काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिबोल गजुरेल अद्यावधिक नक्सा पारित गर्ने संसद बैठक अस्वस्थताका कारण अनुपस्थित रहेको बताउँदै एकता विरोधीले अनेक हल्ला फिँजाएको बताएका छन् ।
अद्यावधिक नक्सा सहितको निशान छाप संविधानमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने दिन आफू अस्वस्थताका कारण मतदानमा उपस्थित हुन नसक्ने सचेतकमार्फत पहिलै जानकारी गराइएको पनि बताएका हुन् ।
गजुरेल जेष्ठ २८ गते बुधबार जिल्लाको विशेष कामको सिलसिलामा हेटौंडा गएको बेला ट्वाईलेटमा चिप्लिएर लड्दा हिप र मेरुदण्डमा गम्भीर चोट लागेकोले हिँडडुल गर्न नसक्ने अवस्थामा भएको गजुरेलको सचिवालयले वक्तव्य जारी गर्दै प्रष्ट्याएको छ ।
यस्तो छ गजुरेलको प्रेश वक्तव्य:
माननीय हरिवोल गजुरेल यही जेष्ठ २८ गते बुधबार जिल्लाको विशेष कामको सिलसिलामा हेटौंडा गएको बेला ट्वाईलेटमा चिप्लिएर लड्दा हिप र मेरुदण्डमा गम्भीर चोट लागेकाले आज भएको ऐतिहासिक संविधान संसोधन विधेयक पास गर्ने बैठकमा सहभागी हुन नसकेको कुरा दुःखका साथ नेकपा दलका मुख्य सचेतक मा। देव गुरुङलाई जानकारी गराएको कुरा आदर्णीय जनसमुदाय र पार्टीपंक्तिमा जानकारी नहुँदा पर्न गएको भ्रमप्रति सचिवालय क्षमाप्रार्थी छ।
घटना र विषयको सत्य र गहिराइमा नपुगी सतही टिप्पणी गर्ने र आक्षेप लगाउने काम गरेर लज्जित हुने काम कसैले नगर्नुहुन अनुरोध छ।
( माननीय हरिवोल गजुरेलको सचिवालय)
