सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धारापानीमा पर्यटकको चहलपहल बढ्यो

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिए । बिदाको सदुपयोग गर्दै उनी घुम्न आएका हुन् । चौधरीले भने, ‘धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।’

यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आए । गर्मीमा शीतलता पाउने आशले उनी यहाँ आउनुभएको हो । पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ । ‘बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको सङ्ख्या धेरै रहेको छ,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भने । दसैँ, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको सङ्ख्या बढी छ । पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ ।

‘यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्,’ अधिकारीले भने । शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण छ । धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ । अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन् । यहाँ एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपिपल जोडी, एक सय आठ समीका वृक्ष, एक सय आठ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ रहेका छन् । दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ ।

पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ । सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ ।

धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन् । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ । सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृङ्खलासमेत स्पष्ट देख्न सकिन्छ ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । सुनकोटस्थित भगवतीको मन्दिरसम्म चार हजार नौ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले ओझेलमा परेको छ । पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ । घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ । ‘आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका छैनन्,’ उनले भने । चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहबाट छ सय ३३ मिटर उचाइमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

पनौतीमा हिलेजात्रा: जात्रा सकिएपछि मात्र रोपाइँ

प्रधानमन्त्री प्रचण्डले दर्शन गर्ने महाकालेश्वर मन्दिरबारे जान्नुहाेस् !!

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरकाे पुजाअर्चना गर्ने

भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

जेष्ठ १६ गते मंगलबार,यस्तो छ तपाईंको आजको राशिफल

धनगढीमा भोलि सार्वजनिक विदा

राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

तपाईको आजको दिन कस्तो रहेछन ? हेर्नुहोस् राशिफल

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)