
काठमाण्डौः भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् ।
आगामी २८ मईका दिन हुने संसद् भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्ने तय भएपछि विपक्षले बहिष्कार गर्ने घोषणा गरेका छन् ।
विपक्षले संसद् भवन राष्ट्रपति द्रोपदी मुर्मूको हातबाट हुनुपर्ने अडान राखेको छ । तर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विगतको इतिहास स्मरण गराउँदै प्रधानमन्त्रीबाट संसद् भवन उद्घाटन हुने अडान लिएको छ ।
भाजपाका राष्ट्रिय प्रवक्ता शहजाद पूनावालाले विपक्षले पाखण्ड देखाएको आरोप लगाए । ‘पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले पार्लियामेन्ट हाउस एनेक्सीको भवन र राजीव गान्धीले सन् १९८७ मा पार्लियामेन्ट लाइब्रेरी भवनको उद्घाटन गरेका थिए,’ उनले स्मरण गराए ।
सरकारले राष्ट्रपति मुर्मूलाई पूरै बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलले लोकतन्त्रको आत्मा निकालिएकाले नयाँ भवनको कुनै औचित्य नभएको आरोप लगाएका छन् । १९ दलले भवन उद्घाटन समारोह बहिष्कार गर्ने जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी