काठमाण्डौंः बाणिज्य बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाउन थालेका छन् । चालू आर्थिक वर्षको असोजयता निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले मंसिरमा समेत ब्याजदर घटाएका छन् । भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ १०.३२ प्रतिशत औसत रहेको ब्याजदर मंसिरमा ९.७१ प्रतिशत कायम भएको हो । त्यस्तै, भदौमा संस्थागत निक्षेपको औसत ब्याजदर ८.२८ प्रतिशत रहेकोमा मंसिरमा ७.५४ प्रतिशत पुगेको हो ।
बिहीबार वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्दतीतर्फ १२ बैंकहरूले ब्याजदर घटाएका छन् भने दुई वाणिज्य बैंकहरूले बढाएका छन् । त्यस्तै, ६ वाणिज्य बैंकहरूको ब्याजदर स्थिर रहेको छ ।
व्यक्तिगत मुद्दतीमा ब्याजदर घटाउनेतर्फ एनआइसी एसिया, एनएमबि, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इनभेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, हिमालयन, कृषि विकास, सानिमा, प्रभु, एभरेष्ट र नेपाल एसबिआई बैंक छन् । सबैभन्दा बढी ब्याजदर घटाउनेमा एनआइसी एसिया बैंक छ । एनआइसी एसियाले मंसिरका लागि ब्याजदर ८.९६८ प्रतिशत कायम गरेको छ । यो कात्तिकको तुलनामा २.०३५ प्रतिशत विन्दुका दरले कम हो । एनएमबि बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १.२४३ प्रतिशत विन्दुले घटाएर ९.७६ प्रतिशत कायम गरेको छ ।
नबिल बैंकले ब्याजदर ०.९ प्रतिशत विन्दुका दरले घटाएर ९.१ प्रतिशत पुर्याएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशतले घटाए ९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.५ प्रतिशत विन्दुले घटाएर ९.५१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ०.४ प्रतिशत विन्दुले घटाएर ९.६ प्रतिशत र हिमालयन बैंकले ०.४२७ प्रतिशत विन्दुका दरले घटाएर १०.६०३ प्रतिशत पुर्याएको छ । त्यस्तै, कृषि विकास बैंकले ब्याजदर ०.२४८ प्रतिशत विन्दुका दरले घटाएर ९.५१२ प्रतिशत पुर्याएको छ ।
सानिमा बैंक, प्रभु र एभरेष्ट बैंकको ब्याजदर एउटै छ । तीनवटै बैंकले ब्याजदर ०.२२४ प्रतिशत विन्दुका दरले घटाएर ९ प्रतिशत कायम राखेका छन् । नेपाल एसबिआई बैंकले भने ०.०९७ प्रतिशत विन्दुले घटाएर १०.६०३ प्रतिशत कायम राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकले ब्याजदर बढाएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १.३८३ प्रतिशत विन्दुका दरले बढाएर १०.६०३ प्रतिशत र माछापुच्छ्रे बैंकले ०.६१३ प्रतिशत विन्दुले बढाएर १०.६०३ प्रतिशत कायम राखेको छ । नेपाल बैंक, सिटिजन्स इन्टरनेसनल, कुमारी, लक्ष्मी सन्राइज, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर यथावत् राखेका छन् । नयाँपत्रिकाबाट