
काठमाण्डौः शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै मनाङले तेस्रो जित निकालेको हो।
मनाङको जितमा साहिदजामोल दाभ्लाद जोनाब र कमल थापाले गोल गरे। खेलको ३४ औँ मिनेटमा एपीएफका अर्माण्ड बेडुमले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। मनाङ ११ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ।
आजै भएको खेलमा फ्रेन्ड्स क्लबमाथि अप्रत्यासित जित निकाल्दै त्रिभुवन आर्मी क्लब लिगको पाँचौँ स्थानमा उक्लिएको छ। च्यासल खेल मैदानमा भएको खेलमा एक शून्यले पछि परेको आर्मीले २–१ को जित निकालेको हो।
खेलको पाँचौँ मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाए पनि २४ औँ मिनेटमा आर्मीका जिलेप्सीजंग कार्कीले गोल गर्दै बराबरीमा पुर्याएका थिए। खेलको अतिरिक्त समयको चौथो मिनेटमा दीपक गुरुङले आर्मीका लागि दोस्रो गोल गर्दै जित दिलाए। जितसँगै आर्मीले ८ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै एक एक अंक बाँडेका हुन्।
खेलको ६४ औँ मिनेटमा सञ्जीव बिष्टले गोल गर्दै एनआरटीका लागि अग्रता दिलाएका थिए। खेलको ७५ औँ मिनेटमा पुलिसका प्रताप गुरुङले बराबरी गोल फर्काए। बराबरीसँगै पुलिसले लिगमा पहिलो एक अंक जोडेको छ।