेइमानी गर्दैन भनेर कसरी विश्वास गर्ने ?

कांग्रेसमाथि केही दाग पक्कै लागेको छ । त्यो दाग मेटाउने गरी हामी अगाडि बढ्छौँ । एमालेले कांग्रेसलाई फेरि भन्न सक्छ–सरकार चलाउनुहोस, हामी सहयोग गर्छौँ । विभिन्न ढंगले कुरा पनि गरिरहेको छ । तर, हामी त्यस्ता खेलमा लाग्दैनौँ । हामी परिणाम दिने गरी अगाडि बढ्छौँ । राजनीतिक स्थिरताको पक्षमा रहँदै यो गठबन्धनलाई अगाडि बढाउने छौँ । गठबन्धन दलहरू बीचको समझदारीभन्दा दायाबाया गर्ने पक्षमा हामी छैनौँ । यदि, हामी सानातिना कुरामा लाग्यौँ भने भविश्यमा अविश्वसनीय राजनीतिक दलको दाग लाग्ने छ । त्यसप्रति हामी सचेत छौँ । कांग्रेसले इमानदारिता देखाउँछ । जालझेलको राजनीति हामी गर्दैनौँ ।

संविधानले गठबन्धनमा जोड दिएको छ । तर, राजनीतिक दलहरुमा ‘गठबन्धन संस्कार’ नै छैन किन ?

गठबन्धन संस्कार त हामीले विकास गर्ने हो । हाम्रा क्रियाकलाप र व्यवहारले गठबन्धन संस्कारको विकास गर्ने कि नगर्ने भन्ने निर्धारण गर्छ । गठबन्धन बनाउँदा आवश्यकता र औचित्यका आधारमा बनाइयो भने त्यसलाई संस्कारको रुपमा अगाडि बढाउन सकिन्छ । तर, सत्तास्वार्थका लागि मात्रै बनाइएको गठबन्धन भने दीर्घकालीन हुँदैन ।

अहिलेको आठदलीय गठबन्धन आवश्यकता र औचित्यको आधारमा कि सत्तास्वार्थ केन्द्रित ?

निर्वाचन सँगै गएका दलहरूको गठबन्धन आवश्यकता र औचित्वका आधारमा हो । हामीले संविधान र लोकतन्त्रको रक्षा, स्थिरता, सुशासन र समृद्धिको प्रतिवद्धता जनतासामू गरेका थियौँ । त्यो आधारमा अगाडि बढ्नु भनेको समयको माग हो । सत्तास्वार्थको गठबन्धन त हिजो पुस १० गते बनेको थियो । त्यसैले त्यो गठबन्धन दुई महिना पनि टिकेन ।

सातदलीय गठबन्धन कसको स्वार्थमा बनेको थियो ?

सातदलीय गठबन्धनमा प्रधानमन्त्री कार्यकारी प्रमुख जस्तो चलेको देखिएन । कुनै अमुक व्यक्ति (केपी ओली) को कब्जामा रहनुपर्ने बाध्यता प्रधानमन्त्रीमा रह्यो । प्रधानमन्त्रीलाई निरीह बनाउने काम भयो । गठबन्धनको ‘कठपुतली’ प्रधानमन्त्रीजस्तो अवस्था रह्यो । उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा सरकार नै आफैँ चलाउन खोजेको देखियो ।

संविधान र संसदले नचिन्ने संयन्त्रको नाममा संसदमा व्याख्या गरेर संयन्त्रको संयोजक म हुँ भनेर दम्भका साथ सरकार नै आफैँले चलाएको जस्तो गरी भाषण गर्ने काम भयो । संसद् विघटन संविधान बमोजिम नै भएको थियो, फेरि पनि संसद विघटन हुन सक्छ भन्ने जस्ता अभिव्यक्ति ओलीबाट आए । यी गतिविधिबाटै थाहा भइहाल्छ कि कसको स्वार्थमा बनेको थियो भन्ने कुरा त ।

अहिलेचाहिँ तपाईँहरूको स्वार्थमा होइन त ?

हामीलेले विगतको गल्ती सच्याउन चाहनु हाम्रो अपराध होइन । हामी त हाम्रै नेतृत्वको गठबन्धन ब्युत्याउन चाहन्थ्यौँ । त्यसमा हामीले चाहेर मात्र हुने थिएन । तर, ओलीमा यति छिटो दम्भ बढ्यो–यी सबै कुरा मैले गरिदिएको हुँ । ओलीको अहंकार र दम्भकै कारण सातदलीय गठबन्धन भत्किएको हो ।

हामी त सर्वसम्मत राष्ट्रपति चयन हुनुपर्छ भन्नेमा थियौँ । मुलुकको समस्या समाधान गर्न मिलेर अगाडि बढौँ भन्ने हाम्रो मत हो । हाम्रो प्रस्तावलाई एमालेले मानेन । र, एमालेले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार अघि सा¥यो । बरु उसले कांग्रेस–एमाले मिलौँ भन्ने प्रस्ताव अघि सा¥यो ।

कांग्रेस र एमाले मिल्ने सम्भावना छ ?

यस्ता प्रस्ताव हामी ठाडै अस्वीकार गर्छौँ । ७६ (३)को कल्पना हामी गर्दै गर्दैनौँ । किनभने, राजनीतिमा बेइमान गर्नु हुँदैन । त्यसकारण ओलीजीले त्यस्तो प्रस्ताव ल्याउनुभयो भने हामीबाट ठाडै अस्वीकार हुन्छ । त्यस्तो प्रस्ताव स्वीकार्य हुनै सक्दैन । त्यसतर्फ हामी सोच्दा पनि सोच्दैनौँ । एमाले के भन्छ, के गर्छ त्यता हामी नजाऔं ।

माओवादीलगायतकै दलहरूसँग मिल्नुपर्ने कारण चाहिँ के नि ?

माओवादी केन्द्रसँग मिलेर जानुपर्ने खास कारण छ । हामी हिजो चुनावमा तालमेल गरेका हौँ । कांग्रेसले पनि माओवादीका उम्मेदवारलाई भोट हालेको छ । माओवादीले पनि कांग्रेस उम्मेदवारलाई भोट हालेको छ । अहिलेको गठबन्धनको आधारभूमि त त्यही हो नि । हामी हिजो पनि मिलेरै जानुपर्ने थियो । विगतमा केही कमजोरी भयो । त्यो सच्चिसकेको छ । अब कमजोरी गर्ने पक्षमा हामी छैनौँ ।

फेरि राष्ट्रिय सहमतिको कुरा पनि थियो नि ?

मुलुक अहिले आर्थिकरुपमा टाट पल्टिदै छ । यो समस्या समाधान गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष भनेर बस्नु हुँदैन । देशको समस्या समाधानका लागि सँगसँगै अघि बढ्नुपर्छ । अहिलेसम्म हामी प्रतिपक्षमै छौँ । आर्थिक रुपमा मुलुकलाई सुधार गर्नुपर्ने छ । मुलुकलाई कसरी माथि उठाउने भन्ने हाम्रो मुख्य ध्येय हो ।

अब छिट्टै कांग्रेस सत्ताधारी दल हुँदै छ, को–को मन्त्री बन्दै छन् ?

प्रचण्ड नेतृत्वको सरकार कांग्रेस छिट्टै जान्छ । कांग्रेसबाट मन्त्री को–को बन्ने भन्ने टुंगो लागिसकेको छैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जान्छ । मन्त्रीहरूले देखिने गरी काम गर्नुपर्छ । हामीले काम गर्न सक्ने पात्रलाई सरकारमा पठाउनुपर्छ । मन्त्रीले काम गर्ने हो, स्टन्टवाजी गर्ने होइन । काम गर्न नसक्ने मन्त्रीलाई सल्लाह गरेरै फिर्ता गर्न पनि सकिन्छ । हाम्रो ध्यान भनेकै काम, काम, काम हो । आठदलीय गठबन्धनमा छलफलपछि मन्त्रिपरिषद पुनर्गठन हुन्छ । सभापति शेरबहादुर देउवाबाहेक जो सुकै नेताको नेतृत्वमा पनि कांग्रेस सरकारमा जान सक्छ ।

यसबीचमा विदेशीको दौडधुपको कुरा पनि धेरै आए नि ?

विदेशी देशका राजदूतको दौडधुपले पनि विभिन्न आशंका उत्पन्न हुने गरेका छन् । हामी आफू गल्ती गर्छौँ अनि छिमेकी र मित्रराष्ट्रलाई गाली गर्न थाल्छौँ । यो गलत हो । राजदूतहरूसँग त सबैले भेटेका हुन् । आफ्नो पोल्टामा कस्न सके ठिक हुने, आफ्नो पोल्टोबाट खुस्यो भने विदेशी दलाल हुने भन्ने पनि हुन्छ ? गलत भाष्य तयार पार्न खोजिएको छ, यसप्रति हामी सचेत हुनुपर्छ ।

भारत, चीन वा अन्य मित्र राष्ट्रसँग हाम्रो हित गरिदेओस भन्ने आग्रह गरेर हुने केही छैन । यो हुनै नसक्ने कुरा हो । कुनै पनि देशले आफ्नै हितका लागि काम गर्ने हो । हामी पनि हाम्रो हितमा काम गर्ने हो । नेपालको विदेश नीतिलाई सरकार फेरिँदा फेरिने हुनुहुँदैन । विदेश नीतिमा सबै एक हुनुपर्छ । पार्टीभन्दा माथि हामी नेपाली हौँ । त्यसैले नेपालको विदेश नीति एउटै हुनुपर्छ । कांग्रेसी चस्मा र कम्युनिष्टको चस्माले हेर्दा अर्को देखिने विदेश नीति हुन सक्दैन । त्यो त नौटंकी मात्र हो ।

नयाँ दलहरू आएका छन्, कांग्रेसले कतिको चुनौतीको रुपमा हेरेको छ ?

नयाँ दलहरूको पनि देखियो । हंग पार्लियामेन्टको कथाले गठबन्धन माग गरिहाल्छ । संविधानले मागिहाल्छ । सँगै हिँड्दा आफ्नो वैचारिक राजमार्गबाट विचलन भइहाल्यो भन्ने पनि त होइन । यसरी हेरिदिनु भएन । अहिले निराशाबाट आशा जगाउनुपर्ने छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने सवाल छ । हामी हिजो कांग्रेस र कम्युनिष्ट मिलेरै परिवर्तन सम्भव भएको हो । उपलब्धिको रक्षा गर्दै मुलुकका समस्या समाधान गर्न पनि मिलेर अगाडि बढ्नुको विकल्प छैन । बरु, मिश्रित निर्वाचन प्रणालीको विकल्प खोज्नेतर्फ सोच्नुपर्छ जस्तो लाग्छ ।

राष्ट्रपतिमा आठदलीय गठबन्धनका साझा उम्मेदवार पौडेलको जित पक्कापक्की छ, कि अझै शंका छ ?

राष्ट्रपतिमा कुनै शंका छैन । यही फागुन २५ गतेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित हुनु हुनेछ । प्रस्तावक र समर्थनमा रहेका आठ दलका साथै अन्य दलले समेत पौडेलको पक्षमा मतदान गर्नुुहुने छ । राष्ट्रपति पदको मर्यादा कायम राख्न र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्न सक्ने पात्र पौडेल नै हो ।

राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्न पनि यो आवश्यक छ । मतका हिसावले उहाँले जित्ने निश्चित छ । राष्ट्रपति पद देशको अभिभावकको रुपमा संविधानको संरक्षकको रुपमा अघि बढ्ने हो । विगतमा भएका कमी नदोहोरिने र हस्तक्षेपकारी भुमिका नहुने कुरा उहाँबाट मात्रै सम्भव छ । पौडेललाई राष्ट्रपति बनाएपछि संविधान माथिको बलमिच्याई भावी दिनमा हुँदैन ।

आठ दलीय गठबन्धनले यसअघिको गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई नै अगाडि बढाउँछ कि नयाँ ल्याउँछ ?

पाँच वर्षका लागि न्यूनतम साझा कार्यक्रम बनाएर जानुपर्छ । त्यसका लागि स्पष्ट भिजनका साथ जानुपर्छ । त्यसका लागि नयाँ बनाउनैपर्छ । अहिलेको समस्या कसरी समाधान गर्ने, जनतालाई विश्वासमा कसरी लिने भन्ने विषयमा केन्द्रित भएर कार्यक्रम बनाउनुपर्छ । गठबन्धनमा छलफल भएर हामी नयाँ कार्यक्रम ल्याउँछौँ । चुनावमा गरेको प्रतिबद्धताअनुसार स्थिरता, सुशासन र समृद्धिमा हाम्रो ध्यान केन्द्रित हुने छ । दृष्टीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको मागमा दृढ छौँ : लोसपा वरिष्ठ उपाध्यक्ष, जितेन्द्र सोनल (अन्तवार्ता)

काँग्रेसले हिन्दु राष्ट्रमै जाऔं भन्ने गरिरहँदा हामीले त्यसलाई गम्भीर रूपमा लिएकै हौं : माओवादी उपमहासचिव, वर्षमान पुन (अन्तवार्ता)

नेतृत्वप्रति नै अविश्वसनियता बढेकोले चौध महिनामा तीन पटक सरकार परिवर्तन भए : काँग्रेस नेता, रमेश लेखक (अन्तवार्ता)

आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता, अग्नी सापकोटा (अन्तर्वार्ता)

अर्थतन्त्र केही दबाब वा चापमा छ, गतिमा मन्दी आए पनि संकटमै छैन : अर्थमन्त्री, वर्षमान पुन (अन्तवार्ता)

हामी राजनीतिक रूपमा दुवै छिमेकीसँग समनिकटताको सम्बन्ध राख्छौँ : परराष्ट्रमन्त्री, नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

जनतालाई डेलिभरी दिनुपर्छ भन्ने आत्मविश्वासका साथ सत्ता समीकरणमा साझेदार भएका हौं : विनाविभागीय मन्त्री, डीपी अर्याल (अन्तवार्ता)

कांग्रेसका कारण गठबन्धन टुटेको होइन, प्रधानमन्त्रीकै कारण टुटेको हो : एनपी साउद, (अन्तवार्ता)

राष्ट्रिय सभाको गरिमा बढाउन र स्तर वृद्धि गर्नका लागि त्यही खालका प्रतिनिधि सदनमा जानुपर्छ : राष्ट्रियसभा अध्यक्ष, गणेश प्रसाद तिमिल्सिना (अन्तवार्ता)

वडादेखि केन्द्रसम्म अधिवेशन गरेर सबै ठाउँमा नेतृत्व चयन गरौं : लोसपा नेता, सर्वेन्द्रनाथ शुक्ल (अन्तवार्ता)

सर्वोच्चमा नियक्ति हुने न्यायाधीशको हकमा पनि केही प्रावधान राखौं : डा. श्रीकृष्ण भट्टराई, पूर्व न्यायाधीश (अन्तवार्ता)

संविधान र कानुनले नचिनेको यो व्यवस्थामा पुनरवलोकन गर्नुपर्ने देखिन्छ : प्रमुख निर्वाचन अधिकृत, दिनेश थपलिया (अन्तवार्ता)