
काठमाडौँः कृष्ण जन्माष्टमीमा सुर्खेतको वीरेन्द्रनगरस्थित गणेश चौकमा तरवारले औँला काट्ने एक जना युवा पक्राउ परेका छन् ।
बिहीबार साँझ वीरेन्द्रनगर–६ गणेश चोकमा लाखे जात्रा भइरहेका बेला झगडा हुँदा तरबारले औँला काट्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ खोर्के लाइनका १८ वर्षीय प्रविण नेपाली रहेका छन् ।
उनीसहितका युवाहरुले लाखे नाचमा प्रयोग गरेको तरवारले वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीय पृथ्वीसिंह ठकुरीको हातको औंला काटिदिएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले ठकुरीको टाउकोमा पनि तरवारले काटेको चोट लागेको बताए ।
उपचारका लागि ठकुरीलाई काठमाडौं पठाइएको छ । घटनामा संलग्न वीरेन्द्रनगर– ६ खोर्के लाइनका १८ वर्षीय शाहीमान पुनमगर र सौरभ मगर फरार छन् ।