सदाबहार खबरको रफ्तार ....
भाद्र २७, २०८१ बिहिबार
September 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संस्कृति जोगाउन दलित समुदाय अग्रसर

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।

तिहार अर्थात् भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका-३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ-गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहका, विकुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउछन् । ‘अहिले देउसीभैलोको मौलिकपन नै भेटिँदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिकरूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिकरूपमा जुटेका छौँ’, उनले भने ।

समाजले गत वर्ष रु एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए । नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउछन्, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक । उनले पहिला–पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताए। आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उनी चिन्तित छन् ।

बालबालिका, युवा, उमेर ढल्कँदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दान दक्षिणा दिने गरेको युवा मनु विक बताउछन् । देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए । नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिकरूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ ।

मौलिक बाजाको तालमा देउसीभैलो समूह घर–घरमा आउँदा स्थानीय पनि दङ्ग छन् । मेमोरी कार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ । मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ ।

देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मकरूपमा लिएका छन् । समाजमा ८० घरपरिवार दलित समुदायमात्र आबद्ध छन् । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ ।

हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्ट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाका पुस्ताको बुझाइ छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको माया प्रेम प्रगाढ बनाउने पर्व हो । चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बूढापाका बताउँछन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको राशिफल: २०८१ भदौ २६ गते बिहीबार

अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण

आजको राशिफल: २०८१ भदौ २६ गते बुधबार

आजको राशिफल: २०८१ भदौ २५ गते मंगलबार

जनकपुरमा कलबार समुदायले मनाए बलभद्र जयन्ती

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

अटवारी पर्वः दिदीबहिनीलाई कोसेली दिएर मनाउँदै थारू समुदाय

तीनदिने गणेश महोत्सव आज समापन गरिँदै

आजको राशिफल: २०८१ भदौ २४ गते सोमबार

थारू समुदायको अटवारी पर्वः दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आजको राशिफल: २०८१ भदौ २३ गते आइतबार