सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजनीतिकर्मीको भाषिक मर्यादा : नन्दकृष्ण जोशी

२०८० भाद्र २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गान्धीवादी नेता महेन्द्रनारायण निधीले २०४६ सालको जनआन्दोलन सफल भएपछि एउटा कार्यक्रममा सम्बोधनका क्रममा भनेका थिए– राजनीतिकर्मीले सदैव नौनी जस्तै नरम भाषा र सत्य वचन बोलिदिँदा समाजमा राम्रो सन्देश जान्छ जुन भविष्यका पिँढीका लागि फलदायी हुन्छ।

राजनीतिक विशिष्ट व्यक्तित्व बिपी कोइरालाका अनुयायी निधीका यी वचन कतिले लागु गरे-गरेनन्, आफ्नै ठाउँमा छ। तर ‘खोलोे त¥यो, लौरो बिर्सियो’ भनेझैँ वर्तमानमा नेपाली कांग्रेसका नेता–कार्यकर्ता मात्र नभएर एमाले, समाजवादी र अन्य पुराना दलका नेता-कार्यकर्ताको बोली सुन्दा लाग्छ, उनीहरू पृथ्वीको अर्कै कुनाबाट आएका अगुवा हुन्।

नेपाली राजनीतिमा कमै मात्र यस्ता व्यक्तित्व छन् जसको भाषा शैली सुनेर कहिल्यै अघाइन्न। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आफू राजाद्वारा अपदस्थ भए पनि राजाबारे नरम र मर्यादित भाषा प्रयोग गरेका थिए। उनका प्रत्येक शब्दमा मार्मिक अर्थ खुलेको हुन्थ्यो। उनलाई अपदस्थ गर्ने राजा महेन्द्रले पनि बिपीको भाषा र शैलीको सदैव मर्यादा राख्थे। नेपाली कांग्रेसका शालीन नेता नरहरि आचार्य पनि यसै भन्छन्। उनी आफैँ पनि शब्द चयनका कोशकार हुन्।

नेपाली कांग्रेसमा यी र यस्तै अन्य नेता पनि छन् जसको बोली कहिल्यै उग्र बनेन। देशको हितका खातिर उनीहरूले कहिल्यै सस्तो लोकप्रियता कमाएनन्।

बोली र व्यवहारले राजनीतिमा ठूलो असर पार्छ। समाजमा प्रतिष्ठा कायम राख्न राजनेता, नेता, कार्यकर्ताले सभ्य भाषा प्रयोग गर्नु जरुरी छ।

२०४६ सालको जनआन्दोलनपछि काठमाडौँको दशरथ रंगशालामा कांग्रेस पार्टीको भेला आयोजना गरिएको थियो। आफू कार्यवाहक सभापति मात्र भएको बताउने कृष्णप्रसाद भट्टराईले धेरै वक्ताहरूले कार्यक्रममा बोल्न पाउने माग राखेका बेला बडो कूटनीतिक तरिकाले सबैले बोल्न पाउनुहुन्छ भन्दै मीठो शैलीमा जवाफ दिए, सबै जना धैर्य भए। आ–आफ्नो बोल्ने पालो कुरेर बसे। दुई दिनको सो भेला वास्तममा देशभरिका कांग्रेसीजनको हार्दिकता र मिलनको भेला मात्र थियो।

समापनको दिनमा सभा बिसर्जन गर्नु भन्दा पहिले केही विशिष्ट व्यक्तित्वबाहेक बाँकीले बोल्न पाएका थिएनन्। मञ्चको आसनबाट किसुनजीले सबैले सुन्ने गरी ‘जय नेपाल’ भने। त्यही वाक्य सबैलाई पनि बोल्न लगाए। ठूलो स्वरमा सबैले सभापतिले बोलेको वाक्य बोले। मीठो शैलीमा उनले सबैले बोल्न पाउनुभयो होइन त ? भनी प्रश्न गर्दा खुसीले सभा रोमाञ्चित हुँदै हाँसोले गुञ्जियो। यस्तो थियो समाजवादी र प्रजातन्त्रवादी सन्त नेता किसुनजीको बोलीको शैली। श्रीमद्भागवद गीताका अध्येता किसुनजी सदैव प्रिय वचन बोल्न र अरूलाई खुसी पार्न पनि गीताका श्लोकहरू सुनाउने गर्थे।

नेपाली राजनीतिमा कमै मात्र यस्ता व्यक्तित्व छन् जसको भाषा शैली सुनेर कहिल्यै अघाइन्न। बिपी कोइराला   तीमध्ये एक थिए जो स्वयं राजाद्वारा अपदस्थ भएर पनि मर्यादित भाषा प्रयोग गर्थे । 

तत्कालिन मालेका महासचिव मदन भण्डारी पनि मीठो शैली पस्केर व्यक्ति र संस्थालाई ‘तीर’ हानेर बोल्नमा सिपालु थिए। २०४८ वैशाखमा देशमा संसदीय चुनाव सम्पन्न हुँदै थियो। चाबहिल काठमाडौँमा हजारौँै दर्शकलाई सम्बोधन गर्दै उनले बडो ‘रोमहर्षक’ भाषण गरे। उनको भाषण केवल वामपन्थीहरूले मात्र नभएर सबै विचारमा आस्था राख्ने, सर्वसाधारण नागरिकका लागि प्रेरणादायी थियो।

एक प्रसंगमा उनले तत्कालीन राजा वीरेन्द्रलाई पनि चुनावमा चुनौती दिँदै भनेका थिए– ‘राजा यदि तिमीलाई पनि चुनावमा भाग लिने इच्छा जागेको छ भने स्वागत छ, मैदानमा श्रीपेच फुकालेर आउ, हामी तीनजना (किसुनजी, आफू र राजा वीरेन्द्र) यही ठाउँबाट चुनावमा प्रतिस्पर्धी बनौँ।’

मदन भण्डारीले आफ्नो ब्यक्तव्यमा कसैलाई पनि गाली गरेनन्, बरू हजारौँबाट ताली पाए। यसैगरी २०५० सालमा प्रधानमन्त्री बनेका एमालेका अध्यक्ष मनमोहन अधिकारीको पालामा काठमाडौँमा पिउने पानीको हाहाकार परेको थियो। जुन समस्या काठमाडौँवासीका लागि दीर्घरूपमा रहेको छ। पानी पिउन पाएनौँ भनी सयौँ नागरिक खाली गाग्री बोकेर सडकमा उत्रिए। नेपाल प्राध्यापक संघ, स्वतन्त्र बुद्धिजीवीसँगै पंक्तिकारलगायतका केही निश्चित व्यक्तिहरू प्रधानमन्त्रीलाई माग सुनाउन प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्यौँ। बडो धैर्य भएर हामी सबैको स्वागत गर्दै आफू पनि पिउने पानीको अभावमा पीडित रहेको सुनाए, नरम बोलीमा सबैलाई पिउने पानी आपसमा बाँडेर प्रयोग गर्न सल्लाह दिए। देशको कार्यकारी प्रमुख बनेका उनले सिंहदरबार प्रवेश गर्न रोक लगाउन र बल प्रयोग गर्न पनि सक्थे। तर उनले त्यसो गरेनन्, बुद्धिजीवीका सामु आएर दश औँला जोड्दै सबैको अगाडि माफी मागे।

प्रतिनिधिसभाका तत्कालीन सभामुख दमननाथ ढुंगाना पनि राजनीतिक शब्द चयनमा सिपालु नेताका रूपमा परिचित व्यक्तित्व हुन्। वर्तमान राष्ट्रपति तथा तत्कालीन सभामुख रामचन्द्र पौडेलका कैयौँ सम्बोधन पनि सुनेका छौँ। उनको सम्बोधन हरेक विषयमाथिको बोधगम्य गराएर अथ्र्याउने कुरामा केन्द्रित रहन्थ्यो। समाजलाई हेर्ने दृष्टिकोण उनमा बौद्धिक र चेतनायुक्त हुने गथ्र्यो। जुन शैली बिपीमा पनि पर्याप्त मात्रामा भेटिन्थ्यो।

नेकपा (एमाले)का मात्र होइन, समग्र समाजमा शालीन नेताका रूपमा परिचित पूर्वसभामुख सुवास नेम्वाङको बोलीको आकर्षणले सबैजना उनका ‘फ्यान’ थिए। हृदयघातका कारण हालैको उनको निधनले देश र समाजले एउटा विशिष्ट नेता गुमाएको छ। उनी संविधानसभाको अध्यक्ष हुँदा २०७२ असोज ३ गते देशमा संविधान जारी भएको थियो। तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट देशमा संविधान लागु भएको घोषणा गरेका थिए।

बोली र व्यवहारले राजनीतिमा धेरै ठूलो असर गर्ने गर्छ। समाजमा प्रतिष्ठा कायम राख्नका लागि राजनेता, नेता, कार्यकर्ताले सभ्य भाषा प्रयोग गर्नु जरुरी छ। समाजवादी चिन्तक प्रदीप गिरीको बोलीमा मात्र नभएर लेखन शैली पनि उच्च कोटिको थियो। उनको लेख पढ्नका लागि र उनको सम्बोधन सुन्नका लागि पाठक र दर्शकहरू समय पर्खेर बस्ने गर्थे। कुनै पनि व्यक्तिप्रति आदरभाव व्यक्त गर्ने विशिष्ट संस्कृति थियो गिरीको। पद र प्रतिष्ठाका लागि कहिल्यै पनि लालशा नराख्ने गिरीबारे उनको निधनमा आफ्नो समवेदना सन्देशमा वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए– ‘प्रदीप गिरी राष्ट्रको बौद्धिक सम्पत्ति हो, यस्तो व्यक्तित्व गुमाउनुपर्दा राष्ट्र र समाजलाई अपूरणीय क्षति भएको छ।’

२०६२–६३ सालको जनआन्दोलनमा नागरिक आन्दोलनको अगुवाका रूपमा रही कार्यक्रमहरू सम्पन्न गर्दा पंक्तिकारले ‘झ्याम्म झ्याम्म…’ देउडा गीतहरू सुनाउने गथ्र्यो। जुन गीत सुनेर हजारौँ नागरिक तालीले साथ दिन्थे। नागरिक अगुवा कृष्ण पहाडीको दमदार सम्बोधन, पंक्तिकारको देउडा गीत गायन र कवि अर्जुन पराजुलीका रोमाञ्चित कविताबारे समाजवादी नेता प्रदीप गिरीले ‘आन्दोलनका यी त्रिवेणी व्यक्तित्वलाई राष्ट्रले सम्झनुपर्ने जरुरी देखिन्छ’ भनेर एउटा सभामा सम्बोधनका क्रममा व्यक्त गरेका विचार पंक्तिकारले भुलेको छैन। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मोदीको शपथ र दाहालको वक्तव्य : इन्द्र अधिकारी

नक्सा नेपालको असन्तुष्टि भारतको : बुद्धिनारायण श्रेष्ठ

तिंकरवासीका पूरा हुन नसकेका सपना : प्रा. कृष्ण खनाल

भारतीय आम निर्वाचनको परकम्प : वसन्त लोहनी

किचलोमा पत्रकारको सदस्यता : डा. सुरेश आचार्य

सुहाउॅदो आकार, सन्तुलित बजेट : रामेश्वर खनाल

बजेट कार्यान्वयनका चुनौती : प्रेमलकुमार खनाल

गणतन्त्र जनताले सुखद अनुभूति गर्नपाउने अवस्था बन्नुपर्छ : अर्जुननरसिंह केसी

विषाक्त सत्ता, विघटनोन्मुख समाज : अच्युत वाग्ले

द्वन्द्वउन्मुख देश : नन्दकृष्ण जोशी

गिरीबन्धु पूर्णपाठको विवेचना : बलराम केसी

नेपालः संगठित भ्रष्टाचारको ‘स्वर्णभूमि’ : सुदर्शन आचार्य