काठमाण्डाैंः प्रदेश नम्बर २ स्थित प्रदेशसभा सचिवालयमा कार्यरत ५ जना मर्यादा पालकमा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ । बुधबारदेखि सुरु भएको प्रदेशसभाको चौथो अधिवेशन ५ जना पुरूषमा कोरोना पोजिटिभ देखिएसँगै स्थगित भएको हो ।
प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको प्रदेश २ को प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए । ‘मर्यादापालकमा कोरोना पोजिटिभ देखिएपछि बिहीबार ३ बजे तय भएको संसद्को बैठक शुक्रबार १ बजे सम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण देखिएका ५ जनालाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको निमित्त सचिव रन्जित यादवले बताए ।
प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो । राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा ५ जना मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएपछि संसद्को बैठक स्थगित गरिएको हो ।
