काठमाण्डौंः प्रधानमन्त्रीका लागि फोर जी सुरक्षा सर्भिलेन्ससहितको पाँच करोड मूल्यको गाडी खरिद प्रक्रिया फजुल खर्च गर्ने तयारीसहित आएको टिप्पणी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा रिजालले भने, ‘कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो। ३ असार देखि नेपाल प्रहरीले यो प्रक्रिया अगाडि बढाएको भन्ने समाचार आएको छ। माननीय गृहमन्त्री के यो साँचो हो भनेर प्रश्न गरे ।
उनले कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलतातर्फ ध्यान आकर्षण गराउँदै फजुल खर्च गर्ने लागिएको बताए। उनले भने, ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फजुल खर्च गर्ने सरकारी तयारी हो यो? जबाफ पाऊँ।’
यस्तै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले केही दिनअघि राजधानीमा नेकपाका नेताहरुलाई प्रशिक्षण दिएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन्।
