
काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन्।
पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्।
मंसिर ७ गते दुर्गा प्रसाईंसहितका व्यक्तिहरुले काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएकोतर्फ इंगित गर्दै उनले भने, ‘व्यवस्थामाथि नै चुनौति दिने कुरा स्वीकार्य छैन।’
आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धीहरुको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।
उनले भने, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौं, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौं।’
अध्यक्ष नेपालले ०६२-६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालिन एमालेले नै जनताको शक्तिलाई गाउँगाउँमा गएर परिचालन गरेको फलस्वरूप जनआन्दोलन सफल भएको दावी गरे।
उनले भने, ‘फेरि पनि व्यवस्थामाथि चुनौति खडा भए हामी जनतामा जान्छौं।’
मंसिर ७ कै दिन एमालेले पनि आफ्नो युवा संघमार्फत् प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भनेका छन्।
उक्त दिनको कार्यक्रमलाई मध्यनगर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न बोलाएकाे उनले बताए।
भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको अध्यक्ष नेपालले स्वागत गरे।
चीनले आफ्नो पार्टीसँग बलियो सम्बन्ध बनाउन चाहेको कुरालाई लिएर केही व्यक्तिहरू आत्तिएको पनि उनले बताए।