
काठमाण्डौः चिनियाँ राष्ट्रपति सी चिनफिङ रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
चिनियाँ टेलिभिजन सीसीटीभीले भनेको छ, ‘मार्च २२ को बिहानै राष्ट्रपति सीको रुस भ्रमण समाप्त भएको छ । उहाँ स्वदेश फर्किसक्नु भएको छ ।’ तीनदिने भ्रमण सकेर सी स्वदेश फर्किएका हुन् । रुस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले राखेको शान्ति योजनाको प्रस्ताव पुटिनले स्वीकार गरेका छन् ।
चीनले शान्ति वार्तामार्फत् युक्रेन युद्ध रोक्न पुटिनसँग आग्रह गर्दा पुटिनले चिनियाँ योजनाले युद्ध रोक्नसक्ने बताएका छन् । दुवै राष्ट्रले यतिबेला युक्रेन संकट समाधानको लागि ‘जिम्मेवार वार्ता’को आह्वान गरेका छन् । आफू युद्ध अन्त्य गर्ने चिनियाँ योजना मान्न तयार भए पनि युक्रेन र पश्चिमा राष्ट्र शान्तिको लागि तयार नभएको पुटिनको भनाइ छ ।
उता चीनका राष्ट्रपति सी चिनफिङले चीन–रुस सम्बन्ध ‘नयाँ युग’मा प्रवेश गरेको बताएका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनसँग विभिन्न सम्झौतामा आफूहरूले हस्ताक्षर गरेको र त्यसले दुई देशबीचको सम्बन्धलाई सहकार्यको ‘नयाँ युग’ मा पुर्याउने सीको भनाइ छ । सीएनएन