सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेतुकको चियापान – कृष्णमुरारी भण्डारी

२०८० कार्तिक १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दलहरूले आयोजना गर्ने चियापान बिरालो बाँधेर गरिने श्राद्धझैँ बनेको छ। हरेक पार्टीले दसैँ तिहारमा चियापान गर्नुपर्ने नचाहिँदो परम्परा पछ्याइरहेका छन् जबकि मुलुकको आवश्यकता सुशासन, समृद्धि, समन्याय र नयाँपुस्ताको आशा, विश्वास र भरोसा जगाउने अजेन्डा हो। यतातिर कोही कसैको चासो देखिँदैन। ललिता निवास, नेपालीलाई नक्कली भुुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करीका सवालले नागरिक तिनै राजनीतिक पार्टीहरूप्रति घृणा, असन्तुष्टि र आक्रोश पोखिरहेका छन्।

पञ्चायती कालरात्रिका बेला एक ठाउँमा भेला भएर छलफल गर्न पनि प्रतिबन्ध थियो। परिवर्तनका बाहक मानिने राजनीतिक दल तथा अन्य सामाजिक संगठनले पनि भेला मेला गर्नु त्यतिखेर वर्जित थियो।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीहरूमाथि प्रतिबन्ध थियो। उनीहरू कुनै पनि गतिविधि गर्न पाउन्नथे। गरेमा राजकाज मुद्दा लागेर सिधै जेल पुग्थे।

एकै व्यक्तिले पनि त्यतिखेरको व्यवस्थाबारे प्रश्न उठायो भने शान्ति सुरक्षामा खलल पु¥याएको भनेर स्थानीय प्रशासनले थुनिहाल्थ्यो। त्यसरी त्यो व्यवस्था देशमा सञ्चालित थियो।

आफ्ना हजारौँ नेता/कार्यकर्ता र शुभेच्छुकहरू प्रहरी हिरासत र जेलमा कोचिएका छन्। तिनलाई भेट्न पनि पाइएको छैन। कसको के अवस्था छ जानकारी पाइन्नथ्यो। निरंकुश पञ्चायती व्यवस्थामा के गर्ने? हात बाँधेर बस्ने कि केही न केही उपाय निकालेर गतिशील बन्ने? प्रधानमन्त्रीबाट अपदस्थ गरी आठवर्ष लगातार जेलमा परेका प्रधानमन्त्री बिपी कोइराला भारतको निर्वासनमा पुगे। त्यहाँ पनि लगभग आठवर्ष बसेपछि विदेशमा बसेर भएन भनेर अनेक मुद्दा खेप्न तयार भै नेपाल फर्किए। उनीविरुद्ध मृत्युदण्ड हुनेसम्मका अनेकौँ मुद्दा अदालतमा विचाराधीन थिए।

त्यस्तो अवस्थामा राष्ट्रिय मेलमिलाप भनेर २०३३ सालमा बिपी र गणेशमान सिंह भारतको निर्वासनबाट फर्र्र्किए। तर राजाले दुवै नेतालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरी पुनः सुन्दरीजल जेलमा लगेर थुने। मुद्दा चलायो। २०३६ को विद्यार्थी आन्दोलनले उनीहरू रिहा भए। मुक्त भएपछि पनि होम एरेस्टमै (घरभित्रै नजरबन्द) मा थिए।

बिपी कोइराला र नेता गणेशमान सिंहले यत्तिकै बसेर त भएन भनेर आफूलाई सार्वजनिकरूपमा सक्रिय पार्न एउटा तरिका निकाले। त्यो थियो-दसैँको कोजाग्रत पूर्णिमाको दिनमा चियापान आयोजना गर्ने! जुन लामो समयपछि राजनीतिकरूपमा सचेत व्यक्तिहरूले सन्चो बिसन्चो, सुख दुःख र आउँदा दिनमा के गर्ने भन्ने कुराकानी गर्ने अवसर पनि बन्यो।

पहिलो चियापानको सन्देश देशभरका राजनीतिक सामाजिक जीवनका व्यक्तिहरूमा डँढेलो जसरी फैलियो। त्यो यति देशव्यापी बन्यो कि मुलुकभरका राजनीतिक चेतना भएका व्यक्तिहरूमा त्यसले नवजीवन पैदा गर्‍यो।

राजनीतिक दमनले उकुसमुकुस समयमा कांग्रेसको आयोजनामा भएको चियापान कार्यक्रमले २०१७ सालदेखि सम्बन्ध छिन्नभिन्न भएका स्थानीय हुन् कि केन्द्रीय कार्यकर्ता, समर्थक र शुभेच्छुुकहरूका निम्ति एउटा उत्सव हुन पुग्यो।

पहिलो पल्टको चियापान कार्यक्रमको सफलताले यो कार्यक्रम हरेक वर्ष स्वतः हुन थाल्यो। अनि चियापानको आयोजना प्रतिबन्धित कांग्रेसका लागि वार्षिक कार्यक्रम जस्तै बन्यो। बिपी कोइरालाको निधनपछि पनि यसले निरन्तरता पायो। त्यो चियापानमा सहभागी बनेपछि चौवन्नी कांग्रेस सदस्यता पक्काझैँ हुन्थ्यो।

वामपन्थीहरूका लागि पनि त्यो कार्यक्रममा सहभागिता जनाउनु राजनीतिक मान्यतासरह थियो। सत्तासीन पञ्चहरूका लागि भने कांग्रेसी चियापान ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ बनेको थियो किनभने पञ्चायत व्यवस्थालाई उनीहरू निर्दलीय प्रजातान्त्रिक व्यवस्था भनेर देशविदेशमा प्रचार गरिरहेका थिए।

चियापान कार्यक्रम रोकौँ, कांग्रेस कम्युनिस्टले नेपालमा चरम दमन छ भनेर झन् हल्लाखल्ला गर्ने भए। नरोकौँ, यही बहानामा उनीहरूले सम्बन्ध विस्तार गर्ने भए ! चियापानको ऐतिहासिक पृष्ठभूमिलाई विस्तारमा उल्लेख गर्नुको कारण यसलाई सही सन्दर्भमा बुझ्नका लागि हो।

लोकतान्त्रिक गणतन्त्रपछिको चियापान

स्मरणीय कुरा के भने चियापान निरंकुशकालमा सुरु भएको थियो। त्यसपछि देशमा प्रजातन्त्र पुनस्र्थापना भयो। नयाँ संविधान बन्यो। त्यो संविधान पनि राजाले हरे। त्यसपछि देशमा लोकतन्त्रका लागि आन्दोलन भयो। लोकतन्त्रले गणतन्त्र ल्यायो। संविधानसभाले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनायो।

यसरी देशमा चार दशकमा चार ठूला परिवर्तन भएको छ। तर चियापानको निरन्तरता भने निरंकुशकालको धङधङीमा जारी छ। कांग्रेसले सुरु गरेको दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गरिएको चियापान एमाले हुँदै राप्रपासम्म पुगिसकेको छ। के दसैँमा चियापान गर्नु नेपालको सांस्कृतिक पर्व हो? कि राजनीतिक?

यो तीमध्ये कुनै पनि होइन। यसको आजका दिनमा राजनीतिक सान्दर्भिकता पनि छैन। निरंकुशकालमा पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा दलका नेता कार्यकर्ताहरूसँग पर्वका नाउँमा भेट्नका लागि जुराइएको एउटा अवस्था मात्र थियो चियापान। यो कुरा यति निर्ममताकासाथ किन पनि उल्लेख गरिएको हो भने हिजो प्रतिबन्धित अवस्थामा रहेका राजनीतिक दलहरू ३३ वर्षदेखि शासनसत्तामा छन्।

राज्यका तीनै निकाय कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका मात्र होइन, संवैधानिक निकायहरू पनि दल र दल वरिपरिका विचारसँग सहमत हुनेहरूले नै सञ्चालन गरिरहेका छन्। मुलुक नै उनीहरूको वर्चस्वमा छ। यस्तो बेलामा दसैँमा चियापान गर्ने त्यो दिनलाई कांग्रेसले पनि खर्चिलो गरी मनाउनुको कुनै तुक देखिँदैन। एमालेलगायत अरू पार्टीले कांग्रेसको नक्कल गरेको त झन् कत्ति पनि सुहाएको छैन।

संविधानले कानुनीरूपमा सञ्चालन गर्नैपर्ने भनिएका काम कुरालाई थाती राखेर कोजाग्रतमा कुम्भ चियापान गर्नुलाई कुनै हालतमा समर्थन गर्न हुँदैन। सकिँदैन ।अन्यथा अर्थ नलागोस्, वर्षदिनका ३ सय ६४ दिन मुखमा बिर्को लगाएर गाईजात्राको दिन जो जसको पनि आलोचना गर्न पाइने कुरा स्वतन्त्रता नभएका बेलामा विशेष महत्वको थियो। तर अहिले सूचना प्रविधिको विकास र जसले जसलाई जे बोले गरे र आरोप लगाए हुने गाईजात्रा वर्षका ३ सय ६४ दिन नै हुने अवस्थामा ३ सय ६५ औँ दिन गाईजात्रामा मुखखोल्नुको जुन अर्थ छैन, कोजाग्रतको नाममा पार्टीहरूले महिना दिनसम्म चियापान गर्नुको कुनै तुक देखिँदैन।

संविधानले कानुनी रूपमा सञ्चालन गर्नैपर्ने भनिएका काम कुरालाई थाती राखेर कोजाग्रतमा कुम्भ चियापान गर्नुलाई कुनै हालतमा समर्थन गर्न हुँदैन।

कोजाग्रत सांस्कृतिक, सामाजिकरूपमा त्यस्तो पवित्र र खुसियालीको दिन हो, पूर्णिमाको अगिल्लो रात जाग्राम बसेर दुर्गा भवानीको पूजा समाप्त गरिन्छ। त्यस खुसियालीमा धार्मिक विधिविधानमा बस्नेहरू जुवा खेल्छन्। जसको विशेष अर्थ छ, पैसोको खोलो बगाउने होइन। सांकेतिक रूपमा। जसले त्यो दिनको खेल जित्छ, उसले आउँदो वर्षभरि घर व्यवहारको नेतृत्व लिनुपर्छ भन्ने थियो, एक सस्कृतिविद्ले बताए। यसको अर्थ उनले भने, विचार विमर्श र परामर्श गरेर परिवार सञ्चालन गर्नुपर्छ भन्ने हो। त्यसैले कोजाग्रत पूर्णिमा एउटा ठूलो उत्सव हो। पारिवारिक अनुष्ठान हो।

अब भन्नूस्, यस्तो दिन शासनमा बसेर चियापान आयोजना गर्नुको के अर्थ ? कतै यो ऋण पनि नलिइ, काम नगरी पार्टीहरूले कमाएको अकुत पैसा तह लगाउने दिनका रूपमा दुरूपयोग भएको त होइन?

होइन भने राजनीतिशास्त्रका एक प्राध्यापकले भने अनसार यसको औचित्य, आवश्यकता र सान्दर्भिकता खर्चिलो चियापान आयोजना गर्नेहरूले पुष्टि गर्नुपर्छ। रैतीको जदौ खान गरिएको होइन भन्न सक्नुपर्छ। र, कोजाग्रतको दिनलाई हामीले व्रत बसेर देश र जनताको समृद्धि र मुलुकमा सुशासन कायम गर्न राष्ट्र र शासन व्यवस्थालाई कसरी अगाडि बढाउने भनेर पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी र समाजका अग्रजहरू बसेर सार्वजनिक संबोधन गर्न सक्नुपर्छ।

सरकार र राज्यका निकायहरूमा बसेकाहरूले अहं, दम्भ बिसाउनुपर्छ। अब भ्रष्टाचार हुन दिइँदैन। गरेकालाई कारबाही गरिनेछ। पाता फर्काइनेछ भनेर परिवर्तनको सन्देश दिनसके मात्र त्यसको केही अर्थ रहला।

कोजाग्रतका दिन कांग्रेसले आयोजना गरेको चियापानमा के भयो? आज आयोजना भई एमाले चियापानमा के गरिँदैछ? देश र जनताले जे जस्तो समस्या, चुनौती र दुःख सामना गर्नु परिरहेको छ, बिरालो बाँधेर गरिने श्राद्धशैलीको चियापानको न कुनै तुक छ न त अर्थ नै! नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रचण्ड-सत्ताच्युतपछिको वाम-आन्दोलन : हरि रोका

आज मेरो मनमा के छ ? – केपी शर्मा ओली

प्रचण्डपथमा रास्वपा – जैनेन्द्र जीवन

प्रचण्डको जादु र रास्वपाको घट्दो साख : श्यामप्रसाद मैनाली

संकटले जन्माएको स्वाभाविक गठबन्धन : गोपाल खनाल

दुई दलीय प्रणालीको बहस – इन्द्र अधिकारी

नेपाल-चीन सीमाका मुख्य मामिला – बुद्धिनारायण श्रेष्ठ

समीकरणको नीति, निष्ठा र नियत – अच्युत वाग्ले

केका लागि सत्ता परिवर्तन ? – श्यामप्रसाद मैनाली

विकास कसरी सम्भव हुन्छ ? – लोकराज बराल

प्रहरी अनुसन्धानमा राजनीतिक प्रपञ्च : राजेन्द्रसिंह भण्डारी

विस्फोटको अवस्थामा छन् कांग्रेसका भ्रातृसंस्था – एनपी साउद