
काठमाण्डौः कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कविता सङ्ग्रहमाथि विमर्श गरिएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कविता सङ्ग्रह पठनीय भएको बताए । कवि रमेश सायनले सहजीकरण गरेको कार्यक्रममा समालोचक समेत रहेका सुवेदीले नारी संवेदनामा आधारित स्नेहयात्मक विद्रोही भएर कविता रचना गरेकाले जीवन, समाज र प्रकृतिलाई सुन्दर रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।
प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनका भाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारी विद्रोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको उल्लेख गरिन् । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतीकको प्रयोगले कवितासङ्ग्रह सुन्दर भएको दाबी गरे ।
कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रह भित्रका कविता वाचन गरेका थिए ।
कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कविता सङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखिएको प्रस्ट पारिन् । उनले सङ्ग्रहबाट कवितासमेत वाचन गरेकी थिइन्। सङ्ग्रहमा विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका ३४ वटा कविताहरु संग्रहित छन्। मकालु खबर