
काठमाण्डौः निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री यत्रतत्र छरिएको छ ।
विसं २०७३ पुसमा तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग महादेव खिम्ती, गल्वा रफिना जेभीले रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको उक्त भवन सात वर्ष बितिसक्दा पनि निर्माण पूरा नहुँदा अलपत्र अवस्थामा रहेको हो ।
“ठेकेदारले विभागीय निर्देशनलाई समेत अटेर गरेको देखिन्छ”, उनले भने । केही दिनअघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीसहितको टोलीले अलपत्र भवनको अनुगमन गरी सम्बन्धित निकायलाई चालु आवभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ ।
केही दिनअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटेर अलपत्र भवनका बारेमा जानकारीसमेत गराइएको प्रदेशसभा सदस्य भण्डारीले बताए । ‘प्रधानमन्त्रीको सचिवालयबाटै दबाब दिइरहेका छौं, अब काममा फर्किने सङ्केत देखिएको छ’, भण्डारीले भने । अस्पतालले भवन समयमै नसकिँदा अस्थायी संरचनाबाटै स्वास्थ्योपचार सेवा दिँदै आएको छ ।
अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्रलगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने गरेका बताइएको छ । भवन निर्माण आयोजना कार्यालयले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरेभन्दा रु ७१ लाखभन्दा बढी भुक्तानी दिएको महालेखाको ५९ औँ प्रतिवेदनमा उल्लेख छ ।