काठमाण्डाैंः सरकारले प्रतिनिधि सभाको बैठकमा नेपालको संविधानमा दोस्रो संसोधन विधेयक २०७७ पेश गरेको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधानको निशान छापमा नयाँ नक्सा समेट्न नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन्।
संशोधन विधेयकमा कुनैपनि विरोधको सूचना परेको थिएन। विरोध सूचना नभएको जानकारी गराउँदै सभामुख अग्नि सापकोटाले कानुनमन्त्री तुम्बाहाङ्फेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए ।
सरकारले गत जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो। लगत्तै सरकारले जेठ १४ गते नेपालको निशान छाप परिवर्तन गर्ने संसोधन प्रस्ताब प्रतिनिधि सभामा दर्ता गराएको थियो । यसअघी गत बुधबार संशोधन प्रस्ताव संसद कार्यसूचीबाट हटाइएको थियो।
नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक माथि एक सातापछि पुन: प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुनेछ। छलफलपछि सांसदहरुले संशोधन हाल्न समय पाउनेछन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा लगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। सत्तापक्ष र प्रतिपक्षी एक ठाउँमा उभिएकाले विधेयक बहुमतका साथ पारित हुने निश्चित देखिन्छ।

