काठमाण्डौंः बढ्दो डेंगु संक्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु गरेको छ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न अहिलेसम्म एक सय २० भन्दा बढी सवारी साधन र पानी जमेको स्थानमा स्प्रे गरिएको उनले बताए।
उनका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखा र नगर प्रहरीको टोलीसमेत स्प्रे गर्न परिचालन गरिएको छ।
यात्रुवाहक बसका साथै वीरगञ्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नरसिंह माविसम्म रहेका टायर पसलमा राखिएका पाँच सय ६३ वटा टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको प्रमुख मियाँले जानकारी दिए। मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि कीटनाशक औषधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए। -रासस