काठमाण्डौः राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन हुने भएको हो ।
सिंहदरवारमा आइतबार बसेको परामर्श समितिको बैठकले संघीय संसद्का दुबै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक पनि एक दिन पर सारेको छ ।
भोली सोमबार १२ गते इस्लाम धर्माबलम्बीहरुको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । यसअघि सरकारले नयाँ नक्सा अनुसार नेपालको निसान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ ।
नयाँनक्सा सार्वजजनिक भएसँगै अहिले प्रचलनमा रहेका सिक्का, मानपद्वी, सरकारी निकायका छाप लगायत कुराहरु परिवर्तन गर्नुपर्नेछ ।
