
काठमाण्डौः अलि रिसाहा स्वभावका एक शिष्यले गुरुलाई प्रश्न गरे– गुरुदेव, तपाईं कसैसँग रिसाउनुहुँदैन ।
तपाईंका बारेमा नराम्रो भन्ने मान्छेलाई पनि केही भन्नुहुन्न । आखिर तपाईं कसरी आफ्नो व्यवहार यति सुमधुर बनाइराख्न सक्नुहुन्छ ? तपाईंको जीवनको रहस्य के हो ?
गुरुले भने– हेर बाबु, मलाई आफ्नो रहस्यबारे त थाहा छैन, तर तिम्रो रहस्य भने जान्दछु । छक्क पर्दै शिष्यले प्रश्न गरे– मेरो रहस्य ? मेरो के रहस्य छ गुरुदेव ! गुरुले दुःखी हुँदै जवाफ दिए– आजको एक सातामा तिम्रो मृत्यु हुँदै छ ।
गुरुले नै भनिसकेपछि शिष्यलाई पूर्ण विश्वास भयो । चिन्तित हुँदै गुरुको आशीर्वाद लिएर उनी कुटीबाट निस्किए । बाहिर निस्किँदा उनको स्वभाव बिलकुलै बदलिएको थियो । बाहिर निस्केपछि उनले जजसलाई भेटे, ऊसित बडो प्रेमपूर्वक भेटघाट गरे । कसैमाथि क्रोध देखाएनन् । कुनै समय आफूले गलत व्यवहार गरेका साथीहरूसित पनि भेटघाट गरेर उनीहरूसित हार्दिकतासाथ क्षमायाचना गरे । हेर्दाहेर्दै सन्तले भनेको एक साताको अन्तिम दिन आइपुग्यो ।
अन्तिम दिन एकपटक गुरुको दर्शन गरेर आशीर्वाद लिने मनसायले शिष्य गुरुको कुटीमा पुगे । उनले गुरुलाई प्रणाम गर्दै भने– गुरु ! अब मेरो जाने समय हुन लाग्यो, मलाई आशीर्वाद दिनुहोस् । सन्तले आशीर्वाद दिँदै शिष्यसित प्रश्न गरे– यो एक साताभरि तिमीले के–के गरेर बितायौ ? के तिमी पहिलेजस्तै मानिसहरूसित रिसायौ ?
शिष्यले जवाफ दिए– हैन, हैन गुरुदेव ! यो एक सातामा म कसैसित रिसाइनँ । मैले सबैसित प्रेमपूर्वक भेटघाट गरेँ । मैले विगतमा जजसको मन दुखाएको थिएँ, उनीहरू सबैसँग माफी पनि मागेँ ।
शिष्यको जवाफ सुनेपछि गुरुले मुसुक्क मुस्कुराउँदै जवाफ दिए– हो, यही हो मेरो जीवनको रहस्य । जब एक न एक दिन मरेर जानु नै छ भने बेकारमा कसैसित किन रिसाउनु, किन कसैको मन दुखाइरहनु ? तिम्रो जीवन सुखी बनोस् । जाऊ, अब बाँकी जीवन सुखपूर्वक बिताऊ । एजेन्सी