काठमाण्डाैंः सर्लाहीमा सत्तारूढ नेकपाका एक कार्यकर्ताको अपहरणपछि हत्या भएको छ।
सर्लाहीको रामनगर गाउँपालिका- ४ बैरियाटोलका अन्दाजी ४० वर्षीय रामजुलुम रायको अपहरणपछि हत्या भएको हो। नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले मृतक राय आफ्नो पार्टीको कार्यकर्ता भएको बताए ।
बौहर्वा प्रहरी चाैकीको छेउमै घर भएका रायको गोली प्रहार गरी हत्या भएको अवस्थामा बाँसघारीमा शव फेला परेको रामनगर गाउँपालिका प्रमुख कृष्णप्रसाद बर्माले जानकारी दिए।
अध्यक्ष बर्माका अनुसार रायलाई मुख बाँधेर गोली प्रहार गरी हत्या गरिएको छ। घटनास्थल रायको घरभन्दा एक किलोमिटर पूर्व पर्छ। घटनास्थल छिमेकी धनकौल गाउँपालिको सीमा क्षेत्र पनि हो। रायलाई शनिबार राति अज्ञात समूहले अपहरण गरी लगेर हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।
हत्या गर्नुको कारण र हत्याराको पहिचान खुलेको छैन। घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
