सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यबहार घटनाबारे पर्यटनमन्त्रीको स्पष्टोक्ति (विज्ञप्ती सहित)

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुराँगाईले एक प्रेश विज्ञप्ती जारी गरी नेपालगञ्ज विमानस्थलमा भएको दुव्यबहारको घटना र त्यसपछि आएका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज १५ मिनेट ‘बोर्डिङ’ ढिला हुन गई यात्रु महानुभावहरुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं भनिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुराँगाईले जारी गरेको प्रेश विज्ञप्ती जस्ताको तस्तैः

प्रेस विज्ञप्ति

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यू माथि (शनिबार,२८ भदौ २०७६) नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

माननीय मन्त्रीज्यू २८ भदौ २०७६ मा बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुनका लागि टीकापुर पुग्नु भएको थियो । उहाँको शनिबार नै धनगढीबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्व निर्धारित तालिका थियो । तर, टीकापुरमा निर्धारित समयभन्दा कार्यक्रम ढिला भएपछि धनगढीबाट फर्कन सम्भव भएन । आज (आइतबार, २९ भदौ २०७६) प्रतिनिधिसभामा मन्त्रालयको बारेमा माननीय सांसदज्यूको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाबमा उहाँ हुनुहुन्थ्यो । त्यही कारण माननीय मन्त्रीज्यू बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन टिकापुरबाट नेपालगञ्ज जानुभएको थियो ।

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६:११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६:४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको थियो । बोर्डिङ भएका यात्रुहरु मध्ये एक उछृङ्खल समूहले हुलहुज्जतका साथ जहाजबाट बाहिर निस्केर गालीगलौज गर्दै माननीय मन्त्रीज्यू पुगे लगत्तै अपशब्द प्रयोग गरेको थियो । त्यही समूह मध्येका एक जनाले ‘पारसका बिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै दुव्र्यवहार गरेका थिए । माननीय मन्त्रीज्यूले उछृङ्खल समूहलाई कुनै उत्तर दिनु भएन । तर, अन्य यात्रुहरुलाई भने आफ्ना कारण परेको असुविधाप्रति क्षमा माग्नु भएको थियो ।

हाम्रो कारणले करिब १५ मिनेट ढिला हुन गई यात्रु महानुभावहरुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं । यो क्रममा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझदारीप्रति हार्दिक आभार प्रकट गर्दछौं । तर, घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने हाम्रो गम्भिर आपत्ति रहेको छ । सरकार र जुनसुकै सरोकारवाला निकायलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य र अधिकार हो । जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुव्र्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ । यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।

पछिल्लो समयमा सोही समूहले सम्मानीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, अन्य मन्त्रीज्यूहरु र राज्यका सबैधानिक आयोगका प्रमुखज्यूहरुको बिषयमा दिइरहेको अभिव्यक्तिप्रति हामी जानकार र सचेत छौं । लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अभिव्यक्ति स्वतन्त्रताको हामी सदैब सम्मान गर्दछौं । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा उक्त समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन् ।

लोकतन्त्रप्रतिको हाम्रो निष्ठा र विश्वास अबिचलित छ । लोकतन्त्र प्राप्तिका निम्ति हामीले गरेको योगदान र बलिदानको गौरवमयी इतिहास हाम्रो अगाडि घाम जस्तै छर्लङ्ग छ । त्यही योगदान र बलिदानको जगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार जना सम्मानित नेताज्यूहरु प्रधानमन्त्री भइसक्नु भएको छ । वर्तमान सत्तारुढ दलका पाँच जना नेताज्यूहरुले प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ ।

जीन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ । कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ । तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन् । यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं । साथै यस्ता ‘मण्डले प्रवृत्ति’ को बिरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपालः सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अबिचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।

जननेता स्व.मदन भण्डारीले दिनुभएको अभिव्यक्तिको सम्झना यो बेला उपयुक्त हुन्छ । अनर्गल प्रचारको जबाफ दिँदै उहाँले भन्नुभएको थियो, ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ ।’ जनकवि स्व. नेत्रलाल अभागीले लेख्नु भएको छ ‘आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।’ हो, यसप्रकारको आँधी हुरीसँग पौठेजोरी खेलेर सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।

२९ भदौ २०७६

………….
(प्रेम गुराँगाई)

स्वकीय सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नेप्से परिसूचक १० अङ्कले घट्यो