काठमाण्डौंः एक हजारभन्दा बढी विद्यार्थी संख्या भएको गोर्खाको तारा माध्यमिक विद्यालयमा पठनपाठन गरिरहेकी सीताकुमारी ढकाल ०६३ मा बल्खुस्थित जनविकास माविमा शिक्षकको रूपमा सरुवा भइन् । त्यतिवेला उनलाई राजधानीजस्तो ठाउँको विद्यालय राम्रो होला भन्ने अनुमान थियो । तर, आफू सरुवा भएर आएको जनविकास विद्यालयको वास्तविकता देखेपछि उनी तर्सिइन् । जनविकासमा त्यतिवेला औँलामा गन्न सकिने विद्यार्थी थिए । कक्षा आठसम्म मात्रै पढाइ हुन्थ्यो । पठनपाठन पनि निकै कमजोर थियो ।
शिक्षकको रूपमा रहँदा विद्यालयमा अनेक विकृति र समस्या भोगेकी उनले त्यही स्कुलमा नेतृत्व गर्ने अवसर पाइन् । तर शिक्षकको भूमिकामा रहँदा उनले चाहेर पनि विद्यालय बनाउन सक्ने अवस्था थिएन, विद्यालयको तालाचाबी अर्कैको हातमा थियो । झन्डै नौ वर्ष विद्यालयमा शिक्षकको रूपमा कार्यरत रहेपछि ०७२ साल असोजदेखि उनी प्रअको रूपमा काम गर्न थालिन् । ०७२ असोजदेखि विद्यालयमा प्रधानाध्यापकको कार्यभार सम्हाल्दा उनले अनेक चुनौती सामना गर्नुप¥यो । उनी प्रअ भएको विद्यालयको हविगत गएगुज्रेको नै थियो । त्यतिवेला यो ठाउँ विद्यालयजस्तो थिएन, विद्यार्थी बनाउनेभन्दा पनि बिगार्ने थलोको रूपमा थियो ।
भवन नहुँदा टहरामुनि पढाउनुपर्ने बाध्यता, न्यून विद्यार्थी संख्या, टहरोको जताततै परेवाका गुँड र फोहोरैफोहोरको चाङ, साँघुरो कम्पाउन्डलगायत अनेक समस्या थिए । शौचका लागि जंगलतिर जानुपर्ने अवस्था थियो । कक्षाकोठामा विद्यार्थीको खडेरी नै थियो । अभिभावकले दिन–प्रतिदिन विद्यार्थी विद्यालय पठाउन कम गर्दै गइरहेका थिए । विद्यालयको पछाडि रहेको खाली ठाउँमा गाँजा र चुरोटरक्सी खानेहरूको रजगज थियो । जसका कारण विद्यार्थी पनि कुलतमा फसेका थिए । विद्यालय व्यवस्थापन समितिको सहयोग थिएन । आर्थिक बेथिति र लापरबाहीले विद्यालयको छवि नै डाँवाडोल बनिसकेको थियो । अभिभावक र विद्यार्थीले पत्याउनै छाडिसकेका थिए । यी सबै समस्याका बाबजुद ढकाललाई सुरुमा त प्रअको जिम्मेवारीमा काम गर्न निकै कठिन भयो । लामो समय शिक्षक बनेर विद्यालय बनाउनेबारे अनुभव बटुलेकी उनी विद्यालय बनाउने पदको जिम्मेवारीमा आएपछि त्यसलाई विद्यालय बनाउने अवसर ठानिन् ।
अँध्यारो छाएका कक्षाकोठा र अन्योलमा रहेका विद्यार्थीको भविष्य सपार्ने जिम्मा लिएर काम गर्न थालिन् । उनको सोच कुलतमा फसेर भविष्य बिगारिरहेका कलिला विद्यार्थीलाई सपार्नु थियो । भक्ताभुंग बनेको विद्याको मन्दिरलाई आकर्षक बनाउनु थियो र विद्यालय टोल छरछिमेकीले पत्याउने किसिमको बनाउनु थियो । ‘पढाउने ठाउँ राम्रो थिएन, कक्षामा आएपछि बच्चाहरू निदाउन थाल्थे । के भयो भनेर हामीलाई आतुरी हुन्थ्यो, कक्षाकोठामा चुरोट र गाँजा गनाउँथ्यो,’ उनले सुनाइन्, ‘विद्यार्थी र बाहिरका केटोकटीहरू हानाहान गर्थे, कक्षा ४–५ मै पढ्ने विद्यार्थी कुलतमा फसेर पढाइतिर चासै नदिने अवस्थामा थिए, तर कोसिस गरियो भने सुधार्न पनि सकिने रहेछ । प्रअको रूपमा हुँदा विद्यार्थी सुधार्न मैले धेरै कोसिस गरिरहेकी छु ।’
उनका अनुसार त्यतिवेला यस विद्यालयमा शिक्षक संख्या पनि न्यून थियो । विद्यालयकै कम्पाउन्डमा रहेको डिपिसी भवनको लोनको भारी विद्यालयले बोकिरहेको थियो । आर्थिक, भौतिक र विद्यार्थीको हिसाबले विद्यालय टाट पल्टने अवस्थामा नै पुगेको थियो । तर, प्रअको रूपमा आएपछि ढकालले भवनको ऋण विभिन्न साथ र सहयोगमा फस्र्योट गरिन् । टोल समुदाय र अगुवाहरूसँग मिलेर विद्यालयलाई सपार्नतिर लागिन् । ‘०७२ को भूकम्पपछि विद्यालयको टहरो पनि भत्किएको थियो । ०७२ असोजदेखि मैले प्रअको कार्यभार सम्हालेकी थिएँ, त्यतिवेला पठनपाठन गराउने ठाउँसमेत थिएन,’ उनले सुनाइन्, ‘एकपटक खस्किएको विद्यालयलाई सुधार्न र विश्वासिलो बनाउन निकै समय लाग्दो रहेछ । बालबालिकाको भविष्य सुरक्षित छ । राम्रो पठनपाठन हुन्छ । भौतिक अवस्था राम्रो छ । शिक्षकहरू क्वालिफाइड छन् भनेर चिनाउन निकै कोसिस गरेँ । कति ठाउँमा सहयोगी दाता गुहारेँ । हरेक अभिभावकलाई हात जोड्दै सामुदायिक विद्यालयप्रति भरोसा गर्न अपिल गरेँ, त्यसपछि मात्रै विद्यालयले ‘पिकअप’ लिन थाल्यो ।’ हाल यस विद्यालयमा ४८४ जना विद्यार्थी छन् । ढकालले प्रअको जिम्मेवारी सम्हाल्दा जम्मा ८० जना मात्रै विद्यार्थी थिए ।
०६८ देखि कक्षा ११ र १२ मा पठनपाठन सुरु भएको थियो । त्यतिवेला कक्षा ११ र १२ मा २२ जना मात्रै विद्यार्थी थिए । उनीहरूले त्यतिवेला परीक्षा नै दिन पाएनन् । ०७० मा ११ र १२ को कक्षा नै बन्द भयो । ढकाल प्रअको रूपमा आएपछि उनले ०७२ देखि नै कक्षा ११ र १२ लाई सञ्चालन गर्ने योजना बनाइन् । शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग हातेमालो गरिन् । आर्थिक स्रोतको लागि सहयोगी दाता खोजिन् । सुरुमा स्टेसनरी, मासिक शुल्क, भौतिक संरचना र शिक्षकको व्यवस्था दाताकै खर्चमा गरेपछि कक्षा ११ र १२ को पठनपाठन पुनः सञ्चालन भयो । हाल कक्षा ११ र १२ एक सयभन्दा बढी विद्यार्थी छन् भने कक्षा एकदेखि नै नेपाली र अंग्रेजी दुवै भाषामा पठनपाठन हुन्छ । यसबाहेक ढकालले कक्षा ११ र १२ मा विद्यार्थी तान्न भौतिक व्यवस्थापनलाई सहज, प्रविधिमैत्री पठनपाठन र टिमवर्क मिलाएकी छिन् । नयाँपत्रिका