काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायता अनुदान प्रस्ताव एमसीसीको विरोध भइरहेको बताएका छन् ।
बिहीवार राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त धारणा व्यक्त गरेका हुन् ।
“मान्छेहरूले पढे हुन्थ्यो नि, लहैलहैमा लागेको छ । देशमा विकास हुन लाग्यो भन्ने चिन्ता हो ?’’ ओलीले विरोध गर्नेहरूप्रित लक्षित गर्दै प्रश्न गरे, “अहिले केही-केहीले हल्ला चलाएका छन्, पढ्न अल्छी लाग्छ कि के हो ?”
उनले आफूले एमसीसी पढेका मान्छे त्यति नभेटेको भन्दै एमसीसी सम्झौता खोजेर पढ्न सुझाव दिए । पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो भन्ने प्रश्न ओलीले संसदमा उठाए ।
“खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने, हातले टेकेर खुट्टा ठाडो पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ?”, ओलीले भनेका छन।
