सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अभिशप्त राजनीति पुनरागमनको खतरा – गुणराज लुइँटेल

२०७९ फागुण २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’ पछि निर्भिक भएर कांग्रेस नेता रामचन्द्र पौडेलले एउटा लेख लेखेका थिए–‘अभिशप्त इतिहासलाई उल्ट्याइदिऊँ।’ संयोगले आज तिनै व्यक्ति मुलुकको राष्ट्रपति बनेका छन्।

त्यो अभिशप्त इतिहास उल्टिसकेको छ। राजशाहीले पटक–पटक मुलुकको लोकतन्त्र उल्ट्याएको पीडाबोध गर्ने ती व्यक्ति सोमबारदेखि मुलुकको राष्ट्रपतिको औपचारिक जिम्मेवारीमा छन्।

राजाहरूले सिर्जना गरेको निरंकुशताको इतिहास उल्टिएको छ। त्यो भन्दा बढी बितेका तीन दशक यो मुलुकको शासनसत्ताको केन्द्रमा रहेका मुख्य नेताको पंक्तिमा पौडेल पनि पर्छन्। हिजो पौडेलले लेखे जस्तै आज फेरि अहिलेको सत्ता उल्ट्याइदिऊँ भनेर सडकमा नारा लगाउने दिन आएका छन्।

कसैले पत्याउँदै नपत्याएका व्यक्तिहरू यतिबेला सामाजिक सञ्जालको शक्ति लिएर भ्रम र मिथ्या छर्दै लोकतन्त्र उल्ट्याउने तयारीमा छन्। लोकतान्त्रिक शासन व्यवस्थाको मर्म बुझेका साद्गीपूर्ण व्यक्तित्वका धनी मुलुकको शीर्ष स्थानमा विराजमान भए पनि अहिलेको समय अत्यन्तै अस्थिर देखिएको छ।

समय अत्यन्त प्रज्जवलनशील छ। सानो एउटा झिल्काको मात्र प्रतीक्षामा अहिलेको समय रहेको जस्तो देखिन्छ। यस्तो विषम परिस्थितिलाई कसरी काबुमा राखेर मुलुकको शासन अघि बढ्छ? चिन्ताको विषय भएको छ।

प्रधानमन्त्रीदेखि राष्ट्रपति निर्वाचनसम्ममा देखिएका राजनीतिक ध्रुवीकरण र उथलपुथलले दलहरूबीचको अविश्वासलाई सतहमा ल्याइदिएको छ। नेकपा (एमाले) को साथ र सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले नेपाली कांग्रेस र अन्य दलको सहभागितामा राष्ट्रपति पौडेललाई बनाउन सफल भएका छन्।

यी सबै गतिविधिको केन्द्रमा रहेको छ–सत्ता संघर्ष। सत्तामा कसरी आफ्नो पहुँच राख्ने भन्ने संघर्षले अहिलेको समय व्यतित भइरहेको छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष जस्ता पदमा पकड राख्नुपर्ने अवस्था सिर्जना भएको छ। यी सबै पदमा एउटै दल वा व्यक्तिको पकड भयो भने मात्र शासन गर्न सहज हुन्छ भन्ने धारणा बलियो बन्दै गइरहेको छ।

त्यसैले अहिलेसम्म सरकार बनाउन देखिने गरेको सत्ता संघर्ष अन्य पदका निम्ति पनि देखिन थालेको छ। संवैधानिक अंगका प्रमुख र अन्य सदस्यमा पनि आफ्नो प्रभाव रहनैपर्ने अवस्था छ। यस्तो परिस्थितिले सबैलाई शक्ति आर्जन र त्यसको व्यवस्थापनमै केन्द्रित हुन बाध्य पारेको छ।

लोकतन्त्रका सबै संस्थाको भूमिका कमजोर भएको छ। त्यहाँ पुग्ने प्रत्येक व्यक्तिले मूल्य, मान्यता र विधिभन्दा आफूलाई नियुक्ति दिनेप्रति दर्शाएको अतिशय प्रेमले संस्थाको भूमिका कमजोर भएको हो। मुलुकको संविधान २०७२ बनेयता यति चाँडै यसले परिकल्पना गरेका संस्था कमजोर हुनु भनेको यसको अभ्यासमा त्रुटि हो। यसले संविधानलाई बलियो बनाएको छैन। जानेर वा नजानेर मुलुकका सबैजसो शक्ति संविधान असफल बनाउने बाटोमा लागेका छन्।

अहिलेको राजनीतिक विकासक्रमबाट सबैभन्दा क्षुब्ध कुनै शक्ति छ भने त्यो एमाले हो। एमाले अध्यक्ष ओलीको चातुर्यले शेरबहादुर देउवाको हातबाट प्रधानमन्त्री पद नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालकहाँ पुर्‍याएका छन्। फेरि ओलीलाई जिल्याउँदै राष्ट्रपति कांग्रेसको हातमा पुगेको छ। यस्तो स्थितिलाई उल्ट्याउन ओलीले निरन्तर प्रयास गर्नेछन्, सबैले बुझेकै पक्ष हो।

मुलुकको राजनीतिक परिवर्तनका संवाहक भनेका अहिलेका प्रमुख दल हुन्। तर तिनका बीचमा अन्तरविरोध गहिरिँदो छ। प्रतिपक्षमा रहन एमालेलाई निकै गाह्रो हुन्छ। त्यो अवस्थामा उसले विभिन्न अवरोध सिर्जना गर्छ। आन्दोलन गर्नेदेखि अन्य तिकडम लगाउनेसमेतका भूमिका यसका हुन्छन्।

मुलुकका प्रमुख शक्तिहरू आपसमा मिल्दा मुलुकमा परिवर्तन सम्भव भएका छन्। नमिल्दा प्राप्त उपलब्धि पनि गुमेका छन्। एकातिर, प्रमुख दलबीचको गहिरो धु्रवीकरण छ भने अर्कोतिर विभिन्न नाममा मुलुकमा आगो झोस्न तत्पर केही समूहको क्रियाशीलता देखिन्छ। कुनैबेला प्रमुख राजनीतिक दलका नेताकै बीचमा रहेका र पुल्पुल्याइएका केही व्यक्तिहरूले यसको नेतृत्व गरिरहेको देखिन्छ।

नेपालमा स्थायित्व भएमा विकास निर्माणका काम अघि बढ्छन्। आर्थिक उन्नति हुन थालेपछि आमनागरिकमा व्यवस्थाप्रति सन्तुष्टि देखिन थाल्छ। त्यसो हुन नदिनका निम्ति यहाँ अस्थिरता सिर्जना गरिरहन चाहने पक्ष सदैव क्रियाशील छन्। त्यो अस्थिरताको तयारी अहिले त्यतिकै गतिका साथ भइरहेको छ।

यस्तो स्थितिमा सामान्य किसिमको अराजक गतिविधिले पनि ठूलो आन्दोलनको रूप लिन सक्छ। अहिले समाजका आदर्श व्यक्तिहरू शासनसत्तामा रहेकाहरू होइनन्। अहिले सामाजिक सञ्जालले सिर्जना गरेका केही व्यक्ति छन्, तिनैलाई प्रयोग गरेर अहिलेको संविधान उल्ट्याउने र नयाँ ढंगले मुलुकको राजनीति अगाडि बढाउने प्रयास अब हुन सक्छ।

अहिलेको संविधानप्रति देशभित्रै पनि एउटा तप्काले असन्तुष्टि जनाइरहेको छ। त्यसका निम्ति मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता सबै भन्दा अप्रिय पक्ष हुन्। त्यसमा पनि जनताका छोराछोरी शितलनिवासमा पुगेर ‘नयाँ महाराज’ बन्न थालेपछि तिनलाई पचेको छैन। राष्ट्रपति, प्रधानमन्त्री र अन्य महत्वपूर्ण ओहदामा पुग्ने व्यक्तिले आफूलाई आमनागरिकबाट अलगथलग पारेको देखिन्छ। त्यसैले तिनका व्यवहार आमअपेक्षा भन्दा धेरै टाढा देखिन्छन्।

संविधान देशी तथा केही विदेशी शक्तिका निम्ति अप्रिय रहेको छ। सकेसम्म आन्दोलन गराउनका निम्ति भनी केही वैकल्पिक व्यक्तिहरू तयारी अवस्थामा राखिएका पनि छन्। कुसूचनाको बाढीले वास्तविकता जान्ने भन्दा पनि भ्रमित हुने वर्गको ठूलो उपस्थिति छ। सूचना प्रविधिको विकासले औँलाको टुप्पामा जानकारी आए पनि त्यसलाई पर्गेल्ने र आफ्नो स्वतन्त्र धारणा बनाउने क्षमता हाम्रो समाजले विकास गरिसकेको छैन। कागले कान लग्यो भन्दा त्यतै दौडिने जमातलाई आज आफ्नै अधिकार खोस्नुपर्छ भन्ने आन्दोलन भयो भने पनि साथ लाग्न गाह्रो पर्ने छैन।

अपेक्षा चुलिएका छन्। शासकीय सुधार भएको छैन। पञ्चायत ३० वर्षमा विनाप्रगति ढल्यो। मुलुकमा प्रजातान्त्रिक परिपाटी सुरु भएको पनि तीन दशक नाघिसकेको छ। हामीकहाँ जतिसुकै राम्रो व्यवस्था भए पनि चलाउने ढंग र तयारी देखिएन। लोकतन्त्र आएपछि सुस्त गतिमै भए पनि विकासको खाका देखिएको छ। सडक सञ्जाल, विद्युत्, खानेपानी जस्ता क्षेत्रमा मुलुकले फड्को मारेको छ। तैपनि यस्ता पक्षले भन्दा मुलुकको केन्द्रीय राजनीतिमा रहेका तानातानले बढ्ता आकर्षित गर्ने गरेको छ।

स्रोतसाधनका हिसाबले नेपाल कमजोर छैन। यसले चाह्यो भने बाह्य स्रोत पनि सहजै जुटाउन सक्छ। तैपनि मुलुकमा परिवर्तनका निम्ति क्रियाशील हुन सक्ने अहिलेको राजनीतिक नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन सकेन। व्यवस्थापन कमजोर भएकै कारण हुनुपर्ने जस्तो आमजीवनमा परिवर्तन देखिएन। त्यही भएर आमजनमानस बेचैन भएको छ। मुलुकमा प्रतिष्ठित ठाउँमा पुगेका कैयन् व्यक्तिले समेत यो देशमा सन्तानको भविष्य देख्न छाडेका छन्।

यस्तो परिस्थितिमा मुलुकको अभिभावकीय स्थानमा पुगेका राष्ट्रपति पौडेलले बाँकी नेतृत्वलाई कसरी प्रेरित गर्न सक्लान्? उनी आउँदा/आउँदै धेरैका अपेक्षा चुलिएका छन्। तर फेरि पनि उनलाई सुरक्षा क्षेत्रले ‘सवारी’ मा हिँडाएर हिजोका राष्ट्रपतिलाई झैँ बद्नाम बनाउने खतरा पनि उत्तिकै छ। उनले आफ्नो सवारीमा साइरन नबजाउने भने पनि तामझाम घटेको छैन।

देश बुझेका, राजनीति पर्गेलेका र आमजनमानसका भावना आत्मसात गरेका राष्ट्रपति पौडेलले आफूलाई मात्र सुधार्नुपर्ने छैन, बाँकी राजनीतिका उनका सहयात्री साथीहरूलाई पनि देशका अपेक्षामा अग्रसर गराउनु छ। अहिलेको नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु भनेको शासन शक्ति गुमाउँदै जानु र नयाँखाले विद्रोहतिर मुलुकलाई अग्रसर गराउनु हो। यस स्थितिलाई बुझेर अगाडि बढ्न सकिएन भने अभिशप्त इतिहास दोहोरिन बेर लाग्दैन। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्र जनताले सुखद अनुभूति गर्नपाउने अवस्था बन्नुपर्छ : अर्जुननरसिंह केसी

विषाक्त सत्ता, विघटनोन्मुख समाज : अच्युत वाग्ले

द्वन्द्वउन्मुख देश : नन्दकृष्ण जोशी

गिरीबन्धु पूर्णपाठको विवेचना : बलराम केसी

नेपालः संगठित भ्रष्टाचारको ‘स्वर्णभूमि’ : सुदर्शन आचार्य

राजनीतिक अस्थिरता र यसको प्रभाव : श्यामप्रसाद मैनाली

देशको आर्थिक नीतिमै त्रुटि : डा. सिके राउत

कर्मकाण्डी नीति–कार्यक्रमको निरन्तरता : प्रा.डा. गोविन्दराज पोखरेल

खुला-बन्द उत्तरी नाका – बुद्धिनारायण श्रेष्ठ

बदलिरहेको विश्व, छुटिरहेको नेपाल : विष्णु सापकोटा

संक्रमणकालीन न्यायको ‘शक्ति’ : चरण प्रसाईं

संघीयताको कसीमा बजेट तर्जुमा : खिमलाल देवकोटा