
काठमाण्डौः अमेरिका लगायतका विभिन्न मुलुकहरुले आफ्ना सरकारी उपकरणहरुमा टिकटक पूर्णरुपमा प्रतिबन्धित गरेका छन् ।
प्रतिबन्धको सिलसिला अगाडि बढेसँगै टिकटकले नयाँ नियमहरु जारी गरेको छ । जसमा content moderation का लागि विभिन्न ८ वटा सिद्धान्त तय गरिएको छ ।
टिकटकको प्रडक्ट नीति विभागकी प्रमुख जूली डे भ्यालिएनकोर्ट यी सिद्धान्तहरु मानव अधिकारलाई कायम राख्ने टिकटकको प्रतिबद्धतामा आधारित छन् । साथै त्यसलाई अन्तर्राष्ट्रिय कानूनी ढाँचामा पनि राखिएको छ । उनका अनुसार टिकटकले निष्पक्ष रहँदै मानवीय गरीमाको रक्षा गर्ने र कसैलाई हुनसक्ने हानी रोक्नुका साथै अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्ने कुरामा सन्तुलन मिलाउने प्रयास गर्दछ ।
के के छन् नयाँ मापदण्ड ?
आगामी अप्रिल २१ देखि लागू हुने मापदण्ड तथा निर्देशिका अन्तरगत अब प्रयोगकर्तालाई टिकटकमा राखिने सामाग्री अर्थात् कन्टेन्टको बारेमा जानकारी दिइनेछ । त्यसमा डिपफेकमाथि प्रतिबन्ध लगाइएको जानकारी समेत रहनेछ ।
टिकटकले डिपफेकलाई आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिद्वारा निर्मित सिन्थेटिक मिडिया रहेको बताउने गरेको छ ।
कसैसँग ठ्याक्कै मिल्दोजुल्दो तस्वीर बनाएर नक्कली तथा भ्रामक सामग्री तयार पार्ने डिपफेक प्रविधिका बारेमा टिकटकले आफ्नो नीति प्रष्टाउने कोसिस गरेको छ । जसअनुसार ओरिजिनल जस्तै देखिने सबै खाले डिपफेक अर्थात् हेरफेर गरिएका सामग्रीहरू टिकटकमा अपलोड गर्नुपर्दा ती सामाग्रीहरु बनाबटी हुन् भनेर जानकारी दिनै पर्दछ । जसका कारण टिकटक प्रयोगकर्तामा पर्नसक्ने भ्रम रोकिन्छ । टिकटकमा अब सर्वसाधारणको डिपफेक बनाउनचाहिँ प्रतिबन्ध लागेको छ ।
टिकटकले अद्यावधिक गरिएको आफ्नो मापदण्डमा विभिन्न चारवटा स्तम्भ उल्लेख गरेको छ । जसमा नियम उल्लंघन गर्ने सामग्रीलाई हटाइदिने, वयस्कहरुले मात्र हेर्न मिल्ने सामग्रीहरू तय गर्ने, आम प्रयोगकर्तासम्म पुग्न उपयुक्त नरहेको सामग्री For Your Feed मा देखिनका लागि अयोग्य बनाउने तथा प्रयोगकर्तालाई सूचना साधन तथा श्रोतको माध्यमबाट समुदायलाई सशक्तीकरण गर्ने रहेका छन् ।