काठमाण्डौः शिक्षक महासंघले शिक्षा विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएको सहमति तथा शिक्षक कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी विधेयक आएको महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।
‘विधेयकले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षकलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दालाई सम्बोधन गर्न सकेको छैन भने अर्कोतिर सविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि पनि अंकुश लगाउन खोजेको छ,’ उनले भनिन् ।
शिक्षक-कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर संकट ल्याउने उनले बताइन् । बाध्य भएर सडक अन्दोलनमा जानु परेको उनको भनाइ छ । शिक्षा मन्त्रालयले बुधबार संसदमा विधेयक दर्ता गरेको थियो ।