काठमाण्डौंः पूर्व-सचिव पुण्यप्रसाद न्यौपानेको अनुभव र अनुभूतिहरूको सङ्ग्रह ‘हिँडिएका पाइलाहरू’ लोकार्पण भएको छ । काठमाडौँ, नयाँ बानेश्वरस्थित थापागाउँ बैङ्केटमा आयोजित एक समारोहका बिच उक्त संस्मरणसङ्ग्रहको लोकार्पण गरिएको हो ।
जीवनको ३० वर्ष निजामती कर्मचारी भएर नेपाल सरकारका सचिवको समेत जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका न्यौपानेको यो पहिलो कृति हो । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक न्यौपानेले यो पुस्तकमा आफ्ना जीवन तथा आफ्नो निजामती सेवावधिका अनुभव र अनुभूतिलाई लिपिबद्ध गरेका छन् ।
साहित्यकार बामनप्रसाद न्यौपाने र शङ्करप्रसाद कोइरालाले लोकार्पित कृतिमाथि टिप्पणी गर्दै सङ्ग्रहमा सङ्ग्रहित सामाग्रीहरू कोरा अनुभव र अनुभूतिहरूको चाङ नभई सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक र प्रशासनिक लगायत सबै क्षेत्रसँग जोडिएका विषयवस्तुको दस्ताबेज भएको बताए । अघिल्लो पुस्ताका अनुभव र अनुभूतिले एकातिर बितेको सामाजिक अवस्थाको चित्रण गर्ने र अर्कोतिर आगामी पुस्तालाई सकारात्मक दिशानिर्देश गर्ने टिप्पणीकारद्वयको भनाई थियो ।
टिप्पणीकार कोइरालाले परिवेश र प्रवृत्ति पुस्तकमा आए पनि पात्र लुकाएकोमा भने दुःख व्यक्त गरे ।
लोकार्पण कार्यक्रममा नेपालका प्रशासनिक सेवा क्षेत्रमा लामो समय कार्यरत पूर्व एवम् बहालवाला कर्मचारी, साहित्यकारहरूको बाक्लो उपस्तिथि रहेको थियो । प्रोफेसर कपिल श्रेष्ठ, पुन्यप्रसाद दंगाल, सूर्यनाथ उपाध्यायलगायतले शुभकामना मन्तव्य दिएको कार्यक्रमको अध्यक्षता साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले गरेका थिए ।
पुस्तकलाई नेपालको पहिलो साहित्यिक (इ) दैनिक साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । साहित्यपोष्ट