सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१५ दिनसम्म सुरु भएनन् संसदीय समितिका बैठक

२०८० बैसाख ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गठन भएको दुई सातासम्म संसदीय समितिको बैठक बस्न नसक्दा संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसमाथि छलफल हुन सकेको छैन । प्रतिनिधिसभाको पहिलो अधिवेशनको अन्तिम दिन वैशाख १५ मा संसदीय समितिहरू गठन भए पनि एउटै बैठक बसेको छैन । संसदीय सुनुवाइ समितिले काम सुरु नगर्दा प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले गरेको सिफारिसमाथि सुनुवाइ हुन सकेको छैन ।

१५ महिनादेखि नेतृत्वविहीन सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा परिषद्ले यही साता हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको थियो । यसअघि न्यायाधीशमा विनोद शर्मा, नीता गौतम दीक्षित र डीएन पराजुली सिफारिस भइसकेका छन् । हालसम्म समितिको सभापति नतोकिए पनि ज्येष्ठ सदस्यले बैठक राख्न सकिने नियमावलीमा व्यवस्था छ ।

संसद्ले विषयगत समिति टुंग्याए पनि संयुक्त समिति (सुनुवाइ र राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन) मा रहने सांसदको नाम दलहरूले अझै टुंग्याएका छैनन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले मात्रै सुनुवाइ समितिमा रहने सांसदको नाम बुझाएका छन् । कांग्रेस, माओवादी र जसपाले नाम बुझाएका छैनन् । ‘सुनुवाइ समितिमा एमालेले पाउने सदस्य यकिन नभएकाले नाम नदिएका हौं,’ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने । संसद् सचिवालयले एमालेले कहिले ३ जना र कहिले ४ जना भागमा पर्ने भनेपछि विवाद कायमै रहेको उनको भनाइ छ ।

सुनुवाइ समितिमा एमालेले चार जनाको नाम बुझाइसकेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले समितिको काम अघि बढाउन सत्तापक्षले चासो लिनुपर्ने बताए । ‘विगतमा भएको सहमतिअनुसार अघि बढ्ने हो भने समिति बैठक बस्न कुनै समस्या छैन । सत्तापक्षको कारणले संयुक्त समिति गठन हुनै सकेको छैन । विषयगत समितिको बैठक पनि सत्तापक्षले नचाहेर रोकिएको हो,’ उनले भने ।

कांग्रेस, एमाले र माओवादीकै कारण संसदीय समितिको बैठक बस्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षको भागबन्डाले संयुक्त समिति गठन हुन नसकेको हो । विषयगत समितिको बैठक सञ्चालन गर्न सरकारको पनि प्राथमिकता देखिन्न,’ परियारले भने, ‘सभामुखको पहलमा समिति त बने, बैठक बस्न सकेका छैनन् । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच विगतमा जसरी लेनदेनको कुरा हुन्थ्यो । अहिले पनि त्यही चलिरहेको छ । समितिको बैठक बसेको भए अहिले चर्चामा रहेका हरेक विषयमा घनीभूत छलफल हुन्थ्यो । हामी प्रतीक्षामा छौं ।’ दलहरूबीच संसदीय समितिको सभापतिको भागबन्डा नमिलेकै कारण बैठक बस्न नसकेको नेताहरू बताउँछन् ।

समितिको बैठक नबस्दा सदनले समितिमा पठाएका ११ वटा विधेयकमा पनि दफावार छलफल हुन सकेको छैन । सांसदहरूले राखेको संशोधनमाथि छलफल गर्न सदनको १५ गतेको बैठकले ११ वटा विधेयक संसदीय समितिमा पठाइएको हो । सदनले राज्य व्यवस्था समितिमा अनुगमन तथा मूल्यांकन विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पठाइसकेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण विधेयक, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पठाइसकेको छ । कानुन न्याय तथा मानवअधिकार समितिमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण, प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पठाइएको छ । शिक्षा, स्वास्थ्य तथा सूच्ना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक पठाइएको छ । ‘समितिले काम सुरु नगर्दा यी विधेयकको छलफलको प्रक्रिया अघि बढ्नै सकेको छैन,’ सचिवालयका एक कर्मचारीले भने ।

सदनको बैठक नबसेको समयमा संसदीय समितिमा महत्त्वपूर्ण विषयमा छलफल हुन सक्ने एक सांसदले बताए । प्रतिनिधिसभामा वैशाख २४ बाट सुरु बजेट अधिवेशनको पहिलो दिनदेखि प्रिबजेट छलफल भयो । तर, बुधबारसम्मका बैठकमा प्रिबजेटभन्दा पनि नक्कली भुटानी शरणार्थी प्रकरणको बहसले संसद् ततायो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार मात्रै बस्नेछ ।

‘विषयगत समितिमा नक्कली भुटानी शरणार्थीका विषयमा बहस हुन सक्थ्यो । संसदीय समितिकै आड भरोसा पाएपछि प्रहरीले निष्पक्ष छानबिन गर्न सक्थ्यो,’ संसद् सचिवालयका एक उच्च कर्मचारीले भने, ‘संसद् बैठक नबस्दा समितिमा यसले ठाउँ पार्नुपर्थ्यो । समिति नै तात्न सकेन ।’

यदि समिति सक्रिय भएको भए यो विषय राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्रमा पर्थ्यो । भ्रष्टाचारको पोको खोल्नुपर्ने भन्दै बारम्बार सदन र सडकमा बोल्ने नेताहरू यही समितिमा छन् । यो समितिमा कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, एमालेका रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका रवि लामिछाने, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, जसपाका उपेन्द्र यादवलगायत २६ सदस्य छन् ।

‘समितिको सुरुको बैठक सभामुखज्यूले व्यवस्थित गरिदिनुपर्ने हुन्छ,’ समितिको सदस्यसमेत रहेका माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक यस विषयमा निर्णय गर्छौं । अब नियमित समितिको बैठक बस्ने वातावरण बन्छ ।’ बजेट अधिवेशन सुरु भएपछि बिहानदेखि साँझसम्म बैठक चलेकाले समितिको बैठक बस्न नसकेको उनले बताए । –कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य